मुडे–चरीकोट सडक कालोपत्रे हुँदै, सवारी आवागमन सातामा तीन दिन बन्द

दीक्षण समाचार
चरिकोट, फागुन ६
निर्माणाधीन मुडे–चरीकोट सडक खण्डमा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले एक सूचना जारी गर्दै सडक निर्माणको काम चलिरहेकोले सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको जानकारी दिएको हो। सात गते शनिबार बिहान ११ देखि अपरान्ह ३ बजेसम्म सवारी आवागमन बन्द हुने छ, भने त्यसैगरी प्रत्येक हप्ताको मंगलबार, बुधबार र बिहीबार बिहान ११ देखि अपरान्ह ३ बजे सम्म सडक बन्द हुने छ । कार्यालयका सूचना अधिकारी, प्रशासकीय अधिकृत औलाख बहादुर आलेले राजनीतिक दल, पत्रकार महासंघ, यातायात व्यवसायी, सम्बन्धित निर्माण व्यवसायी र सडक आयोजनाका साथै सुरक्षा निकायहरूसँगको छलफलपछि निर्माणाधिन सडकमा सवारी साधनको आवागमन बन्द गरी व्यवस्थित गर्ने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘सडक निर्माणको काम सम्पन्न नभइन्जेल सम्मको लागि तोकिएको बार र समयावधिमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यो सम्बन्धमा सरोकारवाला सबैसँग छलछल भएपछि यस्तो निर्णय गरिएको हो ।’ मुडे–चरीकोट सडक बन्द हुने भएकोले सो समयमा वैकल्पिक सडक मार्गको प्रयोग गर्न सूचना मार्फत अनुरोध गरिएको छ । ’लाइफलाइन‘ को रुपमा रहेको मुडे–चरिकोट सडकलाई दुई वर्ष भित्र स्तरोन्नति गर्न २०७२ सालमा जिम्मा पाएको निर्माण कम्पनीले लापरबाही गरी निर्धारित मिति मात्र गुजारेन, पटकपटक म्याद थप्न लगाएर छ वर्ष बितायो । सडकको अवस्था दयनीय रहेकोले सडक यात्रामा शास्ती थियो । जिल्लावासीको चौतर्फ दबाबका कारण निर्माण कम्पनीसँग ठेक्का तोड्ने पक्रिया अन्तिम चरणमा पुगेपछि सुनौला खिम्ती जेभिले ठेक्का तोडिने डरले मंसिर अन्तिम सातादेखि सडकको काम सम्हालेर सुरु गरेको थियो । अहिले सडक कालोपत्रे गर्ने चरण अन्तर्गत काम सुरु भएकोले सवारी आवागमन बन्द गरिएको हो । सूचना अधिकारी प्रशासकीय अधिकृत आलेले भन्नुभयो ‘निर्माण कम्पनीले सडक कालोपत्रे गर्ने काम शनिबारबाट गर्न लागेको छ । उसलाई हामीले चैत्र महिना मसान्तभित्र काम सक्न निर्देशन दिएका छौँ । उसले सोही अनुरूप दुबै तर्फबाट कालोपत्रेको काम शनिबारदेखि सुरु गर्ने छ । सडक कालोपत्रे गर्ने काम सुरु हुन लागेकोले सवारी आवागमन तोकिएको समयमा बन्द गर्ने हुँदा अन्य वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने छ ।’ 

Shares

Be the first to comment on "मुडे–चरीकोट सडक कालोपत्रे हुँदै, सवारी आवागमन सातामा तीन दिन बन्द"

Leave a comment

Your email address will not be published.


*