स्थानीयको रकम भुक्तानी नगरी ठेकेदार भागेपछि स्वास्थ्य चौकीको भवन प्रयोग गर्न समस्या

नवराज शिवाकोटी, चरिकोटः ठेकेदारले स्थानीयहरूलाई काम गरेको रकम भुक्तानी नदिई सम्पर्क विहीन भएपछि गौरीशंकर गाउँपालिका वडा नम्बर ९ मा नवनिर्मित सिमी गाउँ स्वास्थ्य चौकी भवन प्रयोगमा आउन सकेको छैन । पीडित स्थानीयहरूले ठेकेदारले आफूहरूलाई दिनुपर्ने रकम नदिएसम्म स्वास्थ्य चौकी भवन हस्तान्तरण नगर्न भनेपछि स्वास्थ्य चौकी भवन प्रयोगमा आउन नसकेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट ठेक्का लगाइएको सिमी गाउँ स्वास्थ्य चौकी भवन निर्माणका क्रममा ठेकेदारले स्थानीयहरूलाई विभिन्न काम लगाई काम सम्पन्न गरेपछि भुक्तानी नदिई सम्पर्क विहीन भएपछि सिमिगाउँका स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय दोलखामा काम गरेको रकम उपलब्ध गराइदिन माग गर्दै उजुरी समेत गरेका छन् ।
सिमी गाउँका स्थानीयहरूलाई विभिन्न काम लगाए बापत ठेकेदारले करिब १७ लाख रकम तिर्नुपर्नेमा नतिरी सम्पर्क विहीन हुँदा समस्या आएको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो । पुनर्निर्माण प्राधिकरणमार्फत् ओम बुद्ध ÷ हरि जेभीसँग भवन निर्माणका लागि दुई करोड ६६ लाखमा २०७८ सालमा निर्माण सम्झौता भएको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत् टेण्डर परेको ओमबुद्ध ÷ हरि जेभीबाट भवन निर्माणको कामको जिम्मा लिएका सिंहबहादुर तामाङ र सूर्यबहादुर तामाङ काम सकिएपछि ज्याला नदिई सम्पर्क विहीन भएपछि आफूहरू ठगीमा परेको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखामा उजुरी दर्ता गराएको पीडित लाक्पा थुन्डु शेर्पाले बताउनुभयो । गौरीशंकर गाउँपालिकालाई समेत आफूहरूले काम गरेको पैसा नपाएको भन्दै काम गरेको पैशा उपलब्ध गराईदिन पहल गर्न अनुरोध गरेको उहाँको भनाई रहेको छ । स्थानीय पीडितहरूका अनुसार तामाङद्वयले स्थानीयहरुलाई ढुंगा फुटाउने, गिट्टी, बालुवा ढुवानी गर्ने, काठकाटी ढुवानी गर्नेलगायतका विभिन्न काम गर्न लगाएका थिए । आफूहरूले गरेको कामको रकम भुक्तानी दिलाइदिन तथा आफूहरूको रकम भुक्तानी नभएसम्म ओमबुद्ध ÷ हरि जेभीको धरौटी रकम रोकिदिन भन्दै जिल्ला प्रशासन कार्यालय दोलखामा निवेदन दिएको पीडितहरूको भनाइ छ । आफूहरूको रकम भुक्तानी नभएसम्म स्वास्थ्य चौकी भवन सञ्चालनमा आउन नदिने स्थानीयहरूको अडान छ । सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका अनुसार ठेकेदार कम्पनीले भवन निर्माण सम्पन्न गरी भुक्तानी लिईसकेको बताएको छ । अब धरौटी मात्र लिन निर्माण व्यवसायी कम्पनीहरूले बाँकी रहेको सो कार्यालयका असिस्टेन्ट सब इञ्जिनियर रामशरण न्यौपानेले बताउनुभयो । स्थानीयहरू ठगिएकाले उनीहरूले पाउनुपर्ने भुक्तानी उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय दोलखा तथा गौरीशंकर गाउँपालिकाले समेत विशेष पहल गरी नवनिर्मित भवनमा स्वास्थ्य चौकी सञ्चालन गर्ने वातावरण तयार गर्न आवश्यक रहेको वडाध्यक्ष ङिमगेली शेर्पाको भनाइ छ ।

Shares

Be the first to comment on "स्थानीयको रकम भुक्तानी नगरी ठेकेदार भागेपछि स्वास्थ्य चौकीको भवन प्रयोग गर्न समस्या"

Leave a comment

Your email address will not be published.


*