२ वर्षमा दोलखा पत्रकार महासंघ

जीवन लामा
नेपाल पत्रकार महासंघ पत्रकारहरुको स्वतन्त्र छाता संगठन हो । दोलखा जिल्ला शाखामा एक सय ४६ जना पत्रकारहरु आवद्ध छन् । दोलखाका पत्रकारहरु स्थानीय सञ्चारमाध्यममा मात्र होईन राष्ट्रियस्तरका मिडियामा समेत क्रियाशिल छन् । जिल्लाका तीन दर्जनभन्दा बढी पत्रकारहरु व्यावसायिक रुपमा पत्रकारितामा जमेको देखिन्छ ।
मैले पत्रकारिता सुरु गरेको लगभग १३ वर्ष पूरा भयो । २०६४ सालमा नेपाल पत्रकार महासंघको सदस्यता लिएको थिए । त्यसअघिनै अञ्जुली द्वैमासिक पत्रिकामा संवाददाताको रुपमा काम गर्थे । त्यसपछि २०६३ सालदेखि कालिञ्चोक सन्देश साप्ताहिकमा कार्यकारी सम्पादकको रुपमा कार्यरत रहे । २०६४ सालदेखि निरन्तर कालिञ्चोक एफएममा कार्यरत छु । मैले यसरी आफ्नो परिचय दिईराख्न त्यत्ति मन थिएन तर बाध्यता । यसलाई अन्यथा बुझ्नुहुन्न भन्ने लाग्छ ।
अब, सन्दर्भ महासंघको जोड्न चाहन्छु । २०५३ सालमा सदस्यता संख्या नपुगेर दोलखा र रामेछापको संयुक्त रुपमा महासंघ शाखा स्थापना भएको थियो । त्यस समयमा संस्थापक सभापति स्वर्गीय देवदास श्रेष्ठको सभापतित्वमा दोलखा र रामेछापको शाखा स्थापना भएको थियो । महासंघ दोलखाको संस्थापकहरु को को हुन भनि नाम मात्र उल्लेख गर्दा विवाद उब्जेला जस्तो लाग्छ, त्यसैले कुनै समय दस्तावेजसहित प्रकाशन गर्ने इच्छा लिएको छु ।
२०६४ सालमा राजेन्द्र मानन्धरको कार्यकालमा म सचिव थिए । निरन्तर दुई कार्यकाल सचिव र २०७० मा भने उद्धवप्रसाद पोखरेलको कार्यकालमा उपाध्यक्षको रुपमा कार्यरत रहे महासंघमा । २०७३ फागुन १८ गते आठौ जिल्ला अधिवेशनले मेरै अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति गठन भयो । केही महिना त जिल्ला अधिवेशनको ऋण तिर्ननै समय लाग्यो । किन कि छोटो समय र विभिन्न बाध्यात्मक अवस्थाले अधिवेशन सम्पन्न गर्नेतर्फ मात्र सबैको ध्यान गएको थियो । जसले गर्दा अधिवेशन रकम संकलन गर्ने समयनै भएन । त्यसपछि एक वर्षको कार्यकालमा के के भयो र के हुन सकेन भन्ने समीक्षा र सार्वजनिक गर्न उपयुक्त लाग्यो । यसअवधिमा मैले के के न गरे जस्तो खोक्न आवश्यक छ छैन दोस्रो कुरा हो तर बोल्नेको पीठो बिक्ने, नबोल्नेको चामल नबिक्ने जमना छ । मान्छे सबैको आआफ्नो स्वभाव हुन्छ । कोही तीललाई पहाड बनाउन पनि सक्छन । कोही गरेका कामलाई बयान गर्न चाहदैनन् । बुँदागत रुपमा केही उपलब्धि र कमीकमजोरीलाई प्रस्तुत गर्न चाहन्छु ।
