स्थानीय तहमध्ये पहिलो आपतकालिन योजना बनाउँदै भीमेश्वर

विनोद शर्मा, दोलखा, साउन १९–भीमेश्वर नगरपालिकाले आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न लागेको छ । जिल्लास्तरको आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण भए पनि स्थानीय तहले बनाउन लागेको यो पहिलो योजना हो । योजना निर्माणका लागि नगरपालिकाको आयोजनामा दुई दिने परामर्श कार्यशाला समेत सकिएको छ ।
भीमेश्वरले बनाउन लागेको आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना ७५३ वटै स्थानीय तहका लागि मार्गदर्शक बन्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषिराज आचार्यले बताए । ‘जिल्लास्तरमा योजना बनेर कार्यान्वयनको चरणमा भए पनि दोलखाको भीमेश्वरले बनाउन लागेको आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना देशकै लागि नमुना योजना बन्छ ।’ उपसचिव आचार्यले भने, ‘मन्त्रालयले पनि स्थानीय स्तरमा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजनाको आवश्यकता महशुस गरेकोले भीमेश्वरले बनाएको योजनाले अरु ७५२ स्थानीय तहलाई मार्गदर्शन गर्छ । मन्त्रालयले पनि भीमेश्वरको सिकाइका आधारमा अन्य स्थानीय तहलाई नमुना योजना उपलब्ध गराउने सोचेको छ ।’
स्थानीय तहको आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले मन्त्रालय स्तरदेखि समन्वय गरिरहेको र तत्काल भीमेश्वर नगरपालिकाको योजना बनाउन सहजिकरण गरेको उपसचिव ऋषिराज आचार्यको भनाई छ । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले भीमेश्वर नगरपालिकाको अगुवाईमा दोलखाका ९ वटै स्थानीय तहको आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना बन्ने बताए । ‘नगरपालिकाले पनि आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउनु भनेको विपद व्यवस्थापनको काम समुदायस्तरसम्म पुग्नु हो । सदरमुकाममा रहेको भीमेश्वर नगरपालिकाको योजना बनिसकेपछि समन्वय समितिले जिल्लाका अरु ८ वटै स्थानीय तहको आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउनका लागि समन्वय गर्छ ।’ पाण्डेले भने, ‘जिल्लाको जिरी नगरपालिका सहितका ७ गाउँपालिकाको आपतकालिन योजना र क्षमता विकासका लागि काम गर्दै सिङ्गो जिल्लालाई नैं विपद व्यवस्थापनमा सक्षम बनाउनका लागि भीमेश्वरले अगुवाई गरेको छ ।’
स्थानीय स्तरको आपलकालिन योजना निर्माण तथा कार्यान्वयनका लागि अगुवाई गर्न पाएकोमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले खुसी व्यक्त गरे । ‘दिगो विकास लक्ष्य, सेन्डाई कार्यढाँचा, राष्ट्रिय विपद व्यवस्थापन रणनीति, विपद व्यवस्थापन ऐन, नगरस्तरीय विपद व्यवस्थापन ऐन, रणनीतिक कार्ययोजना लगायतको आधारमा नगरपालिकाको आपतकालिन योजना बन्न लागेको छ ।’ खड्काले भने े, ‘युएनडिपी र यसका साझेदार संस्थाको सहजिकरणमा विशष्ट, मापन योग्य, वास्तविक, उपयुक्त र समयमैं कामर्यान्वयन गर्न सकिने (स्मार्ट) खालको योजना बनाउँछौं । भीमेश्वरले विपद् व्यवस्थापनको क्षेत्रमा गरेको काम सिक्न अरु स्थानीय तहलाई दोलखा आउने वातावरण हामी बनाउँछौं ।’
यूरोपेली आयोगको मानवीय सहायता विभाग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा हुराडेक नेपाल र सिडिएफ नेपाल दोलखाले नेपालको बहुप्रकोपीय जोखिमयुक्त शहरी क्षेत्रमा विपद् जोखिम न्युनिकरण तथा आपतकालीन प्रतिकार्य क्षमता अभिवृद्धि परियोजना मार्फत भीमेश्वर नगरपालिकाको क्षमता विकासमा विभिन्न कामहरु गरिरहेका छन् ।

Shares

Be the first to comment on "स्थानीय तहमध्ये पहिलो आपतकालिन योजना बनाउँदै भीमेश्वर"

Leave a comment

Your email address will not be published.


*