दोलखामा २ हजार ५ सय जनालाई कोभिशिल्डकाे दाेस्राे डाेज

किर्ते तामाङ, माङगेली शेर्पा /चरिकोट, –दोलखामा कोरोना विरुद्ध ‘कोभिसिल्ड’ खोपको दोस्रो मात्रा २ हजार भन्दा बढीले लगाएका छन् । पहिलो मात्रा लगाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेविका, एम्बुलेन्स तथा शववाहन चालक, पत्रकार लगायत गरी २ हजार ४ सय ९९ जनाले दोस्रो डोज खोप लगाएका हुन् । गत वर्षको १० माघदेखि १५ सम्म र ३ फागुन देखि २५ सम्म कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका समुहलाई लक्षित गरी दोस्रो मात्रा लगाउने खोप कार्यक्रम ७ बैशाखदेखि सुभारम्भ भएको थियो । कार्यक्रम सुरु भएको ५ दिनसम्म सो संख्याका मानिसहरुले खोप लगाएका स्वस्थ्य कार्यालय दोलखा जनस्वास्थ्य अधिकृत सपना केसीले बताइन् । उनका अनुसार भीमेश्वर नगरपालिाका ७ सय ९७ जना, मेलुङ गाउँपालिकाका १ सय ८७ जना, शैलुङको २ सय १६, तामाकोशी २ सय ४३, बैतेश्वर २ सय ३०, विगु गाउँपालिकाका २ सय ३, कालिन्चोक गाउँपालिकाका २ सय ६३, जिरी नगरपालिका १ सय ६३ जनाले खोप लगाएका छन् । भीमेश्वर नगरपालिकाको चरिकोट अस्पताल, मेलुङ गाउँपालिकामा भेड्पु स्वास्थ्य चौकी, शैलुङ गाउँपालिकामा शैलुङ आधारभूत स्वास्थ्य केन्द्र तामाकोशी गाउँपालिकामा जफे स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको थियो । त्यसैगरि गौरीशंकरको भोर्ले स्वास्थ्य चौकी, बैतेश्वर गाउँपालिामा बैतेश्वर अस्पताल, विगुको सिंगटी अस्पताल विगु, कालिन्चोक गाउँपालिकाको सिंगटी कालिञ्चोक अस्पताललाई खोप केन्द्र तोकिएको थियो ।
छुटेकालाई १५ बैशाखमा
गत वर्षको १० माघदेखि १५ सम्म र ३ फागुन देखि २५ सम्म कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउने खोप कार्यक्रममा उपस्थित हुन नसकेकाले १५ बैशाखमा दोस्रो लगाउन पाउने भएका छन् । कार्यालय प्रमुख अर्जुन पौडेलले चरिकोट अस्पताल र बैतेश्वर अस्पतालबाट खोप लगाउन सकिने बताए । साथै उनका अनुसार दोस्रो चरण अन्र्तगत खोप लगाएका ६५ वर्ष भन्दा माथी उमेर समुहका व्यक्तिहरुलाई भने केही दिनपछि नेपाल सरकारको निर्णय बमोजिम दोस्रो डोज दिइने स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कार्यालय प्रमुख पौडेलले कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड पालना परिपालना गर्न अनुरोध गरेका छन् । उनले अतिआवशकीय काममा घरबाहिर निस्किँदा मास्क लगाउने, भौतिक दुरी कायम राख्ने, साबुनपानीले मिचिमिची हात धुने लगायतका सुरक्षा सावधानी अपनाउन सुझाव दिएका छन् ।

Shares

Be the first to comment on "दोलखामा २ हजार ५ सय जनालाई कोभिशिल्डकाे दाेस्राे डाेज"

Leave a comment

Your email address will not be published.


*