बागी उम्मेदवार निर्वाचित

दीक्षण समाचार
चरिकोट, जेठ २
स्थानीय तहको चुनावमा कांग्रेसले गठबन्धनको चित्त बुझायो । तर आफ्नै नेताहरुको भने मन दुखायो । दोलखामा कांग्रेसले क्षमतावान् भएपनि उम्मेदवार बनाउन नमानेपछि पार्टीका धेरैले मन दुखाए । कतिपयले विद्रोही भई गठबन्धनको साझा उम्मेदवारलाई चुनौती दिने गरी बागी उम्मेदवारको रुपमा उठे । त्यसो गरेपछि उम्मेदवार फिर्ता लिएर गठबन्धनलाई सघाउन बागी उम्मेदवारलाई कांग्रेसले पटकपटक दबाब दियो । सभापति बर्मा लामाले त चेतावनी र धम्की पूर्ण अपिल पत्र जारी गर्दै उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभयो । तर बागी उम्मेदवारको अडान कायमै रह्यो।
उम्मेदवारी फिर्ता नभएपछि कांग्रेसले उम्मेदवार, समर्थक प्रस्तावक सहित ३५ जनालाई कारबाही गरी पार्टीबाट निकाला नै गर्यो। त्यही सूचीमा परेका वडाध्यक्षका स्वतन्त्र उम्मेदवार ईश्वरराज कार्की सहित ४ जनाले चुनाव जितेर देखाउनु भएको छ । कार्कीले तामाकोशी गाउँपालिका–२ झुलेमा वडाध्यक्षमा विजयी हासिल गर्नुभएको हो । कैँची चुनाव चिन्ह मार्फत चुनावी मैदानमा स्वतन्त्र उम्मेदवार बन्नुभएका कार्कीले एमालेका मिन बहादुर तामाङ र कांग्रेसका प्रकाश पाख्रिनलाई पराजित गरी वडाध्यक्ष जित्नु भएको हो। उहाँले ५ सय ५२ मत प्राप्त गर्नुभएको छ। उहाँको प्रतिद्वन्द्वीहरु तामाङ र पाख्रिनले क्रमशः ३ सय ६४ र १ सय २३ मत प्राप्त गर्नुभएको छ। ‘छरछिमेकी दाजुभाइको समर्थन थियो। त्यही बलले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको थिएँ’, वडाध्यक्ष कार्कीले भन्नुभयो, ‘उहाँहरूकै साथमा आज जित हासिल गरेको छु।’
कार्की कांग्रेसका पुराना नेता हुनुहुन्थ्यो। उहाँ राजनीतिसँगै सामाजिक क्षेत्रमा क्रियाशील बलियो जनाधार भएको क्षमतावान् व्यक्ति हुनुहुन्छ। उहाँले कांग्रेसबाट वडामा अध्यक्षको उम्मेदवार हुने आकांक्षा राख्नु भएको थियो। तर पार्टीले उहाँको इच्छा विपरीत गरिदियो। पार्टीले प्रकाश पाख्रीन लाई उम्मेदवार बनायो। त्यसपछि कार्कीले पार्टीबाट विद्रोह गरी चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिनु भएको थियो। अध्यक्ष सहित टिमको उम्मेदवारी दिएर निर्वाचनमा होमिएका उहाँहरुलाई स्थानीयहरुको समर्थन बढ्दै गयो । पार्टीले उम्मेदवारी फिर्ता लिन पटकपटक दबाब दियो। तर उहाँले त्यसो गर्नु भएन । उहाँको अडान कायमै राखेपछि पार्टीले उहाँसहित समर्थक, प्रस्तावक र वडा सदस्यका उम्मेदवारलाई समेत पार्टीबाट निष्कासन गर्यो । त्यसले उहाँहरुलाई कुनै असर परेन । अतः अहिले चुनावी परिणाम स्वतन्त्र उम्मेदवारकै पोल्टामा परेको छ । कांग्रेसले नमानेपछि वडामा स्वतन्त्र उम्मेदवारी दिनु भएका वडा सदस्य खुलामा नानीकाजी तामाङ, महिला सदस्यमा इन्दिरा कार्की, दलित महिला सदस्यमा संगिता बिश्वकर्मा पनि निर्वाचित हुनुभएको छ।

Shares

Be the first to comment on "बागी उम्मेदवार निर्वाचित"

Leave a comment

Your email address will not be published.


*