क्यान्सर के हो र कसरी बच्ने ?

जानुका न्यौपाने

क्यान्सरलाई धेरैले डरलाग्दो रोगको रुपमा लिन्छन् । समयमै ख्याल गरेन भने क्यान्सर फैलंदै गएर अकालमा ज्यान जानसक्छ त्यसैले यो रोग डरलाग्दो रोग नै हो । क्यान्सर किन हुन्छ र यसबाट बच्न के गर्नु पर्छ ?
क्यान्सर एउटा दीर्घ रोग हो । जुन शरीरको कुनै पनि अंगमा हुनसक्छ । यो एक प्रकारको घाउ हो जुन फैलिंदै जान्छ र अन्त्यमा बिरामीको मृत्यू हुन्छ । अहिले संसारमा वार्षि एक करोडको क्यान्सरका कारण मृत्यू हुने गरेको तथ्यांक छ । नेपालमा हरेक वर्ष ४० हजार जना क्यान्सरका बिरामी थपिने गरेको भएपनि धेरै जनाले उचित उपचार पाएका छैनन् ।
हाम्रो शरीर करोडौं सुक्ष्म कोषहरुले बनेको हुन्छ । ती कोषहरुले हाम्रो शरीर बनाउँछ । जब तीमध्येका केही कोष विग्रिन्छन् । तिनिहरुले आफ्नो काम गर्न छोड्छन् र अप्राकृतिक तरिकाले बढ्न थाल्छन् । त्यसरी बढ्दै गएपछि त्यो अंगमा घाऊ बन्छ, जसको उपचार गरिएन भने त्यो अंगले राम्ररी काम गर्न सक्दैन र क्यान्सरका लक्षण देखिन थाल्छन् । क्यान्सर यो अर्थमा डर लाग्दो रोग हो । किनभने बिग्रेका कोषहरु अरु अंगहरुमा सर्दै जान्छन् र अरु अंगहरुलाई पनि असर गर्दै जान्छन् । यसलाई फैलिएको क्यान्सर भनिन्छ ।
क्यान्सर लाग्ने कारण के के हुन् ?
सामान्य अवस्थामा काम गरिरहेका कोषहरुमा केही परिवर्तन आउँछ र ती बढ्न थाल्छन् । अनि क्यान्सर हुन्छ । ती कोषहरुमा आउने त्यो डरलाग्दो परिवर्तनका कारण विभिन्न छन् । हामीलाई थाहा भएका कारणहरुमध्ये मूख्य कारण चुरोट, खैनी, मदिरा हो । नेपाली महिलाहरुमा भेटिने एउटा मुख्य क्यान्सर पाठेघरको क्यान्सर हो जसको कारण ह्युमन प्यापिलोमा भाइरस हो । बाँकी क्यान्सरका कारणहरुमा जंकफुड, विषक्त पदार्थ वा रासायिनिक तत्वहरु प्रयोग गरिएका हालिएका खानेकुरा, कीटनासक विषादी छरेर उमारिएका, फलाइएका तरकारी फलफूलको सेवन, वंशाणुगत कारणहरु तथा प्रदुषण हुन । केही क्यान्सरहरुको कारण अहिलेसम्म पत्ता लागेको छैन ।

क्यान्सरका लक्षणहरु के के हुन् ?
क्यान्सरका लक्षण कुन अंगको क्यान्सर हो, त्यो अनुसार फरक हुन्छ । यस्ताखालका लक्षणहरु महिना दिन भन्दा लामो समयसम्म भए डाक्टरलाई देखाउनु पर्छ ।
यस्ता छन् लक्षणहरु ः
कमजोरी हुने तौल घट्ने
शरीरका कुनै पनि अंगमा गिर्खा, गाँठागुँठीहरु आउने
छालामा नयाँ कोठी पलाउनु वा भएका कोठी बढेर ठूलो हुँदै जाने
मुखमा र जिब्रोमा लामो समयदेखि घाउ हुने
खाना निल्दा दुख्ने र स्वर फेरिने
श्वास लिन वा फेर्न गाह्रो हुने, खोकी लाग्ने वा खकारमा रगत देखा पर्ने
लामो समयदेखि ग्यासट्राइटिस, पेट पोल्ने वा उल्टी हुने
कारण पत्ता नलागको ज्वरो आइरहने
दीशामा रगत देखा पर्ने हुन्छ ।

 

क्यान्सर लाग्नै नदिन के गर्न सकिन्छ ?
सूर्तिजन्य पदार्थ र मदिरा सेवन नगर्ने
पान सुपारीहरु नखाने
अस्वसथकर खानपिनको बानी सुधार गर्ने
अबिबाहित महिलाहरुले ह्यूमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाउने
सामान्य समस्या भए पनि लामो समयसम्म रहिरहे डाक्टरसँग जाँच गराउने ।
अझै महत्वपूर्ण कुरा के छ भने अबिबाहित महिलाहरुले ३ पटक ह्यूमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाउने गरेमा ९५ प्रतिशतसम्म रोक्न सकिन्छ ।
चुरोट, खैनी, मदिरा सेवन गर्ने सबैलाई क्यान्सर हुने अनि नखानेलाई नहुने हो त ? क्यान्सर सबैलाई हुने सम्भावना धेरै हुन्छ । तर, सूर्तिज्यनय पदार्थ (चुरोट, खैनी) खानेलाई मुख, घाँटी र फोक्सोको क्यानसर हुने सम्भावना धेरै हुन्छ । एकजना सूर्तिजन्य पदार्थ मदिरा प्रयोग नगर्ने मान्छेलाई क्यान्सर हुँदा, २० जना चेरोट, खैनी र मदिरा सेवन गर्नेलाई क्यान्सर भइसकेको हुन्छ ।
क्यान्सर लागेपछि के कुरामा ध्यान दिने त ?
तुरुन्त क्यान्सर रोग विशेषज्ञसँग भेटेर सही उपचार शुरु गर्ने ।
आयुर्वेदले क्यान्सर निको हुँदैन त्यसैले अन्धविश्वासमा नलाग्ने ।
क्यान्सरको विशेषज्ञसँग बसेर उपचार र त्यसका प्रभाव बारे राम्रोसँग कुरा गर्ने ।
निराशा नभई आत्मवल बढाउने ।
नेपालमा अहिलेसम्म क्यानसरको अवस्था कस्तो छ त ? नेपालमा क्यान्सरको अवस्था दुःखलाग्दो र पीडादायी अवस्था छ । क्यान्सर पीडितहरुको संख्या बढीरहेको छ । सरकारले सूर्तिजन्य पदार्थ, मदिरा उत्पादन र बेचबिखनलाई रोग लगाउन सकेको छैन । सरकारी क्यान्सर अस्पतालमा सबै सुविधा अहिले उपलब्ध छैनन् । त्यसैले क्यान्सर लागेर भारत वा अन्य देशमा गएर महँगो उपचार गराउनु भन्दा लाग्नै नदिन हामी सचेत हुनु जरुरी छ ।

Shares

Be the first to comment on "क्यान्सर के हो र कसरी बच्ने ?"

Leave a comment

Your email address will not be published.


*