स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेद्वारबाट दोलखामा १९ करोड असुल गरिने

ईश्वर विश्वकर्मा ÷चरिकोट, – स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण पेश नगर्ने दोलखाका एक हजार एक सय २० जना कारबाहीमा परेका छन् । गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिई निर्धारित अवधिमा खर्च विवरण पेश नगरेका निर्वाचित तथा पराजित उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाही गरेको हो । नगर्ने उम्मेदवारहरूलाई यस अघि स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ विश्वासयोग्य, चित्तबुझ्दो र सन्तोषजनक नदेखिएकोले निजहरूलाई र स्पष्टीकरण समेत पेश नगर्ने उम्मेदवारहरूलाई आयोगले अहिले जरिवाना गर्ने भएको छ । जसअनुसार आयोगले जिल्लाका एक हजार एक सय २० जना उम्मेदवारबाट १९ करोड ४१ लाख ५० हजार रुपैयाँ असुल गर्ने भएको छ । खर्च विवरण पेश नगर्ने तथा स्पष्टीकरण चित्त बुझ्दो नदिने पालिका प्रमुख एवं अध्यक्ष, उपप्रमुख एवं उपाध्यक्ष, वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्यका निर्वाचित एवं पराजित उम्मेदवारलाई आयोगले जरिवाना गरेको हो ।निर्वाचन कार्यालय दोलखाका सूचना अधिकारी विशाल केसीका अनुसार पालिका प्रमुख एवं अध्यक्षका उम्मेदवार ५४ जनाबाट एक करोड ९५ लाख, उपप्रमुख एवं उपाध्यक्षका २७ उम्मेदवारबाट एक करोड ५० हजार, वडाध्यक्षका २ सय ९४ उम्मेदवारबाट चार करोड ६२ लाख ५० हजार असुल हुने छ ।यस्तै वडा सदस्यका उम्मेदवार ३ सय ९७ जनाबाट ६ करोड २९ लाख ५० हजार, महिला सदस्यका १ सय ८४ जनाबाट २ करोड ९४ लाख ५० हजार र दलित महिला सदस्यका उम्मेदवार १ सय ६४ जनाबाट २ करोड ५९ लाख ५० हजार रुपैयाँ जरिवाना असुल हुने भएको छ । जरिवाना तोकेको ६ महिना भित्र जरिवाना बापतको रकम भुक्तानी गर्नु पर्ने कानूनी प्रावधान छ । नगरपालिकाका प्रमुख र उपप्रमुखले ४ लाख ५० हजार, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यले २ लाख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यले १ लाख ५० हजार जरिवाना तिर्नुपर्ने व्यवस्था छ । जरिवाना रकम नबुझाए निर्वाचित पदाधिकारीको पद खारेज हुने, पराजित उम्मेदवारले ६ वर्ष सम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन ऐन अनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकाहरुले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण आयोगमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ । दोलखामा एक हजार ३ सय ४० जना मध्ये २ सय २० जनाले खर्च विवरण पेश गरेका थिए । बाँकी उम्मेदवारलाई आयोगले खर्च विवरण पेश गर्न पटकपटक ताकेता गरेपनि उनीहरु अटेरी बनेका थिए ।

Shares

Be the first to comment on "स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेद्वारबाट दोलखामा १९ करोड असुल गरिने"

Leave a comment

Your email address will not be published.


*