दोलखामा पालिका प्रमुख र वडा अध्यक्षमा महिला नेतृत्व आएन

ईश्वर बिश्वकर्मा ÷चरिकोट, –दोलखाको नौ वटै पालिका र ७४ वटै वडाको नेतृत्वमा पुरुषको वर्चस्व भएको छ । आगामी पाँच वर्षको लागि जिल्लामा पालिका प्रमुख र वडाध्यक्ष पदमा महिला सहभागिता शून्यमा पुगेको छ । पालिका प्रमुख र वडाध्यक्ष हुने क्षमता र इच्छाशक्ति भएपनि स्थानीय तहको निर्वाचनमा दोलखाका मुख्य राजनीतिक दलले महिलालाई उम्मेदवार नै बनाएनन् । साना दलले केही पालिका र वडामा महिलालाई पालिका प्रमुख र वडाध्यक्षको उम्मेदवारको रुपमा उभ्याएपनि उनीहरुले ठूला पार्टीका पुरुष उम्मेदवारसँग पराजित हुनुपरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भई पाँच वर्ष अनुभव लिनुभएका भीमेश्वर नगरपालिका वडा नं. ५ का तारा नेपालीलाई वडाको नेतृत्व गर्ने इच्छा थियो । वडा सदस्य हुँदाको अनुभव र क्षमताको आधारमा पार्टीले उचित मूल्याङ्कन गरी बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा आफूलाई वडाध्यक्षको उम्मेदवार बनाउने आशाका साथ उहाँ तयारीमा जुट्नुभएको थियो । जित्ने दाबीका साथ टिकटको माग गर्नुभएका नेपालीलाई आफूले जितेर दलित समुदायको मात्र नभई सम्पूर्ण पिछडिएका जातजाति, वर्ग समुदायको उत्थानको निम्ति काम गर्ने धोको थियो । तर उहाँले गर्नुभएको टिकटको माग पार्टीमा सुनुवाइ भएन । अर्थात् उहाँलाई पार्टीले उम्मेदवार बनाउन मानेन । उहाँको चाहनामा तुषारापात भयो । ”वडा सदस्य भई पाँच वर्ष वडाको नेतृत्वको सीप नियालेको मैँले पाँच वर्षपछि वडाध्यक्ष बन्ने आकांक्षाले टिकटको माग गरेँ ।“ उहाँले भन्नुभयो ” तर पार्टीले पुरुषलाई उम्मेदवार बनायो । उहाँ विजयी पनि हुनुभयो । अहिले वडाध्यक्ष भई कार्य आरम्भ पनि गरिसक्नुभएको छ । मैलेँ पनि अवसर पाएको भएँ जित्थेँ होला ।“ स्थानीय तहमा नेतृत्व गर्न सक्ने ठान्ने र वडाध्यक्ष बन्न चाहना राख्ने तर पार्टीले अवसर नै नदिएको व्यक्तिमध्येमा उहाँ एक प्रतिनिधि हुनुहुन्छ । तारा नेपाली जस्तै दोलखामा थूप्रै महिला छन् । जसले समानता र सहभागितामूलक नारा बोकेका मुख्य पार्टीमा क्रियाशिल भएरपनि पालिका र वडाको नेतृत्व गर्ने अवसरबाटै वञ्चित हुनुपरेको छ । महिलामा इच्छाशक्ति, क्षमता र आकांक्षा भएपनि पार्टीले अवसर नदिएपछि वडाको नेतृत्वमा पुरुषकै वर्चस्व रह्यो । पार्टीले उम्मेदवार बनाएको भए, जिताउने नजिताउने मतदातामै निहीत हुन्थ्यो । तर यहाँ त पार्टीको तर्फबाट उम्मेदवार हुने अवसर एक जना महिलाले पनि पाउन सकेनन् । बैशाख ३० को स्थानीय तहको निर्वाचनका लागि जिल्लाको मुख्य दल नेकपा एमाले र नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा समाजवादी सहितको गठबन्धनले एक जना पनि महिलालाई पालिका अध्यक्ष र वडाध्यक्षको उम्मेदवार नबनाएको हो । अहिले सबै पालिका र वडामा नवनिर्वाचित पुरुषले नेतृत्वको जिम्मेवारी सम्हालेका छन् । यसअघि पनि महिला पालिका प्रमुख एवं अध्यक्ष र वडाध्यक्ष शून्य रहेको दोलखामा आगामी पाँच वर्षको लागि पनि उक्त पदमा महिलाको सहभागिता शून्य रहन पुगेको हो । पार्टी नेतृत्वले महिलालाई प्राथमिकता नदिँदा स्थानीय तहको नेतृत्वदायी भूमिकामा महिला पुग्न नसकेका हुन् ।

Shares

Be the first to comment on "दोलखामा पालिका प्रमुख र वडा अध्यक्षमा महिला नेतृत्व आएन"

Leave a comment

Your email address will not be published.


*