दोलखाका म्यादी प्रहरी घर फर्किए

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ ६
दोलखाका नौ सय ९५ जना म्यादी प्रहरी कार्यको म्याद सकिएपछि घर फर्किएका छन् । स्थानीय तहको निर्वाचनको सुरक्षार्थ खटिएका म्यादी प्रहरीहरु आफ्नो जिम्मेवारी पूरा भएपछि घर फर्किएका छन् । निर्वाचनलाई स्वतन्त्र, भयरहीत र शान्तिपूर्ण बनाउन सुरक्षाकर्मीसँगै कार्यक्षेत्रमा खटिएका म्यादी प्रहरीहरु आफ्नो जिम्मेवारी सक्किएसँगै प्रमाणपत्र लिएर बिदा भएका हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी म्यादी प्रहरीहरुलाई अनुभवको प्रमाणपत्र र सेवासुविधा सहित बिदाइ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता शुसिल केसीले बैशाख ३० गतेको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन म्यादी प्रहरीको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । दोलखा प्रहरीले दिएको निर्देशनको पालना गरी अनुशासित र इमानदारपूर्वक जिम्मेवारी निर्वाह गर्ने म्यादी प्रहरीले निर्वाचन सम्पन्न गर्न उल्लेख्य सहयोग गरेको उहाँले बताउनुभयो । निर्वाचन पूर्व, निर्वाचनको बेला र सो पछिको समयमा म्यादी प्रहरीको सक्रियता प्रहरी सरहको भएकोले म्यादी प्रहरीले आफ्नो अनुभवको आधारमा भविष्यमा प्रहरी बन्न चाहेमा प्राथमिकता हुने प्रवक्ता केसीले सुनाउनुभयो । “म्यादी प्रहरीहरुलाई भविष्यको शुभकामना सहित ससम्मान बिदाई गरिएको हो ।” उहाँले भन्नुभयो ।


सामान्य लेखपढदेखि उच्च शिक्षा प्राप्त व्यक्तिहरु समेत म्यादी प्रहरीको रुपमा भर्ती भएका थिए । निर्धारित, निर्देशित जिम्मेवारी पूरा गर्दा देशप्रतिको जिम्मेवारीबोध हुनुका साथै रमाउन समेत पाइएकोले बिदा हुनपर्दा कतिपय भने दुखी भएका छन् । निर्वाचनलाई शान्तिपूर्ण बनाउने कार्यमा सहयोग गर्दा पाउँदा खुशी लागेको र छुटिएर घर फर्किँदा भने आफूलाई दुख लागेको रुपेश बिश्वकर्माले बताउनुभयो । “शारीरिक अभ्यास र तालिम पाएर प्रहरी सरह निर्वाचन लक्षित कार्य क्षेत्रमा खटियौँ ।” उहाँले भन्नुभयो “ यो अवधिमा प्रहरीको काम, कर्तव्य, अधिकार र चुनौती बारे नजिक भएर जान्ने अवसर मिल्यो। तर म्यादीबाट भने छुटिनपर्दा दुख लागेको छ । छुटिनुपर्ने त हाम्रो बाध्यता नै हो । ” कार्य क्षेत्रमा खटिँदा प्रयोग गरिएका सामाग्रीको झोला बोकेर घर फकिँदै गर्नुभएका निशा बुढाथोकीले म्यादी प्रहरी हुँदा कुनै अपमान र दुव्र्यवाहर भोग्न नपरेको बरु प्रहरी र आफूजस्तै अन्य म्यादी प्रहरीबाट अत्यन्तै सहयोग पाएकोले खुशी लागेको बताउनुभयो। “प्रहरीमा तल्ला तहकालाई पेल्ने र हेप्ने हुन्छ, भन्थे तर हामीले त त्यस्तो पाएनौँ । सबैबाट सहयोग पायौँ ।” उहाँले भन्नुभयो “ प्रहरीहरु हाम्रो अभिभावक जस्तै भएका कारण पनि जिम्मेवारी पूरा गर्न सहज भयो ।”

Shares

Be the first to comment on "दोलखाका म्यादी प्रहरी घर फर्किए"

Leave a comment

Your email address will not be published.


*