स्थानीय तह उपनिर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौँ,  : निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने स्थानीय तहको उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगकाअनुसार त्यसका लागि मङ्सिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ भने सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मङ्सिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ । सोही दिनको दिउँसो ३ बजे उपरान्त मङ्सिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । मङ्सिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । आयोगले मतदान सुरु हुनुभन्दा अठ्चालिस घण्टा अगाडि अर्थात् मङ्सिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागू हुने जानकारीसमेत सबैलाई गराएको छ । (रासस)

Shares

Be the first to comment on "स्थानीय तह उपनिर्वाचन कार्यक्रम सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*