दोलखामा प्रजिअको आदेश ः बिहीबार पूर्ण कार्यान्वयन

इश्वर बिश्वकर्मा
चरिकोट, बैशाख २३
विश्वभर लाखौँ मानिसको ज्यान लिएको र करोडौँ मानिसलाई आक्रमण गरी थला पारेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसले नेपालमा पनि आंतक मच्चाइरहेको छ । यसबाट हिमाली जिल्ला दोलखा पनि अछुतो रहन सकेन । दिनानुदिन कोरोना संक्रमितको दर वृद्धि भइरहेको बेला स्थानिय स्तरमैँ कोरोना फैलिएको आशंका गरिएको छ । थप मानिसमा यो संक्रमणबाट बचाउन जिल्लामा नागरिक स्तरबाटै घोषित रुपमा लकडाउन गनूपर्ने दबाब र माग गरिएको थियो । सोही दबाब र माग पूरा गर्न र कोरोना रोकथाम तथा निन्त्रणका लागि भन्दै जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दोलखाको बुधबार बसेको बैठकले नेपाल सरकारको बैशाख १३ गतेको प्राप्त अधिकार, संक्रामक रोग ऐन, २०२०, को दफा २ र स्थानीय प्रशासन एने, २०२८ को दफा ६ को उपदफा ३ले दिएको अधिकार प्रयोग गरी बिहीबारदेखि लागू हुने गरी बैशाख ३१ गते सम्म निषेधाज्ञा जारी गरेको छ । बुधबार दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट ९ बुँदे आदेश जारी भएको थियो । बिहीबार उक्त आदेशको पूर्ण परिपालना गराउनका लागी मूख्य बजार क्षेत्रहरुमा सुरक्षाकर्मी परिचालित भएका थिए । जसले गर्दा जिल्लामा प्रजिअबाट जारी आदेशको बिहीबारकाे दिन पूर्ण कार्यान्वयन भएको सुरक्षाकर्मी र जिल्ला प्रशासन कार्यालयले दाबी गरेको छ । निषेधाज्ञा जारी भएपछि बुधबारसम्म कोरोना नभएको झैँ कूनै प्रवाह नगरी सयौँ मानिसको भिड हुने बजार क्षेत्र बिहानैदेखि सुनशान बनेको छ । जिल्लाका मूख्य बजार क्षेत्र चरिकोट, सिंगटी, जिरी, मैनापोखरी, कुरी, किर्नेटार, मागापौवा बजारका दोकान, पसल, व्यापार, व्यवासाय बन्द गरिएको छ । सार्वजनिक एवं निजी सवारी साधन अतिन्यून संख्यामा गुडेका छन् । केही मानिसहरु अत्यावश्यक कामका लागी मात्र स्वास्थ्य सावधानी अपनाएर बाहिर निस्किएको पाइएको छ । अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैँक, सहकारी तथा वित्तिय संस्थाहरुमा सीमित कर्मचारीहरु हाजीर भएका थिए । जिल्लामा जारी निषेधाज्ञाको पहिलो दिन कोहीकसैले पनि निषेधाज्ञाको उल्लंघन नगरेको र प्रजिअबाट जारी गरिएको आदेशहरुको पूर्ण कार्यान्वयन भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता एवं प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए । उनले भने – कोरोना भाइरसबाट जोगिनका लागि नागरिक स्तरबाटै निषेधाज्ञाको माग भएको थियो । जसले गर्दा निषेधाज्ञाको पहिलो दिनमा यसको कार्यान्वयन पूर्ण रुपमा भएको छ । यसरी नागरिकहरुले घरबाहिर ननिस्की हामीलाई साथ दिएको खण्डमा उनिहरुको शरीरमा कोरोना प्रवेश गर्न पाउदैँन्, अनि भोलीको सूनौलो बिहानी देख्न पाउने छौँ, उनले भने । स्थानीय केही व्यक्तिहरुले भने निषेधाज्ञा नै कोरोना निर्मूल पार्ने दिर्घकालिन र प्रभावकारी अस्त्र नभएको तर ह्वातै बढीरहेको कोरोना महामारीलाई न्युनिकरण गर्न यो समयमा निषेधाज्ञा गर्नू मनासिव भएको बताएका छन् । भने निषेधाज्ञाको समयमा कोरोना परीक्षणलाई वृद्धि गरी उपचार लगायतका कार्यलाई तीव्रता दिइनुपर्ने माग राखेका छन् ।

३ सय जना भन्दा बढी जिल्ला भित्रिए
काठमाडौँ लगायतका जिल्लाबाट बिहीबार ३ सय भन्दा बढी मानिस जिल्ला भित्रिएका छन् । ११ बस र १ बोलेरोजिप सहित १२ वटा सवारी साधनमार्फत किर्ने र खरीढुंगा नाका हुदैँ जिल्लामा ३ सय ५२ जना मानिसहरु भित्रिएका हुन् । उनिहरुलाई चरिकोट सीमपानीस्थित होल्डिङ सेन्टरमा केही समय होल्ड गरी स्वास्थ्य अवस्था लगायत सम्पूर्ण विवरण लिएपछि १४ दिन क्वारेन्टाइनमा बस्न सुझाव दिदैँ सम्बन्धित पालिकाको जिम्मा लगाइएको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक कोइरालाले जानकारी दिए । यसरी जिल्ला प्रवेश गर्ने व्यक्तिहरुलाई होल्डिङ सेन्टरको केही समयको बसाई पछि क्वारेन्टाइनमा अनिवार्य रुपमा बस्न अनुरोध सहित सम्बन्धित पालिकामा पठाइने गरिएको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारीबाट जारी अादेश

 

अावरण तस्बिर राजकुमार भुजेलकाे फेसबुकबाट लिइएकाे

Shares

Be the first to comment on "दोलखामा प्रजिअको आदेश ः बिहीबार पूर्ण कार्यान्वयन"

Leave a comment

Your email address will not be published.


*