दोलखामा फस्टाउँदै कालिज पालन व्यवसाय

दीक्षण समाचार चरिकोट, – वन कुखुरा अर्थात् कालिजको मासु खानकै लागि अब वनजङ्गलमा गैरकानुनी रुपमा चोरीशिकारी गर्नुपर्दैन । अहिले स्वादिलो र पोषिलो मासुका लागि दोलखाका विभिन्न स्थानमा कालिज पालन गरिएको छ । त्यहाँबाट सजिलै खरीद गरी कालिजको मासु खान सकिन्छ । कालिजको मासु खोज्नेहरुलाई लक्षित गरी व्यावसायिक रुपमा यसको पालन गरिएको हो । भीमेश्वर नगरपालिका वडा नं. ४ जिलु र वडा नं. ७ स्थित मकैबारीमा कालिज पालन व्यवसाय सञ्चालन भइरहेको छ । जिलु कृषि वन तथा पशुपन्छी एकीकृत फार्म र मकैबारी स्थित दूधपोखरी वाइल्ड लाइफ एग्रो फार्ममा कालिज पालिएको हो । कोरोना रोकथाममा जारी लकडाउनको बेला विदेशको भिसा त्यागेर जिलुमा सरोज केसीले कालिज पालन व्यवसाय गर्नु भएको हो । प्लाई उद्योगमा कार्यरत सरोजलाई त्यहाँको तलबले चित्त नबुझेपछि विदेश जाने तयारी गरिरहेकै बेला कोरोना र लकडाउनले विदेश जान नदिएपछि सो व्यवसायमा लाग्नुभएको हो । आठ रोपनी क्षेत्रमा अवस्थित उहाँको फार्ममा अहिले मासुका लागि उपयुक्त भएका र हुकिँदै गरेका गरी एक हजार ५ सय कालिज रहेका छन् । सरोजले प्रदेश सरकारको १० लाख अनुदान र आफ्नै लगानी गरी कुल ३५ लाखमा कालिज पालन व्यावसाय सञ्चालन गर्नुभएको हो । उहाँको फार्मबाट मासुका लागि तीन हजार देखि माथिका मूल्यमा कालिज खरीदबिक्री हुन्छ । अहिले फार्मबाटै कालिज बिक्री भईरहेको उहाँले बताउनु भयो । कालिज व्यावसायबाट मनग्य आम्दानी हुन थालेपछि उहाँको उत्साह र जाँगर बढेको छ । विदेशमा गर्ने परिश्रम र मिहिनेत स्वदेशमै गर्न सकेमा मनग्य कमाई गर्न सकिने युवा उदाहरण बन्नु भएको छ । विदेश जाने तरखरमा रहेका युवालाई स्वदेशमै नवीन र फरक शैलीमा काम गरे मनग्य आम्दानी गर्न सकिने र विदेश जान नपर्ने उहाँको सुझाव छ । मकैबारी स्थित दूधपोखरी वाइल्ड लाइफ एग्रो फार्ममा गरिएको कालिज पालन व्यावसायले जिल्लामै चर्चा कमाउन सफल भएको छ । फार्ममा अहिले साना ठूला गरी एक हजार ६ सय कालिज रहेको सञ्चालक मिङ्गुर शेर्पाले जानकारी दिनु भयो । सञ्चालक शेर्पाले जिल्ला तथा जिल्लाबाहिर समेत माग उच्च भएको हुँदा दुई जनाको लगानीमा तीन वर्षअघिदेखि २५ रोपनी क्षेत्रफलमा कालिज पालन व्यावसाय सञ्चालन गरिएको बताउनु भयो ।सुत्केरी आमाको लागि तागत दिने र विभिन्न रोगमा समेत लाभदायक हुने हुँदा कालिजको माग उच्च रहेको सञ्चालक शेर्पाले बताउनु भयो । तर कालिजको माग धान्न मुस्किल भएको छ । उहाँका अनुसार गत साउनमा फार्ममा चितुवा छिरेर क्षति गरेपछि माग धान्न मुस्किल भएको हो । त्यो बेला चितुवाले आठ सय कालिज मारिदिएको छ । तर अहिले सम्म कुनै निकायबाट क्षतिपूर्ति नभएको सञ्चालक शेर्पाले बताउनु भयो ।

Shares

Be the first to comment on "दोलखामा फस्टाउँदै कालिज पालन व्यवसाय"

Leave a comment

Your email address will not be published.


*