गैरागाउँको घरघरमा खानेपानीको धारा

प्रतिकात्मक तस्बिर

ईश्वर विश्वकर्मा
चरिकोट, असार १४
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. १ गैरागाउँको घरघरमा जडान भएका धारामा पानी आउन थालेपछि स्थानीयवासी खुसी भएका छन् । वर्षौँदेखि खानेपानीको समस्या भोगिरहेका स्थानीयवासीले घरमै स्वस्थ र सफा पानीले प्यास मेट्न पाउने भएपछि खुशी भएका हुन् ।

वाटर एड नेपालको साझेदारीमा सामुदायिक विकास मञ्च दोलखाद्वारा सञ्चालित खानेपानी सुरक्षा तथा वास उत्थानशील परियोजना अन्तर्गत ठाडोखोरिया खानेपानी तथा सरसफाइ आयोजना मार्फत गैरागाउँमा ९९ वटा धारा निर्माण गरी खानेपानी आपूर्ति हुन थालेको हो । परियोजनाका कार्यक्रम संयोजक शैलेश श्रेष्ठका अनुसार ९८ वटा व्यक्तिगत र एक वटा संस्थागत धारा निर्माण गरिएको छ । धारा र खानेपानी संरचना निर्माणपछि पानी सञ्चालन भएपछि आइतबार गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीको उपस्थितिमा समुदायलाई हस्तान्तरण गरिएको हो । चार सय ६७ जना लाभान्वित हुने उक्त आयोजना २०७८ भदौबाट शुभारम्भ भएको थियो । परियोजनाको तर्फबाट ५३ लाख दुई हजार ५ सय ७९, कालिञ्चोक कोगाउँपालिका तर्फबाट नौ लाख ९५ हजार ५ सय ३३ र १३ लाख ३ हजार ६ सय ३५ रुपैयाँ उपभोक्ताको श्रमदान गरी कुल ७६ लाख १ हजार ७ सय ४९ रुपैयाँ लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो ।


“सफा खानेपानी, स्वस्थ जिन्दगानी” भन्ने नारासहित खानेपानीको सबैलाई सहज पहुँचका लागि परियोजना मार्फत धारा निर्माण भएको हो । उपभोक्ता समितिका अध्यक्ष कालुमान थामीले स्थानीयवासीको खानेपानी सहज उपभोग गर्न पाउने सपना पुरा गरिदिएकोमा परियोजना प्रति आभार व्यक्त गर्नुभयो । खानेपानीको असहजता र कठिनाइले चिन्तित स्थानीयहरू मुहान व्यवस्थित गरी पाइपलाइनबाट घरमै पानी आउन थालेसँगै हर्षित भएका उहाँले बताउनुभयो । घरमै खानेपानी आउन थालेपछि समयको बचत हुनुका साथै झन्झटिलो अवस्थाको अन्त्य हुने भएको उपभोक्ता समितिका अध्यक्ष थामीले बताउनुभयो ।

Shares

Be the first to comment on "गैरागाउँको घरघरमा खानेपानीको धारा"

Leave a comment

Your email address will not be published.


*