दोलखाका ९४ महिला र बालबालिका बेपत्ता

सांकेतिक तस्बिर

ईश्वर विश्वकर्मा
चरिकोट, साउन ९
दोलखामा महिला र बालबालिका बेपत्ता हुने रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयमा महिला र बालकालिका हराएको भन्दै खोजिदिनका लागि आफन्तहरू निवेदन लिएर पुग्ने गरेका छन् । प्रहरीले हुलियाको आधारमा बेपत्ता भएका व्यक्तिको खोजबिन गरी फेला परेमा परिवारसँग पुनर्मिलन गराउने गरेको छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाका ९४ जना महिला तथा बालकालिका बेपत्ता भएका थिए । तर ४१ जनामा मात्र सोही वर्षभित्र प्रहरीको सक्रियतामा फेला परेका छन् । अझै ५३ जना हराइरहेका छन् । उनीहरूलाई प्रहरीले खोजी कार्य जारी राखेको छ । प्रहरी निरीक्षक राजेश सिग्देलका अनुसार महिला र बालबालिकामध्ये महिला सबैभन्दा बढी ७१ जना हराएका थिए । नौ बालक र १४ बालिका गरी २३ जना बालबालिका हराएका थिए । हराएका महिलामध्ये २१ जना, बालक आठ र बालिका १२ जना जिल्लाभित्र तथा केहीलाई बाहिरी जिल्लाबाट फेला पारेपछि परिवारसँग पुनर्मिलन गराइएको प्रहरी निरीक्षक सिग्देलले बताउनुभयो । बेपत्ता महिला तथा बालबालिकाहरू कोही आफन्तकोमा गई घरमा जानकारी नदिई बसेको, कोही कामको खोज्दै हिँडेको र कतिपय साथीहरूकोमा बिना जानकारी बसेको अवस्थामा फेला पारिएको उहाँले बताउनुभयो । हराएकामध्ये अधिकांश प्रहरीको सक्रियतामा फेला परेका छन्, भने न्यूनमात्रामा आफैँ परिवारको सम्पर्कमा आएका थिए । गत आर्थिक वर्षमा हराएकामध्ये ५३ जना अझै फेला पर्न सकेका छैनन् । प्रहरीका अनुसार ५० महिला, एक बालक र दुई बालिका अझै फेला पर्न नसकेका हुन् । उनीहरूलाई प्रहरी तथा परिवारले खोजी कार्य जारी राखेका छन् ।
प्रहरी निरीक्षक सिग्देलका अनुसार अधिकांश महिला तथा बालबालिका हराउनमा पारिवारिक समस्या, झैझगडा तथा विवाद प्रमुख रहेका छन्, भने उचित खानपान तथा स्याहार, माया स्नेहका अभावमा पनि महिला र बालबालिकामा नैराश्यता पैदा भएपछि घर छाडेर परिवारबाट टाढिन चाहेपछि घरै बिना जानकारी घरै छाडेर हिड्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्योसँगै सामाजिक सञ्जालको दुरुपयोग, निराशा, साथीसँगाती, आर्थिक अवस्था कमजोर लगायतका थुप्रै कारण जोडिन्छन् । महिला तथा बालबालिका हराउने क्रम रोक्नका लागि परिवारको भूमिका महत्वपूर्ण भूमिका हुन्छ । परिवारका सदस्यलाई सम्मान, माया, उचित स्याहारसुसार गर्नुका साथै उनीहरूको चाहना पूरा गरिदिएमा महिला तथा बालबालिका बेपत्ता हुने क्रम रोकिने प्रहरीको निष्कर्ष छ ।

Shares

Be the first to comment on "दोलखाका ९४ महिला र बालबालिका बेपत्ता"

Leave a comment

Your email address will not be published.


*