कार्यालय व्यवस्थापनः ४०÷४५ जनासम्म अट्ने हल र कार्यालय व्यवस्थापन भएको छ । कार्यालय नियमित रुपमा सञ्चालनमा रहेको छ । हल २०६७ सालमा नेपाल पत्रकार महासंघले प्रदर्शन गरेको फोटोहरुले सजिएको छ । कार्यालयलाई चाहिने विद्युतीय सामग्री लगायत अन्य आवश्यक फर्निचरको व्यवस्था भएको छ । अहिले सानातिना कार्यक्रम गर्न होटल खोज्नुपर्दैन । महासंघका र पत्रकारसँग सम्बन्धित अन्य संघसंस्थाको गतिविधि गर्न सजिलो भएको छ । २०७२ को भूकम्प र ६१ दिनसम्मको तालाबन्दीले महासंघको कार्यालय नियमित सञ्चालन र व्यवस्थापनमा समस्या आएको थियो । जसले गर्दा महासंघको महत्वपूर्ण कागजात व्यवस्थापनका साथै नियमित कार्यालय सञ्चालनमा कठिनाई भएको थियो ।
हेल्पडेक्सः जिल्ला प्रशासन कार्यालय दोलखामा हेल्पडेक्स नियमित सञ्चालनमा छ । अहिले मासिक रुपमा १५÷१६ हजार रकम संकलन हुने गर्छ । यसअघि विभिन्न कारणले गर्दा बन्द रहने र फोटोकपि पेपरको समेत पैसा तिर्न नपुग्ने अवस्था थियो उक्त हेल्प डेक्स ।
पुरस्कार स्थापनाः जिल्ला समन्वय समिति (तत्कालीन जिल्ला विकास समिति) दोलखाको सहयोगमा पहिलो पटक दुई लाख पुरस्कार कोष स्थापना भएको छ । पहिलो पटकनै लाग्छ कार्यविधि समेत तयार पारी वर्षमा एक जना विकास सम्बन्धि कलम चलाउने पत्रकारलाई ब्याजको रकमबाट पुरस्कार दिईने छ । कृषि विकास बैंकमा सो रकम जम्मा गरिएको छ । साथै गणतन्त्र दिवस अर्थात नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाले हरेक जेठ १५ गते मनाउदै आएको गणतान्त्रिक वनभोज कार्यक्रममा सांसद पशुपति चौलागाईले गणतान्त्रिक पत्रकारिता पुरस्कारको लागि रु.एक लाख दिनुभएको रकम विविध कारणले ५० हजार मात्र भएको र अहिले सो रकम नविल बैंकमा जम्मा गरिएको छ र वार्षिक रुपमा १० हजार दिईने घोषणा सहित गतवर्षदेखि मात्र पुरस्कार वितरण गर्न थालिएको छ । अन्य पुरस्कारहरु पनि व्यवस्थित ढंगले वितरण गर्नको लागि कार्यविधिहरु तयार हुँदैछ ।
विषयगत तालिमः उद्देश्य मिल्ने विभिन्न निकायहरुसँग सहकार्य गरी विषयगत तालिमहरु गर्न सफल भएको छ । जिल्ला समन्वय समितिसँगको सहकार्यमा अनलाईन पत्रकारिता तालिम, गौरीशंकर संरक्षण क्षेत्रसँगको सहकार्यमा गैह्रकानुनी वन्यजन्तु व्यापार नियन्त्रणको लागि नियम कानुन र सूचना विभागको आयोजनामा प्रमुख कानुन र आचार संहिताको बारेमा तालिमहरु सम्पन्न भएको छ । यसबाट पत्रकारहरुको क्षमताअभिवृद्धि र महासंघको आर्थिक, सहकार्य रुपमा विकास भएको ठहर छ ।
