सहकारी संस्थाको वार्षिकोत्सव सम्पन्न

दीक्षण समाचार
चरिकोट, चैत्र २६
दोलखाको शैलुङ गाउँपालिका–८ भैँसे स्थित एकीकृत शैलुङ साना किसान कृषि सहकारी संस्थाले तेस्रो वार्षिकोत्सव मनाएको छ । २०७५ सालमा पालिकामा विधिगत रुपमा दर्ता भएको संस्थाले शनिबार तेस्रो वार्षिकोत्सव केक काटेर मनाएको हो । समाराेहमा संस्थाका अध्यक्ष बद्री कार्कीले सहकारीले सदस्यको हितमा ध्यान दिई सदस्यलाई सर्वसुलम सेवा प्रदान गरिरहेको बताउनुभयो । उहाँले देशको समृद्धिमा सहकारीको पनि महत्वपूर्ण योगदान रहने बताउँदै आर्थिक उन्नति भए समृद्धिको यात्रा सफल हुने सुनाउनुभयो । उहाँले संस्थामा १ हजार ७५ जना सेयरसदस्य रहेको, २४ लाख सेयर रकम र दुई करोड ७५ लाख वासलत रहेको जानकारी दिनुभयो । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडल इलाका कार्यालय बनेपाको सहकार्यमा संस्थाले सदस्यहरुलाई कर्जा प्रवाह गरेको, बागमती प्रदेश उत्पादन तथा रोजगारी सहुलियत कर्जा प्रवाह गरिएको अध्यक्ष कार्कीले सुनाउनुभयो । कृषि ज्ञान केन्द्र रामेछापमार्फत प्रदेश सरकार फौटी सामुदायिक खेती कार्यक्रम अन्तर्गत चालु आवमा ५० लाखको अनुदान सञ्चालन गरिएको छ । १०० सय रोपनी क्षेत्रफलमा चियाखेती विस्तार गर्ने, दुई हजार वटा किवीको बिरुवा क्षेत्र विस्तार गर्ने, किवीको थाङ्ग्रा व्यवस्थापन, आलु खेतीको व्यवसायिकरणको लागि रष्टिक घर निर्माण सञ्चालन भएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । वार्षिकोत्सव समारोहमा कर्मचारी लोक बहादुर कार्कीले संस्थाको आन्तरिक कार्यको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने संस्थाका सचिव प्रदीप थापा, सल्लाहकारी समितिका संयोजक भोजराज आचार्य, लेखा समितिका सदस्य शिव बुढाथोकीले मन्तव्य व्यक्त गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा शुक्रबार सहकारी संस्थाले साना किसान विकास लघुवित्तसँगको सहकार्यमा वित्तीय साक्षरता तथा समूह सुदृढिकरण तालिमको आयोजना गरेको थियो । तालिममा समूह कसरी निर्माण गर्ने, यसका कार्यहरु, अन्तरसमूहको कार्य, असल बचतकर्ता कसरी बन्ने, बीमा, विप्रेषण लगायतको विषयमा सहभागिहरुलाई प्रशिक्षण गराइएको अध्यक्ष बद्री कार्कीले बताउनुभयो ।

Shares

Be the first to comment on "सहकारी संस्थाको वार्षिकोत्सव सम्पन्न"

Leave a comment

Your email address will not be published.


*