दोलखामा रेस्लरको ‘भिडन्त’ हुँदै

इश्वर बिश्वकर्मा
चरिकोट, असोज ३१
विश्वभर रिङ रेस्लिङ खेलको लोकप्रियता बढ्दै गएको बेला हिमाली जिल्ला दोलखामा हाई अल्टीच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ ।
चरिकोटमा आज पत्रकार सम्मेलन गरी बागमती  प्रदेश खेलकुद विकास परिषद् र नेपाल रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा कार्तिक १३ गतेदेखि भ्यूटावर स्थित फुटबल मैदानमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिइएको हो ।

शाहसीक तथा पर्यटकीय खेलकुद प्रतियोगिता गर्ने परिषद्को वार्षिक कार्यक्रम अन्तर्गत कोरोनाले थलिएको पर्यटनसगैँ रिङ रेस्लिङ खेलको विकास, विस्तार र प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा सहित प्रतियोगिता गर्न लागिएको बताइएको छ । यो प्रतियोगिता विश्वमै पहिलो पटक चरिकोटमा हुन लागेको आयोजकले दाबी गरेको छ ।
प्रतियोगितामा नुवाकोटे टाईगर, थाग, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, सिजे, एससी, जान लगायत महिला तथा पुरुष खेलाडीहरुले हेभी वेट च्याम्पियन उपाधिको लागि प्रतिस्पर्धाको मैदानमा उत्रने आयोजकले जनाएको छ ।

प्रतियोगितामा हेभी वेट च्याम्पियनलाई एक लाख ५० हजार रुपैयाँ, हार्डकोर च्याम्पियनलाई एक लाख २० हजार, मिडल वेट च्याम्पियनलाई ८५ हजार, ट्याग टिम च्याम्पियनलाई ७५ हजार, लाइंट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनलाई ४५ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । रेफ्रीको रुपमा प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनी रहने बताइएको छ । प्रतियोगिता सञ्चालनका लागि करिव २९ लाख खर्च हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि भीमेश्वर नगरपालिका लगायत दोलखा जिल्लाका स्थानीय तह, निजी क्षेत्रसहित अन्य निकायको सहयोग अपेक्षा गरिएको परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले बताउनुभयो । आगामी वर्ष थप परिस्कृत गर्दै अन्तर्राष्ट्रियकरण गर्ने योजना साकार पार्न यो प्रतियोगता सफलताको साथ सम्पन्न गर्न सबैको सहयोग र हातेमालो आवश्यक रहेको उहाँले बताउनुभयो ।

 

Shares

Be the first to comment on "दोलखामा रेस्लरको ‘भिडन्त’ हुँदै"

Leave a comment

Your email address will not be published.


*