चरिकाेटमा सर्वदलीय बैठकः निर्वाचन शान्तिपूर्ण बनाइने

SAMSUNG CSC

दीक्षण समाचार
चरिकोट, बैशाख २८
दोलखाको सदरमुकाम चरिकोटमा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा शुक्रबार हुने स्थानीय तहको निर्वाचनलार्य स्वच्छ, शान्तिपूर्ण, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न तथा निर्वाचन आचारसंहिताको विषयमा छलफल भएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै अब निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण राजनीतिक दलले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार मंगलबार नै जिल्लाको एक सय ९३ वटा मतदान केन्द्र र ९४ वटा मतदान स्थलमा निर्वाचन सामाग्री सहित मतदान अधिकृत अन्य कर्मचारी र सुरक्षाकर्मी खटि सम्पूर्ण तयारीमा लागेका छन् ।
बुधबार मतदान केन्द्र व्यवस्थापन गरी मतदाता परिचय पत्र वितरण गर्नुका साथै केन्द्रबाट मतदाता शिक्षा कार्यक्रम सुरु गरेको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताउनुभयो । पछिल्ला घटना क्रमले जिल्ला नै आतंकित बनिरहेको अवस्थामा जिल्ला सुरक्षा समितिले सक्रियता बढाएको र आचारसंहिता विपरीत तथा हिंसान्तमक गतिविधि नियन्त्रण गरिरहेको उहाँले बताउनुभयो । निर्वाचन सम्बन्धि सम्पूर्ण तयारी पूरा भइसकेकोले यसलाई शान्तिपूर्ण रुपमा सम्पन्न र सफल पार्न स्वयम राजनीतिक दल र मतदाता सचेत हुनुपर्ने बताउनुभयो । “जिल्लामा आचारसंहिता विपरीतका घटना प्रवृत्ति देखिएका छन् । त्यसलाई सुरक्षाकर्मीले नियन्त्रण गरिरहेको छ ।” उहाँले भन्नुभयो “ अब त्यस्ता घटना तथा गतिविधिहरु हुन नदिन राजनीतिक दलको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले सोही अनुसार हुनपर्छ । अनि मात्र शान्तिपूर्ण निर्वाचन सम्भव छ ।”

मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले पछिल्ला दिनहरुमा भइरहेका घटनाक्रमले जिल्लाको बदनाम भइरहेकोले थप बदनाम हुनबाट जोगाउनुपर्ने र निर्वाचनलाई शान्तिपूर्ण, त्रासरहीत बनाउन सबैको भूमिका प्रमुख हुने बताउनुभयो । निर्वाचनको बेला जिल्ला नै त्रासमय बनिरहेको र त्यो अवस्था आउनुमा राजनीनिक दलको दोष रहेकोले राजनीतिक दललाई अराजक नबन्न उहाँले आग्रह गर्नुभयो। उहाँले जिल्लाको गतिविधि नियाल्दा आफूलाई अचम्म लाग्ने गरेको बताउँदै निर्वाचन चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । आफू निर्वाचन आचारसंहिता पालना गराउन सक्रिय हुँदा राजनीतिक दलले सन्काहा भनेको बताउँदै उहाँले भन्नुभयो “ निर्वाचन आचारसंहिता कार्यान्वयन गराउँदा सन्काहा भइन्छ, भने अझै भइन्छ ।” उहाँले स्थानीय तहको निर्वाचनमा कसैको डर, धाकधम्की र प्रलोभनमा नपरी ढुक्क भएर मतदान गर्न अपिल गर्नुभयो ।

नेपाली कांग्रेसका सभापति बर्मा लामाले प्रहरी नियन्त्रणमा रहेका निर्वाचन बिथोल्न खोज्नेहरुलाई निर्वाचनपछि मात्र छाड्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचन संवेदनशील हुनुभएकोले सुरक्षा व्यवस्था थप कडा पार्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । हरियार देखाएर डर त्रासमा पारी मतदाता प्रभावित पार्ने घटना र प्रवृत्ति बढेकोले थप सशक्त र खरो रुपमा सुरक्षाकर्मी सक्रिय हुनुपर्ने एमालेका एक प्रतिनिधिले बैठकमा बताउनुभयो । नेकपा एकीकृत समाजवादीका नेता भीम प्रसाद दाहालले निर्वाचन सुरक्षित र शान्ति पूर्ण हुनेमा आशंका पैदा भइरहेको बेला निर्वाचन चुनौती पूर्ण बन्दै गएको बताउनुभयो ।

बैठकमा निर्वाचनलाई शान्तिपूर्ण बनाउन र आचारसंहिता पालना गराउन सबै दलले प्रतिबद्धता जनाएका छन्। मतदानको दिन वर्षातको सम्भावना भएकोले मतदान केन्द्रमा पालको व्यवस्था सम्बन्धित स्थानीय तहले गर्ने, मतदान केन्द्र सम्म पुग्ने बाटो अवरोध भए स्थानीय तहले नै हटाउने निर्णय गरिएको छ । त्यसैगरी अपाङ्गता भएका व्यक्तिलाई मतदान केन्द्र सम्म आउनजान गाडीको व्यवस्था हुनपर्ने विषयमा छलफल भएपनि उक्त विषयमा कुनै निर्णय भएन ।
बैठकमा जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, निर्वाचन अधिकृत, नागरिक समाज, उद्योग वाणिज्य संघ लगायतका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । बुधबार जिल्लाको नौ वटै स्थानीय तहमा निर्वाचन सम्बन्धि सर्वदलीय बैठक सम्पन्न भएको छ । त्यसैगरी मतदाता परिचय पत्र वितरण र मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ ।

Shares

Be the first to comment on "चरिकाेटमा सर्वदलीय बैठकः निर्वाचन शान्तिपूर्ण बनाइने"

Leave a comment

Your email address will not be published.


*