मलेसियाविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी

वैशाख ६, २०७८ | काठमाडौं | नेपालले काठमाडौंमा जारी त्रिदेशीय ट्वान्टी–२० क्रिकेट सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित हात पारेको हो । दोस्रो चरणको खेलको समाप्तिमा नेपालको ४ अंक भएको छ । नेदरल्याण्डस्को २ अंक छ भने मलेसियाले खाता खोल्न सकेको छैन । मलेसियाले दिएको १ सय १० रनको समान्य लक्ष्य नेपालले १२ ओभर एक बलमा एक विकेट गुमाएर भेट्टायो । उसको जितमा कुशल भुर्तेलले नटआउट ६१ र आशिफ शेखले ४२ रन बनाए । दिपेन्द्रसिंह ऐरी ६ रनमा नटआउट रहे । पहिलो विकेटका लागि कुशल र आशिफले १ सय २ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए ।यसअघि पहिला व्याटिङ गरेको मलेसिया १६ ओभर ५ बलमा १ सय ९ रनमा अलआउट भएको थियो । साएद अजिजले २७, शर्भिन मुनिआन्दीले २० र सफिक सरिफले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । करण केसीले ३, सन्दिप लामिछानेले २ तथा सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, शहाब आलम र कुशल मल्लले समान एक एक विकेट लिए ।नेपालले आफ्नो तेस्रो खेलमा भोली नेदरल्याण्डस्सँग खेल्नेछ । प्रतिस्पर्धा नेपाली समयअनुसार दिउँसो सवा एक बजे सूरु हुनेछ । भोलीको खेलमा जित निकाल्न सके नेपालले एक खेल अगावै फाइनलमा स्थान बनाउनेछ ।

Shares

Be the first to comment on "मलेसियाविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी"

Leave a comment

Your email address will not be published.


*