भवन निर्माणः सबैको चासोको विषय महासंघको भवननै हो । वर्षौदेखि भवन निर्माण गर्ने लक्ष्य लिए तापनि निर्माण हुन सकेको थिएन । सूचना केन्द्रसहितको अत्याधुनिक भवन निर्माण गर्ने लक्ष्य राजेन्द्र मानन्धरको कार्यकालमै भएको थियो । समाजसेवी, पत्रकार, विभिन्न संघसंस्थाहरुबाट समेत आर्थिक सहयोग संकलन भएको थियो । तर, विभिन्न कारणले निर्माण कार्य अगाडि बढ्न सकेन । अहिले महासंघले सबै कागजी प्रक्रिया पूरा गरी निर्माण कार्य अगाडि बढाएको छ । महासंघले विभिन्न कार्यक्रमको केही प्रतिशत जोगाएर रकम संकलन गरी भवन निर्माणको खातामा जम्मा गरेको छ । यस अवधिमा भीमेश्वर नगरपालिका, तामाकोशी गाउँपालिका, वैत्यश्वर गाउँपालिका, शैलुङ गाउँपालिका र विगु गाउँपालिकाबाट सहयोग प्राप्त भईसकेको छ । अहिलेसम्म भवन निर्माण कार्य अगाडि बढेको छ । केही महिनाभित्रमा निर्माण कार्य सम्पन्न हुनेछ । एकतले ढलन हुने कार्य निरन्तर अगाडि बढिरहेको छ । यस्तो खबर सुनाउन पाउँदा खुशी लागेको छ । यो सबै पत्रकार र दोलखाबासीको खुशीको क्षण पनि हो । छिमेकी सबै शाखाहरुको आफ्नै भवन स्थापना गरिसकेका छन् । हामीले पटक पटक कुरा मात्र गर्यौ । अब पक्कै ती सपना पूरा हुनेछ । हुन त भवन निर्माण खातामा २१ लाख ३२ हजार चार सय ५७ रुपैयाँ मात्र थियो र त्यही रकमबाट सुरुवात गरेको हो ।सहयोग सबैबाट जुट्ने छ भन्ने आँट र आश छ ।
बाँकी १ वर्षमाः बाँकी समयमा महासंघ दोलखाको विकासमा केही परिवर्तन आउने छ भन्ने आशा लिएको छ । २ वर्षे समयमा महासंघलाई सिष्टममा ल्याउनै केही समय लाग्यो । अब सिष्टममा बसिसकेको जस्तो लाग्छ । अबको दिनमा १ तले भवन निर्माण कार्य सम्पन्न हुनेछ । पत्रकार कल्याणकारी कोषको चाँडैनै साधारणसभा सम्पन्न गरी १० लाख पूरा गरिने छ । अहिलेसम्म साँढे तिन लाखभन्दा बढी छैन । दोलखा सञ्चार सहकारीको साधारणसभाले नयाँ कार्यसमिति चयन भएको छ । तर सोचेजस्तो काम हुन सकेको छैन । दुई वर्षे अवधिमा सहकारी पत्रकारहरुको पहिलो रोजाई हुनेछ र पत्रकारहरुको सबै कारोबार सहकारीबाट गर्ने वातावरण निर्माण गरिनेछ । सबै गाउँपालिका, नगरपालिकासँग सहकार्य गरी महासंघ कार्यसमितिको बैठक स्थानीय तहमा हुनेछ । ग्रामीण समुदायको विकासमा सञ्चारमाध्यमको भूमिका सँगसँगै हुनेछ । सबै सञ्चारमाध्यमको संस्थागत विकास र पत्रकारहरुको क्षमता विकासमा महासंघले नयाँ पहल गरिनेछ । पत्रकारहरुको संख्या र प्रचारमा होईन, क्षमता र सीपमा विश्वास, विकास हुने वातावरण यस अवधिमा हुने छ । (लामा नेपाल पत्रकार महासंघ दोलखाको अध्यक्ष हुन्)

Shares

Be the first to comment on "२ वर्षमा दोलखा पत्रकार महासंघ"

Leave a comment

Your email address will not be published.


*