हिउँले श्रृङ्गारियो दाेलखा

ईश्वर बिश्वकर्मा
चरिकोट, माघ २२
शनिबार, बिदाको दिन । फुर्सदको बेला । यो दिन अधिकांश मानिस साता भरीको कामपछिको थकान मेट्न घुमफिरमा निस्कन्छन् । अरुबेला सुनसान प्रायः हुने नदी, खोला क्षेत्र, झरना, ताल, गुफा तथा पार्क, मन्दिर, गुम्बा लगायत धार्मिक तथा पर्यटकीय स्थलमा बिदाको दिन भने आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने गर्दछ । अरुबेलाको तुलनामा अहिले भने हिमाली जिल्ला दोलखामा पर्यटकको संख्या बढेको छ । त्यसको एउटै प्रमुख कारण हो हिमपात । यतिबेला गएको वर्षमा जस्तै कालिञ्चोक, शैलुङ, चेर्दुङ, खावा, खरीढुङ्गा लगायतका क्षेत्र मुसलेधार बर्षासँगै भारी हिमपात पछि सेताम्ये र सुन्दर देखिएको छ । ती क्षेत्रमा हिउँको सुन्दर दृष्य र स्पर्शमा रमाउन पर्यटक लालयित हुन्छन् । हिजो शनिबार भीमेश्वर नगरपालिका वडा नं. ९ स्थित खरिढुङ्गामा हिउँसँग मित्रताको साइनो गाँस्दै, हाँस्दै, नाच्दै रमाउने धेरैजना देखिए । कोरोनाको महामारी र चिसोको प्रवाह नगरी रमाउने भेटिए । भीमेश्वर नगरपालिका ७ उखुबारीका राजकुमार भुजेलले हिउँ परेपछिको सेताम्ये निर्माणाधीन फिल्मसिटी स्थल खरिढुंगा क्षेत्रमा पुग्ने सोच शनिबार बिहानै बनाउनुभयो । सो सोच बारे आफ्ना साथीहरूलाई पनि सुनाएपछि साथीहरू पनि उत्साहित हुँदै सहमत हुनुभयो । उहाँले टोपी, पञ्जा किन्नुभयो । त्यति मात्र किन्नुभएन, उहाँले नेपालको राष्ट्रिय झन्डा पनि किन्नुभयो । उहाँका साथीहरू सूर्य घतानी, प्रकाश दियाली, नारायण घतानी सहित पाँच जनाको समूह ११ बजे चरिकोटको सातदोबाटो भेला हुनुभयो । अनि केही समयपछि देशको राजधानी काठमाडौँ तर्फ जाने सार्वजनिक गाडी चढी गन्तव्य स्थल खरिढुङ्गाकाे यात्रामा निस्किनुभयो । करिब दुई दुईघण्टाको सुन्दर दृश्य हेर्दै रमाइलो यात्रा पछि खरीढुङ्गा पुग्नुभयो । त्यहाँ गाडीबाट ओर्लने बित्तिकै राजकुमारसँगै उहाँका साथीहरू मुखारविन्दबाट सुरुमा ”आच्छु छु“ शब्दसँगै पछि ”वाउ“ शब्द गुन्जनमा बाहिरियो । उहाँहरु हिउँमा चिप्लेटी खेल्दै फोटो खिच्दै, टिकटक बनाउँदै रमाउनुभयो । हिउँको शरीर भएको मानव आकृतिको मुर्ति बनाउनुभयो । टोपी र चस्मा लगाइदिएपछि त हिउँमान्छे साँच्चै ‘हेन्डसम’ र ‘स्मार्ट’ देखियो ।

