दोलखाको पाँच पालिकामा कार्यपालिका सदस्य चयन

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ १७
दोलखाको पाँच पालिकामा कार्यपालिका सदस्य चयन भएका छन् । निर्वाचन कार्यालय दोलखाका अनुसार जिरी नगरपालिका, तामाकोशी, गौरीशंकर, बैतेश्वर, मेलुङ गाउँपालिकाको कार्यपालिका सदस्य चुनिएका हुन् । बैशाख ३० गतेको निर्वाचन सम्पन्न भएसँगै पाँच पालिकामा कार्यपालिकाको निर्वाचनबाट महिला, दलित वा अल्पसंख्यक सदस्य चयन भएका छन् । जिरी नगरपालिकामा ११ गते कार्यपालिका सदस्य चयनका लागि निर्वाचन सम्पन्न भएको हो । महिला सदस्यमा रोम कुमारी जिरेल, मिन्ङुलु शेर्पा, सुशा जिरेल, शान्ति कार्की र दलित तथा अल्प संख्यकमा वीर बहादुर जिरेल र कल्पना बिश्वकर्मा निर्वाचित हुनुभएको छ । निर्वाचित सदस्यहरुको सोमबार सपथ ग्रहण कार्यक्रमसँगै कार्यपालिकाको प्रथम बैठक सम्पन्न भएको छ । नगर प्रमुख मित्र जिरेलको अध्यक्षतामा सम्पन्न बैठकले राजस्व परामर्श समिति र अनुगमन समिति गठन गरिएको छ । यस्तै देश र जनताको निम्ति शाहदत प्राप्त गरेका शहीदहरु प्रति श्रद्धा समुन व्यक्त गरिएको र बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन तथा कार्यपालिकाको निर्वाचन सफलता पूर्वक सम्पन्न भएको र यस कार्यको लागि सक्रिय भएकाहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको नगरप्रमुख जिरेलले बताउनुभयो । कार्यपालिकाको निर्वाचन सम्पन्न भएसँगै बैठक सुरु गरी कार्य सुभारम्भ गर्ने जिरी जिल्लामै पहिलो बनेको उहाँले बताउनुभयो ।
जेठ १३ गते सम्पन्न गौरीशंकर गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनबाट महिला सदस्यमा कांग्रेसका डोमा शेर्पा, नेकपा माओवादी केन्द्रका जिमी शेर्पा, गंगा चर्माकार, दलित अल्पसंख्यक तर्फ माओवादीका लानुरी शेर्पा र आङ्दोर्जु शेर्पा निर्वाचित हुनुभएको छ । त्यसैगरी तामाकोशी गाउँपालिकामा सम्पन्न निर्वाचनबाट दलित वा अल्संख्यक तर्फ माओवादी केन्द्रका सुनिता मिजार, नेपाली कांग्रेसका नरध्वज सुनुवार र महिला सदस्यतर्फ कांग्रेसका रिता पोखरेल र स्वतन्त्र इन्दीरा कार्की र संगिता बिक निर्वाचित हुनुभएको छ । बैतेश्वर र मेलुङ गाउँपालिकामा सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको भएको छ । अब चार पालिकाको कार्यपालिका सदस्य चयनका लागि निर्वाचन हुन बाँकी रहेको छ । निर्वाचन कार्यालयका सूचना अधिकारी बिशाल केसीका अनुसार कालिञ्चोक गाउँपालिकामा १८ गते निर्वाचन हुने छ, भने विगु गाउँपालिका, भीमेश्वर नगरपालिका, शैलुङ गाउँपालिकामा १९ गते निर्वाचन हुने कार्यक्रम तय भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको १५ दिन भित्र निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ । पालिकामा कार्यपालिका निर्वाचन सकिएको १५ दिनभित्र निर्वाचन प्रक्रियामार्फत जिल्ला समन्वय समितिको गठन गर्नुपर्ने व्यवस्था छ ।

Shares

Be the first to comment on "दोलखाको पाँच पालिकामा कार्यपालिका सदस्य चयन"

Leave a comment

Your email address will not be published.


*