काठमाडौँमा शैलुङ गाउँपालिकाको घुम्ती सेवा

दीक्षण समाचार
चरिकोट, भदौ २०
दोलखाको शैलुङ गाउँपालिकाले आइतबार काठमाडौँमा घुम्ती सेवामार्फत १३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । काठमाडौँमा बसोबास गरिरहेका पालिकाका अपाङ्गता भएका व्यक्तिलाई भृकुटीमण्डपबाट परिचयपत्र वितरण गरिएको हो । पालिकाबाट टाढा भएकै कारण अपाङ्गता भएका व्यक्तिले परिचयपत्र नपाएर सरकारले प्रदान गर्ने सेवासुविधाबाट वञ्चित हुन नपरोस् भनेर काठमाडौँमै घुम्ती सेवामार्फत परिचयपत्र वितरण गरिएको पालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका फिल्ड सहायक संगीता खड्काले बताउनुभयो । उहाँका अनुसार तीन जनालाई क, छ जनालाई ख, २ जनालाई ग र २ जनालाई घ वर्गको परिचयपत्र वितरण गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिले परिचयपत्रका आधारमा सामाजिक सुरक्षा भत्ताका साथै विभिन्न सेवा सुविधा तथा आरक्षण पाउँछन् । तर परिचयपत्र नभएमा सो सेवा सुविधाबाट वञ्चित हुनुपर्छ । त्यस्तो अवस्था कसैले भोग्नु नपरोस् भने गाउँपालिकाले वर्षेनी वडा वडामा घुम्ती सेवा कार्यक्रम अपाङ्गता परिचयपत्र वितरण गर्ने गरेको छ ।  तर त्यहाँ आउन नसकेका व्यक्तिहरूलाई काठमाडौँमै घुम्ती सेवा मार्फत डाक्टरको पहिचानको आधारमा परिचयपत्र वितरण गरिएको फिल्ड सहायक खड्काले बताउनुभयो ।

सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई चार समूहमा वर्गीकरण गरेको छ । पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिले रातो, अति अशक्त अपाङ्गता भएका व्यक्तिले निलो, मध्यम अपाङ्गता भएका व्यक्तिले पहेँलो र सामान्य अपाङ्गता भएका व्यक्तिले सेतो रङ्गको परिचयपत्र प्राप्त गर्ने व्यवस्था छ ।

Shares

Be the first to comment on "काठमाडौँमा शैलुङ गाउँपालिकाको घुम्ती सेवा"

Leave a comment

Your email address will not be published.


*