लामोसाँघु–जिरी सडक विस्तारमा आयोजनाको ठेकेदारलाई ३ दिने ताकेता

दीक्षण समाचार
चरिकोट, २९ जेठ
लामोसाँघु–जिरी सडक विस्तार आयोजनाले गत बैशाखदेखि काम बन्द गरेको भन्दै काम गर्ने भरपर्दो योजना सहित ३ दिन भित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ । लिखित तथा मौखिक रुपमा पटक पटक ताकेता गर्दा पनि व्यवसायी सम्पर्कमा नआएकाले सार्वजनिक सूचना जारी गर्नु परेको सूचनामा उल्लेख छ ।
दोस्रो प्याकेजका निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि दिपक सापकोटाले भने काम गरेर बील भएको साँढे ८ करोड ६ महिनादेखि आयोजनाबाट भुक्तानी नपाएकाले काम गर्न नसकिएको बताए । “असारसम्म काम पूरा गर्ने योजना सहित उपकरण र मजदुर परिचालित छन्” उनले भने “काम गर्ने सिजन हिउँदभर न म्याद थप भयो न त काम भुक्तानी, यसले योजना अनुसार काम पूरा हुन सकेन ।” केही दिन अघि म्याद थप भएपछि चरङ्गे खोलादेखि चरिकोटसम्म ग्रेड मिलाउने र सब बेसको काम सुरु भएको बताए ।
पहिलो प्याकेजको जति समय आफूलाई बेलैमा थपिएको भए असारसम्म काम पूरा हुने उनले बताए । समयमा म्याद थप पनि नभएको र भुक्तानी पनि नपाएकाले अब पुनरावेदन गर्ने उनले बताए ।
भीमेश्वर नगरपालिका वडा नं. ९ यानमारामा गत वर्ष नै क्रसर जोडेको छ । सब बेसको अधिकाँश पूरा भएको उनले बताए । कालोपत्रेका लागि अलपत्रा तयारी अवस्थामा रहेकाले असारमा खडेरी परे १० किलोमिटरसम्म कालोपत्रे हुने उनले बताए ।
पहिलो प्याकेजको खाडीचौरदेखि ६ किलोमिटर कालोपत्रे भएको छ । कालोपत्रेको काम जारी छ । असारसम्म १० किलोमिटर कालोपत्रे हुने आयोजना प्रमुख झाले बताए । तर पाखरदेखि मुडेसम्मको १० किलोमिटर खण्डमा खाल्डाखुल्डी भएकाले यो खण्ड आउँदो बर्खा जोखिमपूर्ण हुने अवस्था छ । यस खण्डमा नाली र सब बेसको काम समेत भएको छैन ।
पहिलो खण्डको जिम्मा पाएको निर्माण कम्पनीको काम २४ महिनामा पूरा हुने गरी २०७२ भदौमा सम्झौता भए तापनि समयमा काम नसकिएपछि एक वर्ष म्याद थप भएको थियो । त्यसपछि पुनः ६ महिना म्याद थप भएको थियो ।
पहिलो प्याकेजको खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटरमा भारतीय कम्पनी सिमाञ्चल, नेपाली कम्पनीहरु गौरीपार्वती र सुनौला खिम्तीले संयुक्त रुपमा ठेक्का पाएका छन् । पहिलो प्याकेजको काम ३९ करोड २६ लाख ५२ हजारमा सम्झौता भएको हो ।
पहिलो प्याकेजमा नेपाली निर्माण कम्पनीको आधिकारिक प्रतिनिधि सुनौला खिम्तीका कार्यकारी निर्देशक धर्मराज भण्डारी भए तापनि उनले डेढ वर्षदेखि काम नगर्दा सडक अलपत्र परेको थियो । उनलाई प्रहरीले काम नगरेपछि गत जेठमा पक्राउ गरी समयमा काम पूरा गर्ने सर्तमा छाडेको थियो । पछिल्लो सयमा गौरीपार्वतीले कामको जिम्मा लिएर गरिरहेको छ । अहिले सुनौला खिम्तीले कर छली गरेको विषयमा अख्तियारले समेत फाइल तानेका कारण पहिलो प्याकेजको समस्या पुनः बल्झिएको छ ।
दोस्रो प्याकेज ७० करोड ७० लाख ३४ हजारमा ठेक्का २०७२ चैतमा सम्झौता गरेको छ । सुरुमा ५ मिटर कालोपत्रे गर्ने डिजाइन अनुसार ठेक्का सम्झौता भए तापनि पछि ७ मिटर कालोपत्रे हुने गरी डिजाइन परिवर्तन भएकाले दुवैको थप भार भएको छ ।

Shares

Be the first to comment on "लामोसाँघु–जिरी सडक विस्तारमा आयोजनाको ठेकेदारलाई ३ दिने ताकेता"

Leave a comment

Your email address will not be published.


*