राजकुमारले भने पृष्ठभूमिमा हिउँको दृश्यसहित राष्ट्रिय झन्डा फहराउँदै राष्ट्रिय गीतमा देशलाई आधिक्य माया रहेको सन्देशसहित टिकटक भिडीओ बनाउनुभयो । उहाँहरु दुई घण्टा बढी खरिढुङ्गाकाे रमाइलोमा भुल्नुभयो । राजकुमारले भन्नुभयो ”अलग्गै स्थलमा पुगेजस्तो अलौकिक !, काल्पनिक स्वर्गले मुर्त रुप पाएजस्तो, कति सुन्दर आहा !“ उहाँले अझै थप्नुभयो ”स्वर्ग कहाँ छ भनेर कसैले सोधेमा भनिदिनु, स्वर्ग त दोलखामा छ ! यो स्वर्गमा जो कोही पनि सयर हुन सक्छन् त्यो पनि गाडी चढेर, एउटा मात्र होइन दोलखामा त सैयौँ स्वर्ग छ, ती स्वर्गमा सबैलाई निम्तो छ है ।“ उहाँ आइतबार आफन्त र अरु साथीसँग कालिञ्चोक भ्रमणमा निस्कनुभएको छ । साँच्चै चित्रमा देखेको र कल्पना गरेको सुन्दर चित्ताकर्षक स्वर्ग यही लोकमै रहेको भान धेरैलाई भइरहेको छ यो बेला ।
हिउँ छपक्कै काला पत्थर
पर्यटकीय खरीढुँगा क्षेत्रको अरसल्ल खरीढुँगा सेतो देखिनुपर्ने भएपनि कालो भएर काला पत्थर सरी देखिन थालेको थियो । ढुँगा नभएका ठाउँमा माटाका ढिस्का तथा डाँडापाखा, चौरहरु खैरो, धुस्रो फुस्रो र कालो भएको थियो । तर अहिले हिउँले छोपेपछि पूरै भागहरु सेताम्ये भएर पाहुनालाई स्वागतमा प्रकटित भएको छ । हिउँ छपक्क मिलेर बसेपछि घरका छानाहरुले चुल्है निम्तो दिइरहेको छ । शिवपोखरीमा हिउँ पानीमैँ हिउँ जमेको छ । सोही पोखरीको बीचमा उभिएको शिव मन्दिरले शिव भगवानसँगको समीपमा स्तुति र दर्शन गर्न भनिरहेछ । पृष्टभूमीमा गौरीशंकर हिमालले मुस्कुराएर मुस्कान सहितको सेवा दिइरहेको छ । रुखहरु हिउँले छोपेपछि निहुरिएर पाहुनाको सत्कार गर्न आँतुर भएर उभिएको छ । चिसो हावाले मायावी स्पर्श गर्न मन गरिहेको छ । मयुरले नाच देखाएझैँ प्रकृतिले यो बेला आफ्नो अनुपम सुन्दरता देखाएर नाचिरहेछ, मानिसलाई सँगै नचाइरहेको छ । सोह्र श्रृङ्गारले श्रृङ्गारिएकी बैँशालु युवती झैँ, बेहुली झैँ सुन्दर देखिएको छ पर्यावरण ।

हिउँले ‘सूर्य उदाएपछि विलन हुन्छु, त्यसैले चाँडै आउनुस्’, भनिरहेको छ । त्यही निमन्त्रणा स्वीकारी राजकुमारको टोली जस्तै धेरै टोली त्यहाँ पुगिर प्रकृतिको मिठासपूर्ण स्वादमा मनलाई प्रफुल्लित बनाइरहेका छन्। शनिबार स्थानीय सञ्चमाया श्रेष्ठ आफन्तसहित खरीढुङ्गामा रमाइरहेको भेटिनुभयो । उहाँले भन्नुभयो “चिसोको कुरै नगरौँ । कठ्याङ्ग्रिने चिसो छ । तर बाक्ला ज्याकेट, पञ्जा, टोपी, जुत्ता लगाएकालाई चिसोले खासै छुदैँन । हामी पनि आएका । साह्रै रमाइलो भएको छ । धन्यवाद छ प्रकृति । हामी मानिसलाई आनन्दित बनाइरहेको छ ।” उहाँले थप सुनाउनुभयो“ यहाँको चिसो हावाले मनलाई शितल बनाएको छ ।” मुडे हुँदै दोलखा प्रवेश गर्दा खरीढुँगाको समीपमा पुगिन्छ । यही क्षेत्रको बाटो हुँदै सवारीसाधन मार्फत काठमाडौँ लगायत अन्य जिल्लामा जान सकिन्छ । अहिले सवारी साधनमा आउजाउ गर्नेहरु एकछिन रोकिएर हिउँको मज्जा लिने गरेका छन् । यही क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी) निर्माण भईरहेको छ । यद्यपि निर्माणको काममा सुस्त गतिले चाँडै फिल्म सिटी देख्ने चाहनामा तुषारापात हुने भन्दै दोलखालीमा चिन्ता देखिन थालेको छ ।
पटकपटकको हिमपातले स्थानीयलाई सास्ती
टाढाका मानिसलाई खरीढुङ्गामा केही समय हिउँ खेल्दा मस्ती नै मस्ती छ । तर यहीँ घर भएका स्थानीयलाई भने हिउँले दिनहुँ सास्ती मात्र दिएको छ । स्थानीय नारायण श्रेष्ठले पटकपटक हिउँ पर्दा जनजीवन कष्टकर हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो“ यो वर्ष हिउँ परेको ३ पटक भयो । यो पटक भने दुई दिन अघि हिउँ परेको हो । यो पटक भने तीन फिट भन्दा बढी हिउँ परेको छ । यसले गर्दा हामीलाई त निकै सास्ती खेप्नुपरेको छ । हिउँले फाइदा भन्दा बेफाइदा धेरै गरेको छ ।” उहाँले भन्नुभयो“ घर बाहिरै निस्कन नसक्ने अवस्था छ । बृद्धबृद्धाबालबालिका, दीर्घ रोगीलाई झन कष्ट भएको छ । यस अघि स्वस्थ मान्छेहरु बिरामी पर्न थालेका छन् । हिउँका कारण पानी जमेको र पाइपमा अवरोध भएकोले पिउने पानी समेत पाउन कठिन भएको छ। बस्तुभाउलाइ घाँसपात गर्न समस्या भएकाे छ ” एक पसलेले अाँगनमा परेकाे हिउँ साेहाेर्दै चिसाेले दैनिकी नै बिथाेलिँदा समस्या भएकाे सुनाउनुभयाे ।

Shares

Be the first to comment on "हिउँले श्रृङ्गारियो दाेलखा"

Leave a comment

Your email address will not be published.


*