हरिकीर्तन आविलाई नमुना बनाउने प्रतिबद्धता

दीक्षण समाचार
चरिकोट, पुस २६
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ७ फल्कुधनीमा अवस्थित हरिकीर्तन आधारभूत विद्यालयको १० औं वार्षिकोत्सव एवं अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।
वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहको बागमती प्रदेशका सांसद रचना खड्काले ब्यानर वाचन गरी उद्घाटन गर्नुभयाे । सो अवसरमा उहाँले विद्यालयको शैक्षिक गुणस्तर कायम राख्न विद्यार्थी, शिक्षक, व्यवस्थापन समिति र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुहुँदै चार वटै पक्षले आ–आफ्नो तर्फबाट काम गर्नुपर्ने सुनाउनुभयो । व्यक्ति अब्बल र क्षमतावान जनशक्ति बन्न विद्यार्थी उमेरदेखि नै लगनशील र अध्ययनशील हुन जरुरी रहेको उहाँले बताउनुभयो । विद्यालयको शैक्षिक प्रगतिको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै खड्काले शैक्षिक सुधारका लागि प्राथमिकता दिइनुपर्ने बताउनुभयो । उहाँको तर्क किताबी मात्र होइन, युग सुहाउँदो व्यवहारिक र नैतिक शिक्षा प्रदान गरिनुपर्ने पर्छ भन्ने थियो । जात, धर्म, लिङ्ग र पेशाका आधारमा कोही पनि ठूलो सानो हुँदैन भन्ने मानसिकता विकास गराउन शिक्षकको महत्वपूर्ण भूमिका रहने भएकोले सोही अनुरूपको अध्यापन हुनुपर्ने उहाँले बताउनुभयो । सामुदायिक विद्यालयको शिक्षा निशुल्क भएपनि त्यसमा सरकारको लगानी रहने हुनाले विद्यार्थीले प्रतिफल प्राप्त हुनेगरि अध्ययन आवश्यक रहेको बताउनुभयो । 

 वि.सं २०७२ सालअघि हरिकीर्तन आवि नमुना विद्यालयको रुपमा अगाडि बढिरहेको थियो । तर ७२ सालको विनाशकारी महाभूकम्पले विद्यालयको भवनमा क्षति पुग्यो । त्यसले गर्दा नमुना विद्यालय कार्यक्रम प्रभावित बनेको थियो । पुनः अहिले तीन वटा पक्की नयाँ भवन ठडिएका छन् । खानेपानी तथा शौचालयको व्यवस्था राम्रो छ । विद्यालयमा घेराबार लगाउनुका साथै प्रवेशद्वार निर्माण, आइसिटी ल्याब निर्माण गर्ने पक्रिय सुरु भएको छ । भौतिक पूर्वाधारमा विद्यालयमा मजबुत बनेको छ । अब विद्यालयमा विद्यार्थीको संख्या बढाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकेमा पुनः नमुना विद्यालयको रुपमा स्थापित गराउन सकिने प्रधानाध्यापक हरिहर दाहालले बताउनुभयो । विद्यालयलाई नमुना बनाउनको लागि सबैको सहयोग आवश्यकता रहेको सुनाउनुभयो । समारोहमा उहाँले ७८ लाख ५२ हजार बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । समारोहमा विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू भीम प्रसाद सुवेदी, गोपाल सुवेदी, दुर्गाप्रसाद सुवेदी, पूर्व सदस्यहरू उद्धव प्रसाद सुवेदी, हिमाल सुवेदी लगायतलाई सम्मान गरिएको थियो । विद्यालयको आजेका बैठकले पुनः अर्जुन सुवेदीको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको छ । त्यसको पूर्णता दिन मंगलबार बैठक बस्छ । आजको बैठकमा विद्यालयलाई नमुना विद्यालयकै रुपमा फर्काउने प्रतिबद्धता गरिएको छ ।

तस्बिर ः सुशिल खड्का 

Shares

Be the first to comment on " हरिकीर्तन आविलाई नमुना बनाउने प्रतिबद्धता"

Leave a comment

Your email address will not be published.


*