१०० जना मृतकका अवशेष अन्तरिक्षमा पठाइने !

एजेन्सी । ३६ वर्षीय जेम्स एबर्लिङले २०१६ नोभेम्बरमा मृत्यु हुनुअघि आमाबाबुलाई आफ्नो अन्तिम इच्छा सुनाउँदै दाहसंस्कारपछि आफ्नो अवशेष अन्तरिक्षमा पठाउन अनुरोध गरेका थिए । अहिले उनीसँगै थप १०० मृतकहरुका अवशेष पनि स्मारक स्याटलाइटमा राखेर लन्च गरिने भएको सीएनएनले जनाएको छ । स्यानफ्रयान्सिस्को स्थित एलिसियम स्पेसका अनुसार परिवारहरुले यसका लागि प्रतिव्यक्ति २५०० डलर तिरेका हुन् ।

यसरी वरिष्ठ सैन्य अधिकारी लगायत अन्तरिक्ष र एरोस्पेसमा रुची राख्ने व्यक्तिहरुको अवशेष स्पेसएक्सको फेल्कन रकेट मार्फत पृथ्वी बाहिर पठाउन लागिएको हो । सबै खरानीलाई नाम सहितको ४ इन्चका स्याटलाइटमा राखि लन्च गरिने बताइएको छ । परिवारहरुले सो स्याटलाईटलाई अन्तरिक्षसम्म उडान भर्दै गर्दा वास्तविक समयमै ट्रयाक गर्न सक्नेछन् । यसरी यो स्याटलाइट पृथ्वीमा खस्नुअघि चार वर्षसम्म अन्तरिक्षमा घुमिरहने छ जसबारे परिवारहरुले एउटा एपमार्फत जानकारी पाइरहनेछन् ।

स्पेसफ्लाइटले आयोजना गरेको ‘राइडशेयर मिसन’ अन्तर्गत कम्पनीले स्कुलदेखि व्यवसायिक, सरकारी वा अन्तर्राष्ट्रिय संघसंस्थाका ग्राहक समेतलाई सेवा प्रदान गर्न सो रकेट खरिद गरेको थियो । जसमा ३४ भिन्दाभिन्दै संस्थाहरुले ६४ वटा साना स्याटलाइट बाहिर पठाउने बताइएको छ । सोमबारको कार्यक्रम भने दुई वर्ष अगाडि नै तय गरिएपनि अहिले मात्र यसको तयारी पूरा भइ लन्च गरिने भएको हो ।

यसरी मानिसको अवशेष पृथ्वी बाहिर पुर्याइएको यो पहिलोपटक भने होइन । १९९८ मा पनि नासाले अन्तरिक्षयात्री युजिन सुमेकरको अवशेष चन्द्रमासम्म पुर्याएको थियो र अझैपनि उनको अवशेष चन्द्रमाको सतहमै रहेको बताइन्छ ।  यसका साथै स्टार ट्रेकका अभिनेता जेम्स दुहानको अवशेष पनि एलिसियम कम्पनीको यस्तै मिसनमार्फत अन्य ३२० अवशेषसँगै अन्तरिक्षसम्म पुर्याएको थियो ।

Shares

Be the first to comment on "१०० जना मृतकका अवशेष अन्तरिक्षमा पठाइने !"

Leave a comment

Your email address will not be published.


*