जिल्ला स्तरीय महिला अधिकार मञ्चको छैटौँ अधिवेशन सम्पन्न

ईश्वर विश्वकर्मा
चरिकोट, साउन ४
दोलखामा जिल्ला स्तरीय महिला अधिकार मञ्चको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । मंगलबार सदरमुकाम चरिकोटमा सम्पन्न अधिवेशनबाट मेनुका सुवेदीको अध्यक्षमा ११ सदस्यीय समिति पुनर्गठन गरिएको छ । उपाध्यक्षमा गोमा दाहाल, सचिवमा सुजाता शिवाकोटी, सहसचिव राधा चापागाईँ, कोषाध्यक्ष उषा थापा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा पुष्पा जिरेल, कुमारी थामी, बुथी नेपाली, शोभा पोखरेल, विन्दु गुरुङ, देवी खतिवडा लगायत रहनुभएको छ ।
महिलाको हकअधिकारको सम्मान, संरक्षण गर्दै पहुँच र सुनिश्चितताका लागि मञ्चले काम गर्दै आएको छ । शारीरिक, मानसिक लगायत सबै प्रकारको हिंसाबाट महिलालाई मुक्त गराई सक्षम र आत्मनिर्भरताको लागि मञ्चले सक्रियता बढाउने जनाएको छ । कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले महिलाले अवसर र अधिकारको सदुपयोग गर्दै जीवन सहज, सक्षम र आत्मनिर्भरताका लागि आयआर्जन तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिला लक्षित कार्यक्रम अन्तर्गत उनीहरूको सशक्तीकरण र उद्यमशीलताका लागि थुप्रै कार्यहरू गरिएको बताउँदै त्यसलाई थप निरन्तरता दिइने भएकोले महिलाहरू सो अवसरको उपयोग गर्दै लाभान्वित हुन अनुरोध गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय महिला अधिकार मञ्चका सचिवालय सदस्य सविना केसीले महिला अधिकार मञ्चले गर्ने कामको जानकारी दिनुभएको थियो । कार्यक्रममा मेलुङ गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्य, बिगु गाउँपालिकाका उपाध्यक्ष देविका थामी, आवाज नेपाल दोलखाका अध्यक्ष सिर्जना कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Shares

Be the first to comment on "जिल्ला स्तरीय महिला अधिकार मञ्चको छैटौँ अधिवेशन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*