प्रादेशिक कृषि विकास रणनीति निर्माणको लागि सुझाव संकलन

दीक्षण समाचार
चरिकोट, पुस ८
बागमती प्रदेशले प्रादेशिक कृषि विकास रणनीति तयारीका लागि बिहीबार दोलखामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय र टिसीएफ टु दि एडीएसको आयोजनामा जिल्ला समन्वय समितिको हल चरिकोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्त्रालयका प्रवक्ता एवं योजना तथा अनुगमन महाशाखा प्रमुख राजन ढकालले कार्यक्रमको सम्बन्धमा प्रकाश पार्दै मन्त्रालयले सम्पादन गरेको कार्य विवरण सहित कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले रणनीति तर्जुमा प्रक्रियालाई सहभागितामूलक बनाई सम्बन्धित सरोकारवालाहरुको अपनत्व तथा आवश्यक समन्वय कायम गर्ने, विभिन्न पालिकाहरुमा कृषि तथा पशुपंक्षी क्षेत्रको सम्भावना र सबल पक्षहरुका साथै कमजोरी र सुधार गर्नुपर्ने पक्षहरुको विश्लेषण गर्ने र सुझावहरु संकलन गर्ने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको सुनाउनुभयो । उहाँले रणनीति तयारीका लागि यस्तै किसिमको कार्यक्रम चितवन, मकवानपुर, सिन्धुली, रामेछापमा सम्पन्न गरिसकिएको र बाँकी रहेका जिल्लामा पनि कार्यक्रम गरिने सुनाउनुभयो । कार्यक्रमबाट प्राप्त भएका सुझावलाई विश्लेषण गरी रणनीतिमा समावेश गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा कृषि विकास रणनीति विज्ञ गणेशबहादुर श्रेष्ठले राज्यले विशिष्ट देशहरू तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसंग गरेका राष्ट्रिय प्रतिबद्धताहरू र अन्य सम्झौताहरुमा योगदान पुर्याउन, भौगोलिक बनावट, हावापानी, जलवायु परिवर्तन, आर्थिक, सामाजिक, सांस्कृतिक र स्थानिय आवश्यकतालाई समेट्न, कृषि क्षेत्रको ब्यवसायीकरण, आधुनिकिकरण र औद्योगिकीकरणका लागि देशमा संघीय संरचना अनुसार तालमेल मिलाउन प्रादेशिक कृषि बिकास रणनीति आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय लक्ष्य र सुसंस्कृत, सुखी जनताः समाजवाद उन्मुख प्रदेश भन्ने प्रदेशको सोचलाई कृषि क्षेत्रको तर्फबाट सक्दो योगदानका लागि कृषि रणनीति तयार गर्न लागिएको सुनाउनुभयो ।
कार्यक्रममा मेलुङ गाउँपालिका–३ का वडाध्यक्ष हिरा थोकरले किसानको सम्मुख गई सुझाव तथा राय समेटेर सहज तवरबाट दीर्घकालिन लाभ तथा फाइदा उपभोग गर्न पाउने गरी रणनीति तयार गर्न अनुरोध गर्नुभयो । मेलुङ गाउँपालिका लगायत जिल्लाभर सुन्तला तथा अमिला जातको फलफूलमा किरा र रोगको समस्या बढ्दै गएकोले यसको समाधानको लागि प्रदेश सरकारको ध्यान जान जरुरी रहेको तथा केही बर्षयता रैथाने जातका बीउहरु लोप हुँदै गएको र हाईब्रीड बीउको प्रयोग हुँदा उत्पादन कम हुन थालेकोले यसमा ध्यान दिँदै किसानको समस्या सम्बोधन हुने गरी रणनीति निर्माण हुुनुपर्ने माग गर्नुभयो ।
भीमेश्वर अर्गानिक एग्रिकल्चर फार्म सञ्चालक भोला खतिवडाले वन्यजन्तुको उपद्रोबाट किसानहरु आजित भईरहेको र यसले कृषिबाटै विस्थापित हुनुपर्ने समस्याहरु बढ्न थालेकोले ध्यानाकर्षण गराउँदै ठोस निर्णय लिई क्रियाशील हुुन अनुरोध गर्नुभयो । उहाँले किसानलाई अधिकतम लाभ हुने गरी संरचना गाउँगाउँमा  निर्माण हुनुपर्ने र त्यसो नभए जिल्लाबाट सबै किसानलाई सहज पहुँच सुनिश्चततासहित कृषि ज्ञान केन्द्रको स्थापना सबै जिल्लामा हुनुपर्ने माग गर्नुभयो । कृषि ऋण लिन जटिल र झन्झटिलो प्रक्रियाका कारण किसान यसबाट लाभान्वित हुन नसकेकोले सहज बनाइनुपर्ने उहाँले अनुरोध गर्नुभयो । उहाँले राम्रो रणनीति राम्रोसँग निर्माण गरिनुपर्ने सुनाउभयो ।
पूर्व जिविस सभापति तथा कृषि अभियान्ता लालकुमार केसीले रणनीति निर्माण गर्ने तर त्यसको कार्यान्वयन पक्ष सबल नभएको खण्डमा लक्ष्य अनुसारको उपलब्धि हासिल नहुने बताउनुहुँदै सरोकारवाला सबैको सुझाव समावेश गरी सबै पक्रिया पूरा गरी निर्माण हुने प्रादेशिक रणनीतिको उचित कार्यान्वयन तथा सो अनुसार गतिविधि गरिएमा कृषि क्षेत्रमा कायपलट हुने बताउनुभयो । उत्पादन र उत्पादकत्व बृद्धि तथा बजारीकरणको लागि रणनीति उपयोगी सिद्ध हुनुपर्ने उहाँले सुनाउनुभयो । उहाँले पछिल्ला वर्षहरुमा अनुदान लिने तर त्यसको सही सदुपयोग नगर्ने प्रवृति हावी भईरहेको अवस्थामा अनुदान प्रदायक तथा सम्बन्धित निकायको सक्रियता अनुदान वितरणपछि त्यसको प्रभावका सम्बन्धमा अनुगमन गर्नु आवश्यक रहेको बताउनुभयो । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले कार्यक्रममा उठान भएका अधिकांस सवालहरु नीतिगत निर्णय गरिनुपर्ने किसिमको भएको बताउनुहुँदै सो सवालहरु आफूले पनि लगातार उठाउँदै आएको तर नीतिगत निर्णय हुन नसकेको बताउनुभयो । प्रादेशिक कृषि विकास रणनीति बन्न लागेकोमा स्वागतयोग्य रहेको सुनाउदै उहाँले स्थानीय सरकारले उठाएका सवालहरुलाई अध्ययन तथा विश्लेषण गरी ती सवाल समावेश गरेमा रणनीति प्रभावपूर्ण हुने सुनाउनुभयो ।

Shares

Be the first to comment on "प्रादेशिक कृषि विकास रणनीति निर्माणको लागि सुझाव संकलन"

Leave a comment

Your email address will not be published.


*