चरिकोटमा काँग्रेसका नेता तथा कार्यकर्ता किन हाँसे ?

इश्वर बिश्वकर्मा
चरिकोट, माघ १९
नेपाली काँग्रेस दोलखाका नेता तथा कार्यकर्ता सोमबार सडकमै चर्को आवाज निकालेर हाँसेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधी सभा संसद विघटन गरेपछि उक्त कार्य असवैधानिक र अलोकतान्त्रिक भएको भन्दै काँग्रेस दोलखाका नेता तथा कार्यकर्ता सडकमैँ आएर हाँसेका हुन् ।
संसद विघटन बिरुद्ध तेस्रो चरणको आन्दोलका कार्यक्रम अन्तर्गत कांग्रेस दोलखाका भ्रातृ संगठनका नेता तथा कार्यकर्ताद्धारा संसद विघटन बिरोधमा हाँसो जुलुस प्रदर्शन गरिएको नेपाली कांग्रेस दोलखाले जनाएको छ । जुलुसमा नेपाल तरुण दल,नेपाल विद्यार्थी संघ,दलित संघ, नेपाल महिला संघ, आदिवासी जनजाति संघ, किसान संघ लगायतका काँग्रेसका भातृ संघसंठनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । कांग्रेस पार्टी कार्यालयबाट शूरु भएको हाँसो जुलुस बिचबजार हुँदै सातदोबाटोमा आएर बिरोध सभामा परिणत भएको थियो । बिरोध सभा अघि ‘संसद विघटन गर्नू नाटकै हो’, ‘ओलीले रेल ल्याउने भनेको नाटकै हा’े, रेल ल्याउने कुरा नौटङ्की नै हो’, ‘भ्रष्टचार निषेधित सरकार बनाउने कुरा नौटङ्की नै हो ।’ लगायतका नारा काँग्रेस नेता तथा कार्यकर्ताले लगाएका थिए । बिरोध सभा कांग्रेस भ्रातृ संघसंगठनका नेताहरुले आफ्नै दल भित्रको कचिंगल र पदको लोभका कारण अल्पमतका परेको बाहनामा प्रधानमन्त्री ओलीले संविधानमै व्यवस्था नभएको संसद विघटन गरेर जनताको अधिकार खोस्दै मुलुकमा निरंकुश शैलीको शासन सत्ता चलाउने तर्फ लागेको आरोप लगाएका थिए । संसद विघटनका साथै भ्रष्टाचार, कुशासन, बेथिति र बिसंगति र सरकारको निरंकुश शैलीको बिरुद्धमा हाँसो जुलुस प्रदर्शन गरिएको बिरोध सभामा नेपाली कांग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्काले बताए । नेपाली कांग्रेस दोलखाका नेता इश्वर नारायण मानन्धरले प्रधानमन्त्री ओलीले उखान र चुट्किला सुनाएर हँसाएको तर काम भने ’सिन्को भाच्ने‘ पनि नगरेकोले हाँसेर बिरोध गरिएको बताए । नेता मानन्धरले प्रधानमन्त्री ओलीलाई नेपाली राजनीतिक इतिहासकै सफल, असल र लोकप्रिय बन्ने अवसर भए पनि इतिहासकै सबैभन्दा असफल भएको आरोप लगाउँदै ओलीले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर देशलाई राजनीतिक अस्थिरतामा लगेको आरोप लगाए । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध काँग्रेस एकमत भएर अघि बढेको उनले बताए । नेपाल महिला संघकि अध्यक्ष कृष्ण कुमारी खड्काको अध्यक्षमा भएको बिरोध सभामा कांग्रेसका कुन्दन राज काफ्ले सहित कांग्रेसका भातृ संघसंगठनका नेता तथा प्रतिनिधिले सम्बोधन गरेका थिए । प्रतिनिधिसभा संसद विघटन गरेपछि उक्त कदम असंवैधानिक, अलोकतान्त्रिक भएको भन्दै विभिन्न दलहरुले चरणबद्ध रुपमा बिरोध प्रदर्शन गरिरहेका छन्। बिरोध प्रदर्शन गर्नेमा नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड, माधव समुह, जसपा, विवेकशील साझा पार्टी सहित प्रमुुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि रहेको छ ।

Shares

Be the first to comment on "चरिकोटमा काँग्रेसका नेता तथा कार्यकर्ता किन हाँसे ?"

Leave a comment

Your email address will not be published.


*