दशैँमा दोलखामा एक अपराधिक घटना, दुई सवारी दुर्घटना

इश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक २
हिन्दु नेपालीहरुको महान् चाड २०७८ सालको दशैँ मंगलबारबाट सकिएको छ । मान्यजन तथा आफन्तबाट टिका जमरा लगाई आर्शिवाद लिएपछि एक वर्षको लागि दशैँलाई औपचारिक रुपमा बिदा गरिएको हो ।
सरकारी कार्यालय, बैँक, सहकारी लगायतका कार्यालयहरु दशैँ बिदा सकिएपछि गत मंगलबारबाट नै खुलिसकेको छ । दशैँमा गाउँ गएका मानिसहरु आफ्नो कार्यथलो फर्किने क्रम अझैपनि जारी छ ।
गत वर्षहरुको तुलनामा यो वर्षको दशैँ शान्तिपूर्ण ढंगले मनाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । सुरक्षा योजना लागू गरी थप प्रहरी परिचालित भएपछि दशैँमा शान्तिसुरक्षा अमनचयन कायम राख्न सफल भएको प्रहरीको दाबी छ ।

दशैँमा सर्वसाधरणहरु रमाइलोमा मस्त भएको बेला हुन सक्ने चोरी, डकैती, लुटपाट, झैझगडा, तस्करी, सवारी साधन दुर्घटना लगायतका अपराधजन्य गतिविधि रोकथाम तथा नियन्त्रणको लागि सर्तक अवस्थामा ४० जना थपिएर जिल्लाभरका युनिटहरुमा दुई सय ६८ जना प्रहरी परिचालित भएका थिए । भने मुख्य बजार क्षेत्रमा प्रहरीको घरदैलो कार्यक्रम गरी सर्वसाधरणलाई सुरक्षित भएर दशैँ मनाउन अनुरोध गरिएको थियो । यी कारण पनि यो वर्षको दशैँ शान्तिपूर्ण भएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अन्जन कोइरालाले बताउनुभयो ।

कार्यालयमा दशैँ अवधिभर एक वटामात्रै अपराधिक घटना भएको मुद्धा दर्ता भएको छ । ज्यान मार्ने उद्योग अन्तर्गतको घटना दर्ता भएको हो । यसबाहेक जिल्लामा अन्य गम्भीर प्रकृतिका अपराधिक घटना नभएको उहाँले बताउनुभयो । उहाँले आउदैँ गरेको हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा समेत दशैँमा लागू भएको सुरक्षा योजनाले निरन्तरता पाउने उल्लेख गर्नुभएको छ ।

१३ जना घाइते
दशैँ अवधिभर दोलखामा दुई वटा सवारी दुर्घटना भएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार यी सवारी र्दुघटनामा १३ जना घाइते भएका थिए ।

३० गते बैतेश्वर गाउँपालिका–१ ढोली खोलामा एक वटा बोलेरो दुर्घटना हुँदा १२ जना घाइते भएका थिए । ती मध्ये चार जनालाई काठमाडौँ रिफर गरिएको र ८ जना सामान्य उपचारपछि घर फर्किएको ट्राफिक प्रहरी प्रमुख, प्रहरी नायब निरीक्षक भानुभक्त नेपालले बताउनुभयो । त्यसैगरी अर्काे दुर्घटना सोमबार किर्नेटार क्षेत्रमा भएको थियो । त्यसदुर्घटनामा एक जना घाइते भएकोमा यहीँको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । यसबाहेक जिल्लामा मानवीय क्षती हुने गरी ठुलो किसिमको सवारी दुर्घटना नभएको पाइएको छ ।

प्रहरीले यात्रुको गुनासोको आधारमा बढी भाडा असुल्ने चार वटा गाडीलाई कारबाही गरेको थियो । यात्रुबाट लिएको बढी भाडा फिर्ता गराउनुको साथै चारवटै बसबाट गरी १० हजार राजस्व संकलन गरेको थियो । प्रहरीको अनुसार बढी भाडा लिएको भन्ने यात्रुले फोनमार्फत गुनासो गरेपनि प्रहरी फिल्डमा आई सोधपुछ गर्दा सो बेला यात्रुले सत्य कुरा नबोल्दा गाडी चालक तथा सहचालकको मनपरी बढेको हो । यदी यात्रु ठगिए यात्रु सहायता कक्षमा या सिधैँ प्रहरीलाई जानकारी गराएमा कारबाही गरिने प्रहरी नायब निरीक्षक नेपालले बताउनुभयो ।

Shares

Be the first to comment on "दशैँमा दोलखामा एक अपराधिक घटना, दुई सवारी दुर्घटना"

Leave a comment

Your email address will not be published.


*