दलित समुदायको उत्थानका निम्ति कमलाको प्रयास

इश्वर बिश्वकर्मा
चरिकोट, बैशाख ९
दोलखाको कालिन्चोक गाउँपालिका वडा नं. ९ स्थित सनद्रावतीमा कमला खातीको प्रशंसक धेरै थिए । किनकी उनले दलित समुदायको मात्र होइन, कमजोर आर्थिक स्थिति भएका व्यक्ति, महिला र पिछडिएको मानिसहरुको उत्थानमा आफ्नातर्फबाट हरेक प्रयास गरेकी थिइन् । उनैको पहलमा गाउँमा खानेपानी, शिक्षा लगायतका पहुँच पुगेको थियो । साथै उनकै समन्वय र पहलमा गाउँमा अनुदान, स्वरोजगार तालिम, लगायतका कार्यक्रम सञ्चालन गरिन्थे । विभिन्न संघसंस्थामा आबद्ध रहेकी कमलाले संस्थागत र व्यक्तिगत तर्फबाट पनि क्षमताअनुसार सहयोग गर्ने गरेकी थिइन् । त्यसैले पनि गाउँका सबैले कमलाको प्रशंसा गर्दथे । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामाजिक कार्यमा सक्रिय हुँदा उनलाई सन्तुष्टि प्राप्त भईरहेको थियो । यतिमात्र होइन कमला राजनीतिमा पनि जोडिएकी थिइन्, तर गाउँमा राजनितिक रुपमा परिचित थिइनन् । तथापी २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट वडा सदस्य पदका लागि आफ्नो उमेद्वारी दिइन् । जनताको माया पाइरहेकी कमला निर्वाचनमा विजयी हुने पुर्ण आशावादी थिइन् । चुनावी प्रचारप्रसार कमैमात्रै गरेर पनि विजयको आशा गरेकी कमलाले भारी मतले विजयी भईन् । त्यसपश्चात गाउँलेको मनमनमा राज गरेकी उनि सिंगो वडाको मन जित्ने प्रणका साथ कानुन प्रदत्त जिम्मेवारी पुरा गर्दै सक्रिय भईरहेकी छिन् । पहिल्यैदेखी नागरिकको सेवामा सक्रिय कमलालाई निर्वाचित भएपछि जनतासामु गएर काम गर्न कुनै फरक अनुभव भएको छैन्। बाँचुन्जेल समाजमा असल कार्य गरे मृत्युपछि पनि अमर रहन सकिन्छ । यद्यपि समाजले मलाई मृत्युपछि स्मरण गरोस्, वा नगरोस् तर उनि सामाजिक काम बाँचुन्जेल गर्ने प्रण गरेकी छन् । दलित समुदायको प्रतिनिधित्व गर्ने जनप्रतिनिधि भएकोले दलित समुदाय तथा महिलाहरुको सशक्तीकरण र हकअधिकार सुनिश्चितता लगायतमा आफने जिम्मेवारी र काम बढी नै रहेको उनि बताउँछिन् । त्यसैले पनि आफ्नो समुदायको सशक्तीकरण र छुवाछूत अन्त्य र महिला शशक्तिकरणको लागि आफूले आवाज बुलन्द पारिरहेको उनले जिकीर गरिन् । यद्यपी उनले वडाका बैठक तथा विभिन्न सभासम्मेलन कार्यक्रममा दलित, महिला, आर्थिक कमजोर भएका व्यक्तिको लागि मात्र होइन, वडाको शैक्षिक, सामाजिक, आर्थिक, सांस्कृतिक विकासको लागि आफ्ना भनाईहरु बेजोडले राख्छिन् । उनी बैठक तथा छलफलमा भेला हुने, वडा तथा पालिकामा भएका काम तथा समस्यामाथि टिप्पणी गर्ने, सुझाव दिने, साथै लक्षित वर्गका लागि बजेट विनियोजन तथा कार्यान्वयनमा भूमिका निर्वाह गर्ने काम गर्छिन् । उनले औपचारिक शिक्षा लिएकी छैनन् तर अनौपचारीक शिक्षा र अनुभव रहेको छ । ५५ वर्षे उमेरमा पनि वडा सदस्य भएर काम गरिरहँदा उनको कामबाट वडाका नागरिक खुशी छन् । उनको खुलेरै प्रशंसा गर्दछन् । अन्य वडाका दलित महिला वडा सदस्यहरुले जातिय विभेद भोग्नु परेको गुनासो गर्छन् । तर उनले वडामा कुनै विभेद तथा छुवाछुत भोग्नुपरेको छैन् । उनले भनिन् ‘अन्य वडामा निर्वाचित दलित जनप्रतिनिधिले नै छुवाछूत भोगेका गुनासो गर्छन्, तर मेरो वडामा यस्तो छैन् । म त हरेक कार्य हुँदा गैरदलितसगैं बसेर खान्छु, काम गर्छु । कुनै छुवाछूत भोग्नुपरेको छैन् ।’ पछिल्ला वर्षहरूमा मानिसको चेतनाको स्तर बृद्धि भएका कारण आफ्नो वडामा भने छुवाछूत न्यूनिकरण हुन थालेको उनको भनाइ छ । ‘मानिसको चेतनामा वृद्धि भएसँगै छुवाछूतको मृत्यु हुन थालेको छ ।’ उनले भनिन् ‘त्यसैले समाजमा सचेतनामुलक शिक्षा प्रदान गरिरहनुपर्छ । यद्यपि तत्कालै परिणाम देखिदैन्। तर प्रयास जारी राख्नुपर्छ । यसो गर्न सकेमा निश्चय पनि हामीले कल्पना गरेको समाज कल्पनामा मात्र होइन, यथार्थ हुनेछ ।’ अन्य वडाका दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिबृद्धि गराउन स्थानीय सरकार तथा विभिन्न संघसंस्थाहरुले विषेश भूमिका निर्वाह गनुपर्ने उनको भनाइ रहेको छ ।

Shares

Be the first to comment on "दलित समुदायको उत्थानका निम्ति कमलाको प्रयास"

Leave a comment

Your email address will not be published.


*