२ वर्षमा पूरा गर्ने प्रसारण लाइन ८ वर्षसम्म अधुरै

दीक्षण समाचार
दोलखा, ९ फागुन
दुई वर्षमा पूरा गर्ने गरी ८ वर्ष अघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम अझै अधुरै छ । प्रसारण लाइन नबन्दा दोलखाको उत्तरी क्षेत्रमा बनेका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत खेर गइरहेको छ । यसबाट प्रबद्र्धक र राज्यलाई वर्षेनी अरबौं घाटा पर्दै आएको छ ।
दोलखाको उत्तरी क्षेत्रमा उत्पादन हुने जलविद्युतकै लागि लक्षित गरी नेपाल विद्युत प्राधिकरणले सिङ्गटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको ठेक्का लगाएको हो । प्रसारण लाइन सिंगटीदेखि सिन्धुपाल्चोकको लामोसाँघुसम्म ४० किलोमिटर मात्र रहेको छ । प्रसारण लाइनमा १ सय २१ वटा टावर निर्माण गर्नुपर्छ ।
सिङ्गटी–लामोसाँघु प्रसारण लाइन आयोजनाका प्रमुख राजन ढुङ्गेलका अनुसार अहिलेसम्म १०७ वटा टावरको जगत यार भएको छ भने ३५ वटा टावर उठाउने काम पूरा भएको छ । फागुन अन्तिमबाट टावरमा तार तान्ने काम समेत सुरु हुने उनले बताए ।
९ वर्ष अघि सर्भे गरेको ठाउँमा सर्भेपछि काम नहुँदा केही ठाउँ (प्रसारण लाइनको क्षेत्र) घर समेत बनिसकेका छन् । विशेषगरी दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ९ झियाने र खरिढुङ्गा, सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका र बाह्रविसे नगरपालिका क्षेत्रमा पनि यस्तो समस्या छ । त्यसको समाधानको पहल भैरहेको उनले जानकारी दिए ।
“पहिला सर्भे भयो खाली ठाउँ थियो, प्रसारण लाइनको क्षेत्र निर्धारण गरियो” उनले भने “भुकम्पपछि अहिले ति क्षेत्रमा घर बने तिनलाई सार्न समस्या छ, अहिले ति ठाउँमा टावरको काम हुन सकेको छैन ।” पूर्व निर्धारित प्रसारण लाइन क्षेत्रको रुट परिवर्तन गर्दा लामो समय लाग्ने र थप समस्या हुने उनले बताए ।
यसरी भयो ढिलाइ
विद्युत प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २ वर्षभित्र प्रसारण लाइन र सिंगटीको सबस्टेशन समेत निर्माण गर्ने रहेको छ ।
सम्झौता अनुसार सबस्टेसनका लागि साढे १७ करोड र प्रसारण लाइनका लागि करिब ४२ करोड रुपैयामा अरावलीले ठेक्का लिएको हो । तर कम्पनीले सबस्टेसनको काम अन्तिम चरणमा पुगे पनि प्रसारण लाइनको काम अझै धेरै बाँकी छ । समयमा काम पूरा नगरेपछि ठेक्काको म्याद थप गरेपछि भारतीय ठेकेदार कम्पनी समेत सम्पर्क विहीन हुँदा काम अघी बढ्न नसकेको हो ।
ठेकेदार कम्पनी पहिलो पटक म्याद थप भएपछि सम्पर्क विहीन छ । थपिएको म्याद सकिदासम्म पनि प्रसारण लाइन र सव स्टेशन तयार नहुँने भएपछि जलविद्युत आयोजनाका प्रवद्र्धकहरुले आफैंले चासो लिए । खानी खोला (४० मेगावाट) विद्युत आयोजनाको प्रबद्र्धकहरु आफैं प्रसारण लाइनको ठेकेदार भेट्न पटक पटक दिल्ली पुगे ।
अर्बौं लगानी गरेर पूरा हुन लागेको आयोजना प्रसारण लाइनकै कारण वार्षिक करोडौंको विद्युत खेर जाने भएपछि अरावलीसँग मिलेर आफैं प्रसारण लाइन बनाउने गरी विद्युत प्राधिकरण, विद्युत आयोजना पक्ष र ठेकेदार पक्ष बीच सम्झौता भयो । पुनः २०१६ डिसेम्बरसम्म म्याद थप भयो ।
तर काम सुरु गर्ने तयारी गर्दागर्दै भुकम्प भयो । पुनः काम रोकियो, फेरि भारतीय नाकाबन्दी भयो । २०७२ सालभर न त प्रबद्र्धकले आफ्नो आयोजनाको काम सुरु गर्न सके न त प्रसारण लाइनको । खानी खोलाको प्रद्र्धदकले समेत अरालवीको नेपाली एजेन्ट बनेर काम सुरु गरेको ४ वर्ष विते तापनि काम पूरा हुन सकेको छैन ।
२ वर्षमा भुकम्प, नाकाबन्दी र वर्षात्ले काम गर्न नसके तापनि एक पटक म्याद थप गरे आफ्नै पहलमा तोकिएकै समयमा प्रसारण लाइन र सव स्टेशनको काम पूरा गर्ने बाचा गरेका थिए । आयोजनासँग २०१८ डिसेम्बरसम्म म्याद थप भए तापनि काम पूरा नभएको भन्दै पुनः ६ महिना म्याद थपिएको छ । आयोजना प्रमुख ढुङ्गेलले अब असारसम्म सिंगल सर्किटको तार तानिसक्ने बताए । यो प्रसारण लाइन डबल सर्किट हो ।
प्रसारण लाइन नहुँदाको असर
प्रसारण लाइन र सव स्टेशन नबन्दा दोलखाको उत्तरमा निर्माणाधिन आधा दर्जन जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्न सकेका छैनन् । त्यसबाट राज्यलाई १५० मेगावाट विद्युत थपिन सकेको छैन भने प्रबद्र्धकहरुले वर्षेनी अरबौंको विद्युत उत्पादन गर्न सकेका छैनन् भने निर्माणाधिन आयोजनाको लागत समेत बढ्दै गएको छ ।
प्रसारण लाइन र सव स्टेशनकै कारण ४ वर्षदेखि १० मेगावाटको सिप्रिङ खोलाबाट उत्पादित विद्युत खेर गइरहेको छ । सिप्रिङको विद्युत केही माथिल्लो तामाकोसीले प्रयोग गरे तापनि अन्य विद्युत वर्षात्मा खेर जान्छ । प्रसारण लाइन समयमा पूरा नभए ४० मेगावाट क्षमताको माथिल्लो खानी खोला ३ वर्ष अघि नै पूरा हुनु पर्ने भए तापनि अहिलेसम्म पूरा गर्न सकेका छैनन ।

Shares

Be the first to comment on "२ वर्षमा पूरा गर्ने प्रसारण लाइन ८ वर्षसम्म अधुरै"

Leave a comment

Your email address will not be published.


*