चरिकोटमा तरकारी खेती तालिम सम्पन्न

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र ३०
दोलखाको भीमेश्वर नगरपालिका वडा नंं. ६ स्थित चोथाङमा ३ दिने तरकारी खेती सम्बन्धि तालिम सम्पन्न भएको छ । आफ्ना शेयर सदस्यहरुलाई व्यवसायिक कृषितर्फ उत्प्रेरित गराउने अभिप्रायका साथ पौरखी कृषि सहकारी संस्था लिमिटेडले कृषि ज्ञान केन्द्र रामेछापको सहयोगमा तालिमको आयोजना गरेको हो । तालिममा भीमेश्वर नगरपालिका वडा नं. ५, ६ र ७ का गरी ३२ जना सहकारीमा आबद्ध सदस्य कृषकहरुको सहभागिता रहेको थियो । उनिहरुलाई ज्ञान केन्द्र सम्पर्क कार्यालय दोलखाका नन्दराज ओली, भोला खतिवडा लगायतले प्राङ्गारिक खेती र मल, टनेल खेती प्रविधि लगायतका विषयमा प्रशिक्षण दिएका थिए । तालिम समापन समारोहमा जिल्ला सहकारी संघ लि. दोलखाका अध्यक्ष हेमन्त चौलागाईँले समृद्ध नेपाल निर्माणमा कृषकहरुको महत्वपुर्ण भूमिका रहने बताए । निर्वाहमुखी खेती गरिरहेका कृषकहरु व्यवसायिक र आधुनिक बन्नुपर्नेमा उनको जोड थियो । कृषि उपज बिक्रीका लागि फेसबुक लगायतका सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्न सकिने उनले कृषकहरुलाई सुझाए । कोही व्यक्तिले व्यवसायिक खेती तथा उद्यम गर्न चाहेमा ऋण दिन र दिलाउन जिल्लाका सहकारीहरुलाई उनले अनुरोध गरेका छन् । समुदाय र सदस्यहरुको आयस्तरमा बृद्धि गर्नु नै सहकारीको मुख्य उद्धेश्य रहेको पौरखी साकोसका अध्यक्ष हरिहर प्रसाद न्यौपानेले बताए । किसानहरुले उत्पादन गरेका वस्तुहरु बिक्रीका लागि सहकारीले पनि साथ दिईरहेको र यसलाई निरन्तरता दिइने समेत प्रतिबद्धता जनाए । तालिममा सहभागी सञ्जु कार्कीले तालिमले उत्साहित बनाएको र आफूले गर्दै आएको कृषिलाई आधुनिकतातर्फ उन्मुख गराउने समेत बताइन् । कार्यक्रममा जिल्ला पौरखी साकोसका कोषाध्यक्ष गोपाल प्रसाद न्यौपाने, सहकारी संघका व्यवस्थापक अनिल दहाल, कृषक माधव प्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

तस्बिरः माधव प्रसाद न्याैपानेकाे फेसबुकबाट

Shares

Be the first to comment on "चरिकोटमा तरकारी खेती तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*