दोलखामा मतदान सम्पन्न, आजै गणना सुरू हुने

दीक्षण समाचार
चरिकोट, बैशाख ३०
दोलखामा आगामी पाँच वर्षको लागि स्थानीय तहको नेतृत्व चुन्न शुक्रबार मतदान सम्पन्न भएको छ । नौ पालिका र ७४ वटा वडा रहेको जिल्लामा पालिका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका लागि मतदान भएको हो । निर्धारित समयअनुसार बिहान सात बजेदेखि सुरु भएको मतदान अधिकांश केन्द्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ, भने केही मतदान केन्द्रमा भने तनावपूर्ण स्थिति पैदा भएको थियो । स्थिति नियन्त्रणमा लिन मतदान केन्द्रमा तैनाथ सुरक्षा संयन्त्रलाई समेत हम्मेहम्मे परेको थियो । केही केन्द्रमा सुरक्षाकर्मीद्धारा हवाई फायर समेत गरिएको थियो । तत्काललाई मतदान कार्य स्थगित पनि भए, तर सर्वदलीय बैठकको सहमति अनुरुप मतदान पुनः सुचारु भई सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख, निर्वाचन अधिकारी शकुन्तला राईले बताउनुभयो । बैतेश्वर गाउँपालिकाको गैरीमुदी–१ र २ का मतदानस्थल, वडा नं–२ को पुतलीकाठ, वडा नं. ३ मिर्गे, तामाकोशी गाउँपालिका वडा नं. ४ मालु र मेलुङ गाउँपालिका वडा नं ४ भेडपु मतदान केन्द्रमा झडप भएको थियो । पुतलीकाठमा स्थिति नियन्त्रणमा लिन प्रहरीद्धारा केही राउन्ड हवाई फायर गरिएको थियो । बैतेश्वर ३ मिर्गेमा भने हेलिकप्टरमा थप सुरक्षाकर्मी तैनाथ गरिएको थियो । जिल्लामा मतदान कार्य सकिएकोले मतपेटिका संकलन गरी गणनाका लागि सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने तयारी गरिएको छ । केन्द्रमा मुचुल्का तयार पारी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षित रुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन लागिएको हो । त्यसपछि सर्वदलीय छलफल गरी मतगणना हुने छ। सो कार्य तारजालीले घेरिएको र सीसी क्यामरा जडित सुरक्षित मतगणना स्थलमा आजै सुरु हुने निर्वाचन अधिकारी राईले बताउनुभयो । ” समग्रमा मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । अब मतपेटिका संकलन गरी निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित ल्याउने तयारी भएको छ । “उहाँले भन्नुभयो ” निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको मतपेटिका खोली मत गणना आजै हुने छ ।“

Shares

Be the first to comment on "दोलखामा मतदान सम्पन्न, आजै गणना सुरू हुने"

Leave a comment

Your email address will not be published.


*