मेलुङ गाउँपालिकामा ७७ वटा नमुना गोठ

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र १३
नियमित घाँसपानी र आवश्यक औषधोपचारको व्यवस्थासगैँ घाम, हावा र प्रकाश सन्तुलित रहेको व्यवस्थित आधुनिक गोठमा पशुपालन गर्नुपर्छ, अनि मात्र पशुपालनबाट सोचेअनुसारको आम्दानी गर्न सकिन्छ । यहि कुरालाई मध्यनजर गर्दै दोलखाको दक्षिणी क्षेत्रमा अवस्थित मेलुङ गाउँपालिकाका ७७ जना किसानले सुधारिएको नमुना गोठ निर्माण गरी पशुपालन गर्दै आएका छन् । आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ मा पालिकाले सञ्चालन गरेको नमुना गोठ सुधार कार्यक्रम अन्र्तगत ७७ जना किसानले सुधारिएको गोठ निर्माण गरी पशुपालन गरेका हुन् । कार्यक्रममा छनोट भएका किसानले १ लाख बराबरको लागतमा प्राविधिक स्टमेट अनुसार नमुना गोठ निर्माण गरेपछि प्राविधिक मूल्याङ्कनको आधारमा पालिकाले ५० हजारसम्म अनुदान रकम उपलब्ध गराएको थियो । बाँकी रकम स्वयम किसानले व्यहोरेका थिए । आर्थिक वर्ष २०७५÷०७६ मा ५ जना र २०७६÷०७७ मा ७२ जना गरी ७७ जनालाई अनुदान रकम उपलब्ध गराइएको पालिकाले जनाएको छ । किसानले सुधारिएको नमुना गोठमा २ वा सोभन्दा बढीको संख्यामा गाईभैँसी पालेका छन् । गोठ निर्माणले गाईभैँसीलाई घाँसपानी दिन, गोबरमुत्र व्यवस्थापन गर्न सहज भएको किसानहरु बताए । साथै गाईभैँसीमा रोग कम लाग्ने, हृष्टपुष्ट हुने र आयआर्जनमा पनि सुधार भएको उनिहरुले दाबी गरे । मेलुङ गाउँपालिका वडा नं. २ उपल्लागाउँका किसान कुमार भण्डारीले नमुना गोठ सुधार कार्यक्रम सञ्चालन गरेर गाउँपालिकाले राम्रो कार्य गरेको भन्दै प्रशंसा गरे । नमुना गोठ साँच्चिकै नमुना बनेको उनको भनाई रहेको छ । गोठ निर्माणको लागि पक्की भुईँ, घाँस दाना तथा पानीको डँुड, गारो, छाना, मल तथा मुत्र राख्ने खाडलको सहि व्यवस्थापन लगायतको मापदण्ड निर्धारण गरिएको थियो । यो वर्ष पनि पालिकाले सात वटै वडामा नमुना गोठ निर्माण कार्यक्रम सञ्चालन गरिरहेको पालिकाको पशुपन्छी विकास शाखा प्रमुख राष्ट्र कुमार श्रेष्ठले बताए । यस कार्यक्रममा समावेश हुन निवेदन दिएका किसानले प्राविधिक स्टमेट अनुसार १ लाख बराबरको लागतमा गोठ निर्माण गरेपछि पालिकाले ५० हजार सम्म अनुदान रकम उपलब्ध गराउने छ । यो कार्यक्रमबाट यो वर्ष पालिकाका ७० जना कृषकहरु लाभान्वित हुने भएका छन् । वडा नं. २, ४, ५, ६ र ७ का किसानहरुसँग सम्झौता भई गोठ निर्माणको काम सुरु भएको छ । वडा नं. ३ र १ का किसानहरुसँग सम्झौताको प्रक्रियामा रहेको पशुपन्छी विकास शाखा प्रमुख श्रेष्ठले बताए । पालिकालाई दुध र मासुमा आत्मनिर्भर बनाउन नमुना गोठ सुधार कार्यक्रम सञ्चालन गरिएको हो ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकामा ७७ वटा नमुना गोठ"

Leave a comment

Your email address will not be published.


*