९ महिनामा खारे खोलाबाट विद्युत उत्पादन

दीक्षण समाचार
दोलखामा निर्माणाधीन ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजनाले अबको ९ महिनामा विद्युत उत्पादन सुरु गर्ने भएको छ । ६० प्रतिशत निर्माण पूरा भएको आयोजनाले २०७६ साउनबाट विद्युत उत्पादन गर्न लागेको हो ।
आयोजनाको बाँध क्षेत्रको ८० प्रतिशत निर्माण पूरा भएको प्रवर्द्धक युनिभर्सल पावर कम्पनीका प्रबन्ध सञ्चालक विनय भण्डारीले बताए । उनका अनुसार बाँध क्षेत्रको बाँकी काम आगामी चैतभित्र सम्पन्न गरिनेछ । अहिले बाँध र पाइप लाइनलाई जोड्ने नहरको निर्माण भइरहेको छ ।
पाइप लाइन बिछ्याउने काम पनि ५० प्रतिशत बढी पूरा भएको छ । ३.२ किलोमिटर लामो पाइप लाइनमध्ये १.५ किलोमिटर बिछ्याइएको भण्डारीले बताए । आगामी २०७६ जेठभित्र पाइप लाइनको काम सम्पन्न गर्ने तालिका छ ।


यसैगरी, विद्युतगृहको कामले पनि तीव्रता पाएको छ । विद्युतगृहमा अहिले इलेक्ट्रोमेकानिकल उपकरण जडान भइरहेको छ । चैतभित्र उपकरण जडान सम्पन्न गरिने कम्पनीले जनाएको छ । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत ४ किलोमिटर दुरीमा नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेसनमा लगेर जोडिनेछ । सिंगटी सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।
प्रसारण लाइन निर्माण गर्न ठेकेदार छनोट गरी परिचालन गरिएको छ । नेपाली ठेकेदार कम्पनी जोशी एन्ड मुड्वरीले मंसीर महिनाबाट प्रसारण लाइनको फाउन्डेसनको काम सुरु गर्ने भएको छ । आयोजना पूरा गर्न २ अर्ब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा ७ बैंकले ऋण लगानी गरेका छन् ।

Shares

Be the first to comment on "९ महिनामा खारे खोलाबाट विद्युत उत्पादन"

Leave a comment

Your email address will not be published.


*