हामी औकात अनुसारका भ्रष्ट!

 

अर्जुन अपवाद

…नेतै भ्रष्ट भएर देश पछि परेको … बालुवाटारकै जग्गा त खाइदिए…यतिका कुरा त के गर्नु र! जुट मिल पनि सकेछन्। अरु देशमा त भ्रष्टचारीलाई मृत्युदण्ड छ यहाँ पनि हुनपर्ने… सिस्टम माने पो काम हुन्थ्यो… सार्वजनिक ठाउँमा यि कुरा नसुनिए अचम्म मान्न पर्ने अवस्था छ । हरेक सञ्चारमाध्यममा हुने बहस पनि भ्रष्टचारमै केन्द्रित छ । भ्रष्टचार नियन्त्रणमा सरकार शुन्य सहनसिलताको नीतिमा छ । अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र भ्रष्टचार रोक्न कम्मर कसेर लागेका छन् । नेपाल भने भ्रष्ट मुलुकको सुचिमा वर्षेनी किन अगाडि बढिरहेको छ ? यिनै प्रश्नहरुमा केन्द्रित यो आलेखको सुरुमा दुई प्रसङ्गः

प्रसङ्ग १

कार्यक्रमको विषय, भ्रष्टचार कसरी रोक्न सकिन्छ ? वक्ता, लामो समय कम्युनिष्ट राजनीतिका साथै वकालत पेशामा रहेका प्रोण प्रताप केसि । कार्यक्रमस्थल, दोलखा सदरमुकाम चरिकोट ।सहभागि, जिल्लाका विभिन्न पालिका घर भएका युवा जमात । अपेक्षा, भ्रष्टचार रोक्न युवाहरु लाग्नपर्‍यो भन्ने उत्प्रेरक(उत्तेजक) भाषण । त्यस्तो भएन । उनले सुरुमै भनिदिए हामी औकातअनुसारका भ्रष्टचारी हौं । सुन्नेहरुले मुखामुख गरे । उनले प्रसङ्ग जोडेर कुरा सुरु गरे ….घरमा एउटा ४ वर्षको बच्चालाई बजारमा सामान किन्न पठायो भने उसले उभ्रिएको पैसा फिर्ता गर्दैन । उसले त्यो पैसा लुकाउँछ र उसलाई मन लागेको सामान किन्छ । उसले त्यो भन्दा ठूलो मात्राको भ्रष्टचार गर्न सक्दैन । सकेकोमा गरिहाल्यो । हामी यहाँ उपस्थित धेरै पनि ठाउँ पाउँदा बेइमान गर्छौं । मन्त्रीले अलि ठूलो ठाउँ पाउँछ। उसले ठूलै भ्रष्टचार गर्छ । उपस्थितहरुले सहमत भएर हो वा असहमत भएर हो टाउको हल्लाए ।

 

प्रसङ्ग २

गाउँपालिका अध्यक्षको गाडीमा यात्रा गर्दै थियौं । एक स्थानीय पनि चढे । उनले एक वडाध्यक्षले विकास आयोजना उपभोक्ता समितिबाट अवैध रकम लिएको गुनासो गरे । मैले जवाफ फर्काएँ । पैसा तिर्न तयार हुनेले पनि कतै न कतै गल्ति गरेको होला । नत्र वडाध्यक्षले माग्दैमा के पैसा बुझाउँथ्यो । त्यसपछि सबैजना मौन रह्यौ । अलिकति अगाडि बढेपछि गुनासोवाला स्थानीय गाडिबाट उत्रिए । सम्भवत उनको घर त्यतै थियो होला । गाडि अलि अगाडि बढेपछि वडाध्यक्षकै कुरा निस्कियो । मैले मेरै कुरा दोहोर्‍याएँ । त्यसपछि अध्यक्षले आफ्नो भोगाइ सुनाउन सुरु गरे । भोगाइ यसप्रकार छ । अघिल्लो वर्ष गाउँपालिकाले गाउँमा भएका विकास निर्माणमा आफैंले एक समिति बनाएर नापजाँच सुरु गर्‍यो । नापजाँचमा जति परिमाणमा काम भएको छ त्यस बराबरको रकम मात्रै भुक्तानी गर्ने पालिकाको निर्णय थियो । कति काम गर्नुपर्ने थियो त्यत्ति काम भए नभएको पालिकाबाट खटिएको टोलीले नाप्न लाग्यो ।

