दोलखामा खोलानदी जथाभावी दोहनले समस्या बढ्योः मन्त्री खड्का

ईश्वर बिश्वकर्मा
चरीकोट, फागुन ३०
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले दोलखाका खोला र नदीको जताभावी दोहन हुँदा समस्या उत्पन्न भएको बताउनुभएको छ । जिल्ला समन्वय समितिको हलमा आयोजित पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धि विस्तृत अध्ययन कार्यशाला गोष्ठीमा बोल्नुहुँदै उहाँले जिल्लाका नदीखोलामा मनोमानी रुपमा गिट्टीबालुवा उत्खनन् बढेको र त्यसले जिल्लामा संकट निम्तिने बताउनुभयो । जिल्लामा कर उठाउने नाममा खोलाबाट बालुवा गिट्टी जताभावी निकाल्न दिने स्थानीय तहको प्रतिस्पर्धा निरन्तर चलिरहेको बताउँदै उहाँले भन्नुभयो “गौरीशंकर सभ्यतासँग जोडिएको तामाकोशी नदी किनारमा हेर्दा लाज लाग्ने अवस्था छ । सम्बन्धित निकायले नियमन गर्दा सबै बन्द हुन्छ । त्यसले जिल्ला नै आंतकित हुन्छ । यसमा संलग्न साना माछा मात्र होइन ठूलै माछा समाउनुपर्ने स्थित छ ।“ उहाँले भन्नुभयो “जिल्ला समन्वय समितिले अनुगमन गर्दै आएको छ, तर नियमन गर्ने अधिकार छैन । त्यसले गर्दा दीर्घकालिन रुपमा जोखिममा पार्न थालेको छ ।’ मन्त्री विशाल खड्काले आधुनिकताले गाँज्दा र अव्यवस्थित औद्योगिकिकरण बढ्दा वन तथा वातावरणमा खतराको घण्टी बज्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो “ऊ बेला एउटा घरले कम्तीमा पनि एक वटा चौतारो बनाउने, त्यसको छेउमा वर र पीपल अनिवार्य रोप्ने, वृक्षारोपण गर्ने लगायतका वातावरणमैत्री संस्कार, संस्कृति र सभ्यता थियो । त्यो कुरा संसारले अनुकरण ग¥यो । तर नेपालले उक्त संस्कृति बिर्सिएको छ । त्यसको जर्गेना र संरक्षण गर्नु आवश्यक देखिएको छ । बढ्दो औद्योगिकीकरणले वातावरणमा संकट तर्फ धकेलिरहेको छ । जलवायु परिवर्तन बढ्दो छ । मानवीय क्रियाकलाप नै वातावरणमा संकट उत्पन्न गराउने कारक बनेको हो ।’

 

Shares

Be the first to comment on "दोलखामा खोलानदी जथाभावी दोहनले समस्या बढ्योः मन्त्री खड्का"

Leave a comment

Your email address will not be published.


*