इश्वर बिश्वकर्मा
चरिकोट, फागुन ५
भूमी सम्बन्धी समस्या समाधान आयोग दोलखाको पदाधीकारीहरुले बुधबार पदभार ग्रहण गरेका छन् । जिल्ला समन्वय समितिको भवनमा कार्यालय स्थापना गरी आयोगका अध्यक्ष धर्मेन्द्र मोक्तान, विज्ञ सदस्य बद्री बहादुर बुढाथोकी र सदस्य गोमा केसीले पदभार ग्रहण गरेका हुन् । पदभार सम्हाल्दै अध्यक्ष मोक्तानले भुमी सम्बन्धी समस्या समाधान र भूमीहिन घरपरिवारलाइ भूमी उपलब्ध गराउने काम सुभारम्भ भएको बताए । उनले सर्वप्रथम कार्यालयमा तथ्याङ्क ‘कम्प्युटरमा राख्नकाे लागि’ दक्ष कर्मचारीको व्यवस्थापन गरिने बताए । त्यसपछि विभिन्न पालिकाहरुसँगको समन्वयमा भूमी सम्बन्धी समस्या र भूमीहिन परिवारको तथ्याङ्क संकलन गरी भूमी सम्बन्धी ऐन तथा कार्यविधी अनुसार समस्याको समाधान तथा भूमीहिन परिवारलाई भूमी उपलब्ध गराइने बताए । विज्ञ सदस्य बुढाथोकीले भुमीहिन परिवारलाई घर निर्माणका लागि ४ आना जग्गा उपलब्ध गराइने र भुमीहिनले कृषि कार्य प्रयोजनको लागि ११ आना सम्म जग्गा उपलब्ध गराइने बताए । त्यसका साथै गुठी जग्गा सम्बन्धी समस्या, जग्गा अतिक्रमण सम्बन्धी समस्या, सीमा सम्बन्धी समस्या समाधानको कार्य आयोगको तर्फबाट हुने उनले बताए । पदाधीकारीहरुलाई स्वागत गर्दै जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले तोकिएको जिम्मेवारीलाई ऐन, नियम र कानुनको अधिनमा रहेर प्रभावकारी ढंगले सम्पादन गर्न आयोगका पदाधीकारीहरुलाई सल्लाह दिएका थिए । कार्यको क्रममा विभिन्न चुनौती आउन सक्ने र त्यसको सामना गर्दै पदाधीकारी तथा आयोगका कर्मचारीले काम गर्नुपर्ने बताए । आयोगको अध्यक्ष मोक्तान मेलुङ गाउँपालिका वडा नं. ४ भेड्पु, विज्ञ सदस्य बुढाथोकी गौरीशंकर गाउँपालिका वडा नं. ३ र सदस्य केसी विगु गाउँपालिका वडा नं. ४ लादुकका हुन् । उनिहरुलाई माघ दाेस्राे साता मन्त्रि परिषद्को बैठकले भुमी सम्बन्धी आयोग दोलखाको पदाधीकारीमा नियुक्त गरेको थियो ।
Be the first to comment on "दोलखामा भूमी सम्बन्धी समस्या समाधानको काम सुरु"