उक्त नापजाँच पछि मात्र उपभोक्ता समितिले पैसा पाउने भयो । उनिहरुले विभिन्न योजना नापे । यस्तैमा उनिहरु एउटा सडकको नापजाँचमा पुगे । सडकमा ढुङ्गा विच्छ्याउने काम भैरहेको थियो । उनिहरुले सडक नाप्दा १ मिटरजति पुगेन । कामदार र समितिका मान्छेहरुले भने ‘हामी आफ्नैलाई चाहिने सडक हो । हामी २, ४ मिटर थपेरै काम गर्छौं ।’ पालिकाको टोलीले उनिहरुलाई पत्यायो । काम सम्पन्न भएको प्रतिवेदन तयार भयो । उपभोक्ता समितिले पुरै कामको पैसा पायो । पालिकाबाट निकासा दिइसकेपछि प्रतिनीधिहरु कार्यस्थलमा फर्किएनन् । महालेखा परिक्षक कार्यालयबाट लेखापरिक्षणका लागि टोली आयो । टोलीले केहि आयोजना सम्बन्धित फिल्डमा नै हेर्ने मनसाय व्यक्त गर्‍यो । गाउँपालिकाले त्यहि १ मिटर बाँकि भएको सडक देखाउन लगे । सडक नाप्न लागियो । सडक नाप्दा गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरु तीन छक्क परे । कारण सडक १ मिटर कम नै थियो ।  एक मिटर सडक अपुरै छोड्ने व्यक्तिहरु ठाउँ पाए भने नेतृत्वको उछितो काढ्न पछि पर्दैनन् । भ्रष्टता उनकै काममा आइसक्यो । यो अहिले गाउँगाउँमा सामान्य बन्दै गइरहेको छ । यसमा विरोध व्यक्त गर्नेले गर्न सके । नसक्नेले मनमै राखे । यस्तै यस्तै देखेर होला विष्लेशक सौरभ नेपाली समाजलाई जनता नै लुटेरा भएको समाज भन्छन् । लुटेरा समाजले अपराधीलाई नेता ठान्दछ ।  सबै समाजमा सबै मान्छे सहि हुन्नन् ।

गलत मानिसलाई तह लगाउन भनेरै नियम कानुनहरुको निर्माण गरिएको हुन्छ । कानुनका दृष्टिमा सबै समान हुन्छन् । राज्यले कुनै पनि आधारमा कानुनको कार्यान्वयन रोक्दैन ।कानुनी शासनको अवधारणा यसैकारण आएको हो । कानुनको प्रभावकारी कार्यान्वयन भने त्यसबेला मात्र हुन सक्छ जव कानुन उल्लंघनकर्ताको संख्या कानुन मान्नेहरुको भन्दा कम हुन जान्छ । तर अहिलेको अवस्था यस्तो हुन पुग्यो कि साँच्चीकै मैले घुस खाएको छैन भन्ने कर्मचारी औंलामा गन्न पुग्ने भैसकेको अवस्था छ । यो नेता राम्रो छ यसले नराम्रो गर्दैन भन्ने नेताहरुको संख्या कति होला ? हाम्रो समाजमा अनुकरण गर्न लायक व्यक्ति कति छन् ?

चारैतिर भ्रष्टता देखेर भोगेर हुर्केको बालकभविष्यमा असल कसरी हुन सक्छ ?उसले भविष्यका लागि साँच्ने सपना कस्तो होला ? देखिने कमाइबाट भातभान्सा चलाउनै मुस्किल हुने मानिसले पनि काठमाण्डौ वा अन्य महंगा शहरमा ४ तले घर ठड्यायो भने उ समाजको असल मान्छे भइहाल्छ। परिवारकाले भर्खर क्याम्पस जान लागेकालाई उसकै कथा सुनाउँछन् । त्यसमा लुकेको आशय भने उसकै जसरी प्रगति गर्न पर्‍यो भन्ने हुन्छ । उसले कसरी पैसा कमायो ? गलत काम पो गर्‍यो कि ? कसैले पनि प्रश्न उठाउँदैन । प्रश्न उठाउनेले पनि, आफूले कमाउन सकेन अनि अर्काको डाहा गर्छ भन्ने जवाफ पाइहाल्छ !

हरेक कुराका अन्तिम सिमाहरु हुन्छन् । त्यस सिमाभन्दा अगाडि जान ठाउँ हुँदैन । जव समाजमा अपराधलाई अधिकार ठान्न थालिन्छ त्यो भन्दा तल समाज जाने ठाउँ नै हुँदैन । अपराधमा जव जान्ने बुझ्नेले नै मौनता साँध्न थाल्दछ ।नेपाली समाजमा पनि भ्रष्टचार तथा आर्थिक अनियमिततालाई अधिकार मान्न थालिएको छ । त्यो भन्दा विग्रने ठाउँ अब के होला ? धेरै टाढा जानु भन्दा पनि भर्खरकै कुरा हेर्न पर्ला ।

नेपाल दिनानुदिन भ्रष्ट मुलुकतिरको यात्रामा दगुर्दो छ । अन्तराष्ट्रिय संस्थाहरुले पत्याउन नसक्ने अवस्था आइसकेको छ । अरु केहि नभएपनि कम्तीमा आश गर्ने ठाउँ त हुन पर्ने नै हो । त्यो पनि भएन । अहिलेको विडम्बना नै त्यहि हो । अन्तमा, कसै न कसैले त समाज बदल्न चाहनैपर्छ । चाहेर मात्र हुँदैन गम्भिर किसिमको आँट गर्नैपर्छ । राज्यका निकाय र नेतृत्वमा भरोषा भर्न सके समाज बिग्रिएर लिक मात्रै छोडेको हो । धेरै पर गएको छैन । जनतामा राज्यप्रतिको विश्वास दिलाउन सके हामी भ्रष्टताको दलदलबाट बाहिर अवस्य नै निस्कन्छौं । त्यसका लागि सबैले आफ्नो ठाउँमा सकेको प्रयास गर्नैपर्छ । नत्र नेतृत्वमात्रै हैन हामी पनि औकातअनुसारका भ्रष्ट हौं । हामीले अरुले गल्ती गरे भनेर रोइला गर्नुको साटो भ्रष्टतामा आफ्नो भाग खोजे हुन्छ ।

@apawaad

 

Shares

Be the first to comment on "हामी औकात अनुसारका भ्रष्ट!"

Leave a comment

Your email address will not be published.


*