बेदिङमा विद्युत सेवा सुचारु

राजकुमार भुजेल
चरिकोट, साउन १४
दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ९ स्थित दुर्गम गाउँ बेदिङमा विद्युत सेवा पुनः सुचारु भएको छ । राष्ट्रिय प्रसारण लाइन अन्तर्गत ११ केबी लाइन बिग्रेर समस्या आएपछि साता अघिदेखि बेदिङमा विद्युत सेवा अवरुद्ध भएको थियो । अहिले त्यसको मर्मत सम्भार पछि विद्युत सेवा पुनः सुचारु भएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले जनाएको छ । वर्षाको समय र कठिन भूगोलका बावजुद प्राविधिक टोली हिँडेको चार दिनमा बेदिङ पुगी विद्युतीय सेवा प्रवाह पुनः सुचारु गराएका हुन् । वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले लाइनको एक फेज चुँडिएको र केही ठाउँमा पिन पन्चट भएको हुँदा विद्युतीय सेवामा अवरुद्ध रहेको र अहिले त्यसको मर्मतसँगै गाउँमा पुनः उज्यालो फर्किएको बताउनुभयो । सडक सञ्जालले नछोएको गाउँ भएकोले विद्युत प्रवाहमा सामान्य समस्या आउँदा तत्काल बनाउन जान सम्भव नरहेको उहाँले बताउनुभयो ।
बेदिङमा राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै जेठ अन्तिम सातादेखि यहाँको ८२ वटा घरमा बिजुली बत्ती बल्न थालेको हो । ‘सगरमाथा आरोहीको गाउँ’ ले परिचित दुर्गम क्षेत्रमा अवस्थित बेदिङँमा बिजुली बलेपछि राति उज्यालोको लागि टुकी बत्तिको सहारा लिनुपर्ने अवस्थाको अन्त्य भएको छ । तर सामान्य विद्युतीय समस्या आउँदा भने सदरमुकाम चरिकोट वा सिंगटीबाट प्राविधिक पुग्नै समय लाग्ने गर्दछ ।

Shares

Be the first to comment on "बेदिङमा विद्युत सेवा सुचारु"

Leave a comment

Your email address will not be published.


*