१० दिनमै उठ्यो, दोलखाबाट मागभन्दा बढी आवेदन

दोलखा, –अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको लागि दोलखाबासीबाट १० दिनमै मागभन्दा बढी आवेदन परेको छ । दोलखाबासीलाई अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले माथिल्लो तामाकोसी जलविद्युत आयोजना प्रभावितका लागि ११ दिनदेखि सेयर संकलन सुरु भएको छ । १० दिनमै १ अर्ब ३८ करोड ८६ हजार रुपैंयाको सेयर संकलन भएको हो ।
लामो प्रतिक्षा र बहसपछि १ अर्ब ५ करोड ९० लाख बराबरको सेयर संकलन दोलखा र काठमाडौंबाट सुरु भएको छ । दोलखाका २६ र काठमाडौंका ११ वटा संकलन केन्द्रबाट सेयर संकलन जारी छ । तर सबैभन्दा बढी काठमाडौंबाट सेयरमा आवेदन परेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार शुक्रबारसम्म ६६ हजार ५ सय जनाले आवेदन दिएका छन् । त्यसमध्ये दोलखाका २६ संकलन केन्द्रमा ६ हजार ५ सय जनाले ११ करोड ७२ लाख बराबरको आवेदन गरेका छन् । बाँकी आवेदन काठमाडौंबाटै परेको हो । काठमाडौंका ११ वटा संकलन केन्द्रबाट १० दिनमा ६० हजार आवेदकहरुबाट १ अर्ब २७ करोड बराबरको सेयरमा आवेदन परेको छ । काठमाडौंमा सनराइज बैंकका ११ वटा शाखालाई संकलन केन्द्रको जिम्मेवारी दिएको छ ।
काठमाडौंमा १० दिनका समय तोकेपछि आवेदकहरु बढेकोभन्दै आइतबारदेखि ७ दिनको म्याद थप गरेको छ । तर काठमाडौंमा पछिल्ला दिनमा आवेदन घट्दै गएको छ । आयोजनाका प्रवक्ता डा. न्यौपानेका अनुसार विहीबार १४ हजार आवेदन परेकोमा शुक्रबार ४ हजार मात्र आवेदन परेको छ ।
सेयरमा आवेदन दिनेको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । दोलखामा भने भदौ १४ गतेसम्म सेयर संकलन हुन्छ । काठमाडौंमा आवेदक घट्दै गएपछि दोलखाका संकलन केन्द्रहरुमा भने आइतबारबाट स्थानीयको भीड लागेको छ । महालक्ष्मी विकास बैंक चरिकोटका प्रबन्धक विश्वास पाण्डेले आइतबार अघिल्लो हप्ताका दिनहरुमा भन्दा दोब्बर बढी आवेदन परेको बताए ।
दोलखामा भने स्थानीय जनप्रतिनिधिहरुले बैंकसँगको समन्वयमा स्थानीयस्तरमै सेयर भर्ने व्यवस्था गरेका छन् । धेरै आवेदन फाराम गाउँ गए तापनि भरेर बैंकमा भदौ लागेपछि मात्र फर्कने अनुमान छ । गाउँ गाउँबाटै सेयर भर्ने व्यवस्था भएपछि ति फाराम भदौ लागेपछि मात्र बैंकमा आउने अनुमान पाण्डेको छ ।
सेयर आवेदनका लागि बैंकमा स्थानीयको भीड लागेपछि संकलन केन्द्र आसपासका बजारको होटल व्यापार समेत बढेको छ । त्यसैगरी फोटोकपी र फोटो स्टुडियोमा समेत भीड देखिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ जेठ १२ मा जारी भएर नयाँ व्यवस्था भए तापनि अप्पर तामाकोसीमा स्थानीयलाई भने पुरानै प्रणाली अनुसार सेयर आवेदनको व्यवस्था गरेको छ । यसले सेयर आवेदनका लागि नागरिकता, बच्चाको हकमा जन्म दर्ताको फोटोकपी र फोटो अनिवार्य छ ।
अहिलेसम्म आवेदन गर्नेहरु अधिकाँशले अधिकतम सिमा ३० हजार बराबरकै सेयरमा आवेदन गरेका छन् । ३० हजारको आवेदन गर्नेहरु पनि काठमाडौंमा बसोबास गर्नेहरु नै बढी देखिन्छ । आयोजनाका प्रवक्ता. डा. न्यौपानेले अहिलेको आवेदन औसतमा २२ हजार प्रतिव्यक्ति परेको बताए । यही अनुपातमा आवेदन भए यही साता नै माग बराबरको आवेदन पर्ने अनुमान गरे । अहिलेसम्म जिल्लामा डेढ लाख बढी फाराम वितरण भएको छ ।
अप्पर तामाकोसीको सेयर जलविद्युत आयोजनाको अहिलेसम्मको सबैभन्दा ठूलो सेयर हो । सरकारले समेत यसलाई उच्च प्राथमिकता दिंदै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन स्वयम् दोलखा आएर संकलनको सुभारम्भ गरेका छन् । स्थानीयका लागि वितरण भएको सेयरमा यो नै सबैभन्दा बढी विक्री हुने अनुमान छ ।

Shares

Be the first to comment on "१० दिनमै उठ्यो, दोलखाबाट मागभन्दा बढी आवेदन"

Leave a comment

Your email address will not be published.


*