दोलखामा एक बर्षमा एक लाख ४१ हजार युनिट विजुली खपत

ईश्वर बिश्वकर्मा÷ चरिकोट, – दोलखामा गत वर्ष एक लाख ४१ हजार ३४ सय ३४ युनिट विद्युत खपत भएको छ । २०७८÷०७९ मा जिल्लाका ३९ हजार ९९ जना ग्राहकबाट उपभोग हुँदा उक्त परिमाणमा विद्युत खपत भएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार १५ करोड २९ लाख ४४ हजार ५ सय २१ रुपैयाँको विद्युत बिक्री गर्दा ग्राहकबाट महसुल भने १४ करोड २९ लाख ६४ हजार ६ सय ९४ रुपैयाँ संकलन गरिएको छ । ९९ लाख ७९ हजार ८ सय ५७ रुपैयाँ महसुल संकलन हुन बाँकी रहेको छ । केन्द्रका सूचना अधिकारी राजेन्द्र चौधरीका अनुसार गत आर्थिक वर्ष एक हजार ८ सय ४३ जना ग्राहक थपिएका छन् । अघिल्लो आवमा ३७ हजार २ सय ५६ ग्राहक रहेका थिए ।
मिटर रिडिङ गरेको ६० औं दिनसम्म ग्राहकले विद्युत महशुल नतिरे ग्राहकको लाइन काटेर कारबाही गर्ने गरिएको छ । विद्युत महशुल संकलन विनियामावली, २०७७ मा भएको व्यवस्था अनुसार दुई महिना भन्दा बढी लामो समयसम्म विद्युत महशुल नतिर्ने ग्राहकको लाइन काट्दै महसुल उठाउने गरिएको हो । सूचना अधिकारी चौधरीका अनुसार गत वर्ष पनि विद्युतको महसुल समयमै नतिरेपछि सयौँ ग्राहकको लाइन काटिएको थियो । मिटर रिडिङ भएपछि समयमैँ महशुल बुझाएमा बिल रकमको केही प्रतिशत छुटको व्यवस्था रहेको छ । उक्त छुटका लागि ग्राहकले तदारुकता देखाउन आवश्यक रहेको उहाँले बताउनुभयो । चरिकोट, मैनापोखरी, जफे, जिरी, सिंगटी, भैँसे, बाघखोर, खरिढुँगा युनिटबाट महशुल भुक्तानी गर्न मिल्छ, भने अनलाइनबाट पनि भुक्तानी गर्ने व्यवस्था रहेको छ । उहाँले विद्युत नियमित गर्न विद्युत प्राधिकरणका कर्मचारी र प्राविधिकहरु अहोरात्र खटिरहेको बताउँदै ग्राहकले पनि आफ्नो जिम्मेवारी पूरा गर्न तत्परता देखाउन आवश्यक रहेको बताउनुभयो । उहाँले जिल्लामा विद्युत चुहावट नियन्त्रणका लागि पनि प्राधिकरण सक्रिय भएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा प्राविधिक कारणले कमै मात्र विद्युत चुहावट हुन्छ । चोरी मार्फत बढी मात्रामा विद्युतको चुहावट हुने गरेको छ । त्यसको नियन्त्रणका लागि चोरी गर्ने कार्यलाई निरुत्साहित गर्ने र प्राविधिक कारणबाट चुहावट हुन नदिने केन्द्रले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा एक बर्षमा एक लाख ४१ हजार युनिट विजुली खपत"

Leave a comment

Your email address will not be published.


*