होलीमा ढिलो बाइक गुडाउनेलाई १० हजार

दोलखा : कुनैपनि प्रतियोगितामा सामन्यत छिटो गन्तव्यमा पुग्नेले जित हासिल गर्छन्। तर दोलखामा अनौठो प्रतियोगिता आयोजना गरिएको छ। निर्धारित नियम पालना गरेर गन्तव्यमा ढिलो पुग्नेलाई विजयी घोषणा गरिन्छ, पुरस्कार प्रदान गरिन्छ। चैत ६ गते बुधबार सरल नेपाल नामक गैरसरकारी संस्थाले सदरमुकाम चरिकोटमा आयोजना गरेको होलीको एक प्रतियोगितामा गन्तव्यमा ढिला पुग्नेलाई विजेता घोषणा गरियो।  प्रतियोगितामा ढिलो बाइक गुडाउन ३६ जनाले सहभागिता जनाए। प्रतियोगिताका लागि सदरमुकामको बीचबजारमा सय मिटर लम्बाईको ट्रयाक निर्माण गरिएको थियो। ट्रयाकमा दायाँबायाँ नछोई, गोडाले भुईँमा नटेकी, स्टार्ट बन्द नगरी गन्तव्यमा ढिला पुग्नु पर्ने नियम राखिएको सरल नेपालका अध्यक्ष सौगात थापाले जानकारी दिए। केही फरक र नयाँ सन्देश दिन उल्टो जस्तो देखिने प्रतियोगिताको गरेको अध्यक्ष थापाले बताए। निर्धारित नियम पूरा गरि प्रतियोगितामा सबैभन्दा ढिला अन्तिम विन्दु पार गरेर पारस श्रेष्ठ प्रथम भए। उनले नगद १० हजार प्राप्त गरे। त्यसैगरी कम ढिला पुग्ने अशोक तामाङ दोस्रो भएर पाँचहजार प्राप्त गरे। उज्ज्वल श्रेष्ठ तेस्रो भएर तीनहजार प्राप्त गरे। सबैभन्दा पहिला अन्तिम विन्दुमा पुग्ने कैलाश नेपालीले सान्त्वना स्थान हासिल गरेर दुई हजार पुरस्कार प्राप्त गरे।

 

Shares

Be the first to comment on "होलीमा ढिलो बाइक गुडाउनेलाई १० हजार"

Leave a comment

Your email address will not be published.


*