९ वडाका ९ कृषकलाई ९ वटा बोका वितरण

ईश्वर बिश्वकर्मा
चरिकोट, असार १५
दोलखाको जिरी नगरपालिकाका पशुपालक कृषकहरुलाई आइतबार ८५ प्रतिशत अनुदानमा उन्नत जातको बोका वितरण गरिएको छ ।
९ वटै वडाका ९ जना कृषकहरुलाई एकएक वटाको दरले ९ वटा बोयर जातको बोका अनुदानमा वितरण गरिएको हो ।
गोलाप्रथाको माध्यमबाट वडाले छनौट गरेका कृषकहरुलाई बोका वितरण गरिएको नगर उपप्रमुख कृष्णमाया बुढाथोकीले बताईन् ।  मकवानपुर जिल्लाबाट  खरिद गरि बोका ल्याईएको थियो । नश्ल सुधारका लागि उन्नत जातको बोका वितरण गरिएको र यसले बाख्रा पालन फस्टाउन सहयोग पुर्याउने उनले बताइन् ।
बाख्रा पालन तर्फ किसानहरुलाई आकर्षित गराउन अनुदानमा बोका वितरण गरिएको हो । सतप्रतिशत अनुदानमा बोका वितरण गरिने योजना भएको भएपनि दुरुपयोग हुन सक्ने भन्दै १५ प्रतिशत कृषकहरुले व्यहोरेका पशु विकास शाखाले जनाएको छ । त्यसैगरी भीमेश्वर नगरपालिकाले पशुपालक किसानलाई प्रोत्साहित गर्न चालु आवको पशु प्रवर्द्धन कार्यक्रम अन्तर्गत बोका वितरण गर्ने तयारी गरेको छ ।
किसानहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको १५ वटा बोका वितरण गर्ने तयारी गरिएको नगरका नायव पशुसेवा प्राविधिक शंकरप्रसाद पाठकले बताए । बोका वितरण पश्चात् व्यावसायिक रुपमा बाख्रापालन बृद्धि हुनेमा सहयोग पुग्ने उनले बताए ।

Shares

Be the first to comment on "९ वडाका ९ कृषकलाई ९ वटा बोका वितरण"

Leave a comment

Your email address will not be published.


*