सरकार खोज्दै दोलखाका किसान

ईश्वर विश्वकर्मा
चरिकोट, असार १८
दोलखाका किसानहरूले कृषि क्षेत्रको समस्या समाधान गर्न सरकारले वास्ता नगरेको गुनासो गरेका छन् । खेतीयोग्य जमिन बाँझै राखे कारबाही गर्ने भनेर धम्कीपूर्ण व्यवहार गर्ने तर कृषि क्षेत्रको व्याप्त समस्यालाई समाधान गर्न सरकारले कुनै चासो नदिएको किसानहरूले गुनासो गरेका हुन् ।
“किसानको समस्या र पीडा अनगिन्ती छन् । तर समाधानको लागि सरकारले केही गर्दैन ।” भीमेश्वर नगरपालिका वडा नं. ४ जिलुका रामकृष्ण मुग्रातीले भन्नुभयो, “किसानको गुनासोलाई वेवास्ता गर्ने सरकार हाम्रो सरकार होइन । वर्षौँदेखि हाम्रो सरकारको खोजी गरिरहेका छौँ ।” रामकृष्णको झैँ धेरै किसानको गुनासो छ । जुन गुनासो किसानहरूले वर्षेनी सरकारसमक्ष गरिरहेका छन् । तर “कृषि प्रधान” भनिएको देशमा कुनै निकायबाट पनि सुनुवाइ नहुँदा किसानहरू आजित हुने गरेका छन् ।
गौरीशंकर गाउँपालिका वडा नं. ३ झ्याँकुका किसान एकबहादुर खत्रीले सरकारले कृषिलाई प्राथमिकता राखेको बताएपनि काम भने नगर्ने गरेको बताउनुभयो । “सरकारले कृषिलाई प्राथमिकता दिएको भन्छ । तर व्यवहारमा चाहिँ लाचारी र निकम्मा बन्छ । अनि कसरी कृषि क्षेत्रको समस्या हल हुन्छ ।” उहाँले भन्नुभयो । सरकारले किसानको गुनासो नसुनिदिँदा उनीहरूमा नैराश्यता उत्पन्न भई कृषि कर्म गर्ने जाँगर नै हराइसकेको छ । कति त कृषिबाट पलायन भइरहेका छन् । खेतीयोग्य जग्गाजमिन बाँझै हुन थालेका छन् । खत्रीले भन्नुभयो, “कृषकको समस्यालाई गम्भिर रुपमा नलिने हो, भने अबको केही वर्षमा देशभरका जमिन बाँझो रहन सक्छ । देशमा खाद्यसंकट उत्पन्न हुन सक्छ ।” मल, बिउ, सिँचाइको अभाव नयाँ होइन, प्रविधि, बीमा र सरकारी अनुदानमा किसानको पहुँच पुग्न सकेको छैन । रोग, किराको समस्या कायमै छ । यसका बावजुद पनि किसानहरूले निकै दुख र परिश्रमले लगाएको बाली पनि भित्र्याउन पाउँदैनन् । वन्यजन्तुले खेतबारीमै क्षति गरिदिन्छ । भीमेश्वर नगरपालिका वडा नंं ५ धरमघरका माया विश्वकर्माले भन्नुभयो, “निकै दुख गरेर खेती लगायो । तर जङ्गली जनावर र चराचुरुङ्गीले क्षति गरिदिन्छ । बिउ बराबरको बाली भित्र्याउन समेत मुस्किल पर्ने अवस्था आइसकेको छ ।”
बाँदर आतङ्कको कारण जिल्लाभरका किसानहरू आजित भएका छन् । वनमा हुल बाँधेर आउने बाँदरले लगाएको बाली क्षति गरिदिँदा किसानहरू विस्थापित हुन थालेका छन् । “राति मृग, लोखर्के र दिउँसो बाँदर, खरायो, काग, ढुकुर लगायतका जन्तुले बाली नष्ट गरिदिन्छ ।” बैतेश्वर गाउँपालिका वडा नं. ६ नाम्दुका रमेश घिमिरेले गुनासो गर्नुभयो । वन्यजन्तु र रोगबाट जोगिएका उत्पादित तरकारी, फलफूल तथा अन्नबालीले पनि बजार पाउँदैन । किसानले उचित मूल्य पाउनै मुस्किल हुन्छ । किसान र उपभोत्ताको बिचमा रहेको बिचौलियाका कारण पनि किसानहरु चिन्तित हुने गरेका छन् । खेती सुरु गरेदेखि बजारसम्म पु¥याउँदा सम्म निकै सास्ती र समस्या किसानहरूले भोग्नुपरेको छ । “हाम्रा गुनासो राख्ने ठाउँ कतै पाइएन । गुनासो राखेपनि कुनै निकायबाट राहत तथा समस्या समाधान हुँदैन । किसानहरुको पीडा सुनिदिने कोही भएन ।” झ्याँकुका दुर्गा खत्रीले दुखेसो पोख्नुभयो ।
कृषि क्षेत्रको समस्या दीर्घकालीन रुपमा समाधानका लागि किसानहरूले स्थानीय प्रशासन र सरकारलाई पटकपटक अनुनयविनय गर्ने गरेका छन् । तर कुनै पनि निकायले किसानहरुको समस्यालाई सदाको लागि समाधान गर्न ठोस काम गरेका छैनन् । कृषि क्षेत्रको विकास र विस्तारका लागि सरकारले विभिन्न शीर्षकमा वर्षेनी ठूलो रकम विनियोजन गर्छ । तर त्यसबाट वास्तविक किसानको समस्या समाधान भएको पाइदैन ।

Shares

Be the first to comment on "सरकार खोज्दै दोलखाका किसान"

Leave a comment

Your email address will not be published.


*