९१ करोडकाे भीमेश्वर नगरपालिकामा पानी तथा ढल व्यवस्थापनका लागि सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिकामा पानी तथा ढल व्यवस्थापनका लागि चरिकोट डिवाट्स आयोजना कार्यान्वयन सहमति तथा वित्तीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । सिंहदरबारमा बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको उपस्थितिमा भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी र सहरी खानेपानी तथा सरसफाई आयोजना व्यवस्थापन कार्यालयका निर्देशक रामकुमार श्रेष्ठबीच आयोजना कार्यान्वयनसम्बन्धी सहमति तथा वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो । चरिकोट बजारसहित भीमेश्वर नगरपालिकाको वडा ३, ४ र ६ मा रहेको बजार क्षेत्रमा प्रशोधन प्रणालीमार्फत खानेपानी तथा ढल व्यवस्थापनका लागि एसियाली विकास बैंक (एडीबी) को ऋण सहायतामा आयोजना निर्माणका लागि सहमति गरिएको सम्झौतापत्रमा उल्लेख छ । यो आयोजनाको कुल लागत ९१ करोड ५१ लाख ३६ हजार रुपैयाँ छ । जसमध्ये कुल लागतको १५ प्रतिशत स्थानीय तहले बेहोर्नु पर्नेछ । कार्यक्रममा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले हिमाली जिल्लामा नेपालमै पहिलोपटक सञ्‍चालनमा ल्याइएको आयोजना नमुना बन्नेमा विश्‍वास व्यक्त गरे ।  कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंले आयोजना सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । भीमेश्वर नगरपालिकाका मेयर केसीले नगरकै गौरवको आयोजना सञ्‍चालनका लागि पहल गरिदिएकामा सञ्चारमन्त्री गुरुङप्रति आभार व्यक्त गरे ।

 

Shares

Be the first to comment on "९१ करोडकाे भीमेश्वर नगरपालिकामा पानी तथा ढल व्यवस्थापनका लागि सम्झौतापत्रमा हस्ताक्षर"

Leave a comment

Your email address will not be published.


*