दोलखामा धान रोपाइँ सुरु, मल अभावले छैन उत्साह

फाइल तस्बिर

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ २४
दोलखामा धान रोपाइँ सुरु भएको छ। धान रोप्न आतुर किसानहरु मनसुन सक्रिय भएसँगै बेँसीका फाँटहरूमा पुगेर धान रोपाइँमा सक्रिय हुन थालेका छन्।
कार्तिक मंसिरमा मुरी फलाउने उद्देश्यले हिलो खेतमा बर्खे धान रोप्न सुरु भएको छ । असार लाग्न केही दिन बाँकी छ । तर दोलखामा जेठमै किसानको सक्रियता धान रोपाइँ तर्फ उन्मुख भएको हो । सिंचाइ सुविधा भएको र मजदुरको पर्याप्तता रहेका केही ठाउँमा भने जेठको दोस्रो साताबाटै धान रोपाइँ सुरु भई जेठमै सकिन्छ। तर जिल्लाका अधिकांस स्थानमा सिंचाइ सुविधा नभएकोले आकाशे पानीको भरमा साउनसम्मै रोपाइँ हुने गरेको छ । अहिले बर्षातले सिंचाइ पुगेपछि खेतीका लागि पर्खाइमा रहेका किसानहरु रोपाइँ तिर लागेका हुन् । भीमेश्वर नगरपालिकाको जिलु सहर्पा, रामकोट, दोलखासहित अन्य पालिकाको बेंसीका फाँटहरुमा धान रोपाइँ सुरु गरिएको छ ।
भीमेश्वर नगरपालिका वडा नं. ३ सहर्पाका किसान हरिमाया प्रधानले पानी पर्न थालेपछि गाउँमा धान रोपाइँ सुरु भएको बताउनुभयो । “कुलोबाट पानी लगेर सिंचाइ गर्न पर्याप्त हुदैन । अहिले समयमा समयमा पानी पर्न थालेपछि धान रोपाइँ सुरु भएको छ।“ मौकामा धान नरोपे अरु बेला समस्या हुने हुँदा अहिले सबैले धान रोप्न सुरु गरेको उहाँले बताउनुभयो। उहाँले धान रोपाइँ सुरु भएपनि रासायनिक मलको अभाव भएकोले धान नफल्ने चिन्ताले सताएको सुनाउनुभयो । “धान रोप्न सुरु गरियो । तर अबको केही सातापछि रासायनिक मल हाल्नुपर्छ । तर मल कँही पनि पाइएको छैन ।” उहाँले भन्नुभयो । ” धान रोपाइँमा उत्साह देखिएपनि मल अभावले दिनरात सताउन थालेको छ ।“
जिल्लाका खेतखेतमा किसानहरु धान रोपाइँमा व्यस्त हुन थालेका छन् । यहाँका मिहिनेती र परिश्रमी किसानहरु बिहानदेखि बेलुकासम्म धानका बीउ, हिलो र हाते ट्याक्टरसँगै व्यस्त हुन थालेका छन् । बर्षमा एकपटक धान रोप्न आतुर सबै किसान मनसुन सक्रिय भएसँगै धान रोप्न सक्रिय भएका छन् । अन्य काम छाडेर युवाहरु बढीजसो खटिन्छन्, अनि बालबालिका पनि रमाउदै सघाउने गर्दछन् । एक प्रकारको मेलापर्व जस्तो भएको छ, रोपाइँ ।
धान रोप्ने पर्खाइमा रहेका किसानहरु कृषि औजार सहित ओढ्ने बोकेर खेततिर दौडिन्छन् अनि बाउसे गर्ने, धानको बीउ उखुल्ने र रोप्ने काममा व्यस्त हुन थालेका छन् । धान रोपेर खेतबाट घर फर्किन्दै गर्नु भएका लक्ष्मण प्रधानले आइतबार देखि नै धान रोपाइँ सुरु गरिएको बताउँदै भन्नुभयो “ आइतबार देखि नै धान रोप्न सुरु गरिएको थियो । बेला बेलामा पानी पनि परिरहेकोले सिंचाइ सहज भएको छ ।“
बैशाख ३० मा निर्वाचित जनप्रतिनिधिहरु बधाइ र शुभकामना कार्यक्रममा व्यस्त भइरहँदा आफूहरुलाई भने धान रोपाइँको चटारोले छोएको किसानहरु बताउँछन् । धान रोपाइँमा सघाउनका लागि सहरमा रहेकाहरु पनि बिदामा गाउँ फर्कन थालेका छन् । अरु बेला खेतीपाती भन्दा अन्य काममै व्यस्त हुनेहरु पनि अहिले भने खेततिर तम्सिएका छन् । तर किसानहरुलाई रासायनिक मलको अभावले चिन्ता दिएको छ । उनीहरुले धान रोपाइँ सुरु भईसकेकोले सरकारले तुरुन्तै रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् ।
अघिल्ला बर्षहरुमा कोरोनाको कारण त्रासमा रोपाइँ भएको थियो । त्यतिबेला सहरका मानिसहरू गाउँघरमा फर्किएकोले धान रोपाइँमा जनशक्ति परिपूर्ति भएको हुँदा सहज भएको थियो । रासायनिक मल समयमै नपाउँदा किसानमा चिन्ता थियो । यद्यपि सकस र ढिला गरी पछि मल पाएपछि धानखेतीमा प्रयोग गरिएको थियो । यसले धान उत्पादनमा ह्रास आउने आशंका गरिएपनि धान उत्पादन बढेको थियो । २०७७ मा ७ हजार ४ सय ७२ दशमलव ५ मेट्रिक टन धान उत्पादन भएके थियो, भने २०७८ मा ८ हजार ५ सय ४८ दशमलव ५४ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालयले जनाएको छ ।
सम्पर्क कार्यालयका प्रमुख नन्दराज ओलीका अनुसार यो वर्ष किसानहरुले समयमै धानको बिउ राखेको र रोप्न बेला भएकोले धान रोपाइँ सुरु भएको बताउनुभयो । अहिले धान राेपाइँ सुरु भएकाे छ । निरन्तर पानी पर्न थालेपछि धमाधम राेपाइँ हुन्छ । जिल्लामा जेठको मध्यदेखि सुरु भएको रोपाइँ साउन मध्यसम्म पनि हुने गरेको उहाँले बताउनुभयाे । जिल्लाको भीमेश्वर, जिरी नगरपालिका, बैतेश्वर, कालिञ्चोक, विगु लगायतको तल्ला भुभागमा धान खेतीको लागि उपयुक्त भुभाग र वातावरण रहेको छ । अघिल्ला वर्षहरुमा झैँ यो वर्ष पनि कतिपय स्थानीय तहले किसानलाई प्रोत्साहन गर्न धानको बीउ वितरण गरेका थिए । जिल्लामा बढिमात्रामा हाइब्रिड, पोखरेली, खुमल ४, ८ र १० लगायतका जातको धान उत्पादन हुने गरेको प्रमुख ओलीले बताउनुभयो । रासायनिक मल अभाव नेपालभरी नै देखिएकाेले सरकारले नै यसकाे पहल गर्नुपर्ने देखिएकाे छ ।

Shares

Be the first to comment on "दोलखामा धान रोपाइँ सुरु, मल अभावले छैन उत्साह"

Leave a comment

Your email address will not be published.


*