नयाँ वर्षमा दाेलखामा बढ्यो पर्यटकीय चहलपहल

भीमेश्रवर ः फाइल फाेटाे

राजकुमार भुजेल
चरिकोट, बैशाख २
प्रकृति र संस्कृतिको धनी दोलखामा नयाँ वर्षको आगमनसँगै पर्यटकीय चहलपहल बढेको छ । गौरीशंकर हिमालको काखमा अवस्थित दोलखाको प्रसिद्ध कालिञ्चोक, शैलुङ, भीमेश्वर, गाईखुरा जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरुमा नयाँ वर्षको पहिलो दिन पर्यटकहरु थेगिनसक्नु थिए । अन्य दिनको तुलनामा नयाँ वर्षको पहिलो दिन भने यस क्षेत्रमा उल्लेख्य रुपमा बाह्य तथा आन्तरिक पर्यटकको आवागमन भएको हो । नयाँ वर्षमा प्रसिद्ध धार्मिक स्थल कालिञ्चोकमा पनि पर्यटक तथा दर्शनार्थीको घुइँचो नै लाग्यो । पर्यटन व्यवसायीहरुका अनुसार १ गतेका दिन कालिञ्चोकमा करिब १५ सय पर्यटकले घुमेका छन् । बिहान देखिनै कुरिबजार र मन्दिरमा आन्तरिक पर्यटक र सवारी साधनले भरिएको थियो । केबलबारको यात्रा गर्ने र मन्दिरमा दर्शन गर्नेको भीड थियो । उनीहरुमध्ये छिमेकी जिल्ला सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, भक्तपुर र काठमाडौँका पर्यटकहरु रहेको कालिञ्चोक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं होटल व्यवसायी नवराज तामाङले बताउनुभयो । त्यसैगरी चरिकोट नजिकै रहेको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको धनी दोलखा बजारमा रहेको भीमेश्वर मन्दिरमा पनि उतिकै भीड लागेको थियो । सदरमुकाम चरिकोटबाट २० मिनेटमा पुग्न सकिने दोलखा बजारमा मञ्जुश्री पार्क र चम्पूजा पार्क मन्दिरपछिको आकर्षक गन्तव्य हो । जहाँ नयाँ वर्षको दिन युवायुवतीहरु टिकटकका लागि नाचिरहेको र रमाइरहेको देख्न सकिन्थ्यो । मनोकांक्षा पुरा हुने जनविश्वास रहेको भीमेश्वर मन्दिरमा नयाँ वर्षको दर्शनार्थीको भीड लागेको स्थानीय कलम बहादुर श्रेष्ठले बताउनुभयो । मन्दिरमा रहेको मुख्य मुर्ति (भीमशेन) मा पसिना आए परिर्वतनको सूचक मानिन्छ । त्यसैले पनि यो मन्दिर देशैभर प्रसिद्धि छ । दोलखाका धार्मिक स्थलहरुको दर्शन गर्न आउनेहरुले सबैभन्दा पहिला भीमेश्वर मन्दिरको दर्शन गर्नुपर्ने मान्यता पनि रहेको छ । तर पछिल्लो समयमा उक्त मान्यता हराउन थालेको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्ययवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो । उहाँले त्यो मान्यताको निरन्तरता दिइनुपर्नेमा जोड दिनुभयो ।
शैलुङ डाँडामा पर्यटक 
प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटकीयस्थल मध्येको एक शैलुङडाँडामा नयाँ बर्षमा घुम्न आउने पर्यटक को घुइँचो लाग्यो । समुन्द्री सतहदेखि करिब ३ हजार ५ सय मिटर उचाइमा अवस्थित शैलुङमा सोली घोप्टिए झैँ अग्ला एवं होचा सयौँ बढी थुम्का रहेको छ । हेर्दा सुन्दर देखिने थुम्काहरुमा चढेर हेर्दा देखिने सुन्दरताले सबैलाई लठ्याउँछ । बिहीबार शैलुङको सुन्दरता देखेर सयौँ आन्तरिक पर्यटक लट्ठिए, लोभिए । पहिलोपटक शैलुङ डाँडा घुमेर हेर्दाको खुशी साट्दै काभ्रेका दिनेश तमाङले स्वर्ग पुगेसरी लाग्ने शैलुङले आफूलाई लोभ्याएको बताउनुभयो । “आज सम्म शैलुङ डाँडामा आएको थिएन तर आज नयाँ बर्षमा घुम्न आउने मौका मिल्यो, यहाँको सौन्दर्यताले मेरो मनै लोभ्यायो ।“ उहाँले भन्नुभयो “यहाँ आएपछि त स्वर्गीय आनन्द प्राप्त हुने रमणीय यो क्षेत्रमा मात्र होइन । दोलखाको अरु क्षेत्रमा पनि घुम्ने रहर मन लाग्यो ।” थुम्काहरु नै प्राकृतिक भ्यूटावर रहेको शैलुङमा एक वटा मानव निर्मित भ्यूटावर समेत रहेको छ । ती भ्यूटावरहरुबाट गौरीशंकर हिमाल, गणेश हिमाल लगायतका हिमश्रृङखला र हरियाली जँगर र बस्तीहरु देख्न सकिन्छ । नयाँ बर्षमा सयौँ आन्तरिक पर्यटकले शैलुङमा रमाइलो गर्दै शुभकामना आदानप्रदान गरी एकअर्कामा माया प्रेम स्नेह सद्भभाब बाढेका छन्। भने टिकटक भिडिओ बनाउने र तस्बीर खिच्नेहरुको भीडले रौनक छाएको थियो शैलुङको डाँडामा ।  शैलुङमा बिहीबार भने पर्यटकको भीड लागेको शैलुङ गाउँपालिका अध्यक्ष भरत  दुलालले बताउनुभयो ।

Shares

Be the first to comment on "नयाँ वर्षमा दाेलखामा बढ्यो पर्यटकीय चहलपहल"

Leave a comment

Your email address will not be published.


*