दोलखामा पर्याप्त छ सिटामोल ?

दीक्षण समाचार
चरिकोट, माघ १२
देशका विभिन्न जिल्लामा सिटामोलको अभाव हुँदा समस्या भइरहेको बेला दोलखामा भने त्यस्तो समस्या नरहेको पाइएको छ । चिसोले गर्दा रुघाखोकी, ज्वरोका बिरामी बढ्नुका साथै जिल्लाका नागरिकहरू कोरोना संक्रमित हुने क्रम बढ्दा सिटामोलको अत्यधिक माग छ । माग अनुसारको सहजै परिपूर्ति पनि भइरहेको स्वास्थ्य कार्यालय जनाएको छ । स्वास्थ्य कार्यालय प्रमुख अर्जुन पौडेलका अनुसार कार्यालयमा सिटामोल पर्याप्त मात्रामा मौज्दात रहेकोले आवश्यकता परेको बेला पालिका मार्फत स्वास्थ्यसंस्थाहरुले प्राप्त गर्न सक्छन् । बुधबारसम्मको विवरण अनुसार कार्यालयमा ५५ हजार सिटामोल चक्की सुरक्षित मौज्दात रहेको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयमा रहेको सिटामोल पालिकाहरूले आवश्यकता परेको बेला लगेर आफ्नो मातहतका स्वास्थ्य संस्थामा वितरण गर्न सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “देशका अन्य जिल्लामा सिटामोल अभाव भएको भन्ने खबर आइरहेको छ । यसले दोलखाका नागरिकहरू पनि सिटामोल अभाव हुन सक्ने भन्दै हडबडाएका छन् । तर जिल्लामा अहिले सम्म सिटामोल अभाव भएको गुनासो आएको छैन । स्वास्थ्य कार्यालयमा सिटामोल पर्याप्त रहेको र आवश्यक परेको बेला लिन सकिने हुँदा ढुक्क हुन अनुरोध गर्छु ।” केही दिनमै स्वास्थ्य कार्यालयमा हेटौँडाबाट सिटामोल आयात हुने जानकारी प्राप्त भएको उहाँले सुनाउनुभयो । कोरोना संक्रमितलाई लक्षण अनुसार औषधि सेवन गर्नपर्ने हुन्छ । त्यसमा सिटामोल प्रमुख औषधि हो । उहाँका अनुसार मंगलबार जिल्लाको कालिञ्चोक र सैलुङ गाउँपालिकामा सिटामोल पठाइएको छ । 
स्थानीय तहमा सिटामोल मौज्दात 
जिल्लाको जिरी नगरपालिकाले १ महिना अघि नै टेन्डर प्रक्रियामार्फत सबै प्रकारका सिटामोल खरीद गरी मातहतका स्वास्थ्य संस्थामा पठाइएको जनाएको छ । नगरका जनस्वास्थ्य अधिकृत केशव दाहालका अनुसार कोरोना संक्रमित बढ्ने र चिसोका बिरामी बढ्ने कुरालाई मध्यनजर गरी सचेत भएर पालिकाले सिटामोल खरीद गरी स्वास्थ्य संस्थाहरूमा ४० हजार चक्की सिटामोल वितरण गरिएको छ । उहाँको अनुसार बालबालिकाले खाने झोल सिटामोलको पनि पालिकामा मौज्दात रहेको छ । जनस्वास्थ्य अधिकृत दाहालले तत्कालको अवस्थामा सिटामोल खाँचो नभएको सुनाउनुभयो ।  कालिञ्चोक गाउँपालिकाका स्वास्थ्य संयोजक सुशीलकुमार श्रेष्ठले सिटामोलको अभाव भएको अन्य जिल्लामा हल्लामा फैलिरहेको बेला सचेत हुनुपर्ने अवस्था आएको सुनाउनुभयो । उहाँले पालिकामा स्वास्थ्य कार्यालयबाट प्राप्त भएको र मौज्दात गरी १५ हजार चक्की सिटामोल रहेको सुनाउनुभयो । मेलुङ गाउँपालिकाकामा पनि सिटामोल मौज्दात रहेको छ । स्वास्थ्य संयोजक हरिराम चापागाईँले पालिकामा १२ हजार सिटामोल चक्की रहेको र २ सय भायल झोल सिटामोल बाँकी रहेको जानकारी दिनुभयो । 
 

Shares

Be the first to comment on "दोलखामा पर्याप्त छ सिटामोल ?"

Leave a comment

Your email address will not be published.


*