सेयरमा दसैं प्रभाव–कारोबार न्यून, लगानीकर्ताको ६२ करोड गुम्यो

काठमाडौं । यससाता नेप्से परिसूचकमा शून्य दशमलव ५२ अंकको झिनो गिरावट देखिएको छ । पहिलो दिनमा भएको ४ अंकको सुधारपछि दुईदिनको सामान्य गिरावट तथा बुधबार र बिहीबार समान ८ अंकको घटबढले सेयर बजारलाई स्थिर देखाएको हो ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार पहिलो दिनको सुरुवाती बिन्दुभन्दा मात्र शून्य दशमलव शून्य ४ प्रतिशतले घट्दा परिसूचक १ हजार २ सय ४१ दशमलव ११ अंकमा पुगेको हो ।

एक महिनाअघिदेखि घट्न थालेको बजारमा समूहगत उपसूचक पनि मिश्रित रहँदा परिसूचक बढ्न सकेन । धितोपत्र बजारमा सूचीकृत अधिकांश कम्पनीले बोनस तथा हकप्रद सेयर दिने घोषणा गरिसकेका छन् भने पहिलो त्रैमासिकको वित्तीय विवरण पनि सार्वजनिक गर्ने क्रममा छन् ।

 यसो त एक महिनाअघि छोटो समयमा बढेको बजारबाट नाफा बुक गर्नेहरु बढ्दा बजार सुस्त हुँदा दसैं, तिहार लगायतका महत्वपूर्ण चाडपर्वले आम लगानीकर्तामा पनि फेस्टिभ मुड सुरु भएको हो । जसले गर्दा लगानीकार्ताले सेयरमा लगानी गरेका छैनन् ।
यसैगरी दसैंमा ठूलो मात्रामा तरलता बजारमा प्रवाह भएको छ ।

दसैंमा बजारमा प्रवाह भएको रकम बैंकमा नपुग्दा लगानीकर्तामा कर्जाको ब्याजदरको त्रास जारी छ । असोजपछि ब्याजदर घट्ने अपेक्षामा बसिरहेका लगानीकर्ता ढुक्क नभएका हुन् ।

नेप्सेमा करिब स्थिर देखिँदा यससाता सेयर बजारमा कारोबार रकम अन्तयन्तै न्यून देखिएको छ । नेप्सेका अनुसार यस साता बजारमा १ सय ७७ कम्पनीहरुको कारोबार भएको छ । जसअनुसार १७ हजार १ सय ७१ कारोबारबाट १ अर्ब १ करोड ९२ लाख ८० हजार रुपैयाँ बराबरको सेयर बिनबेच भए । यसक्रममा ४१ लाख १३ हजार सेयर खरिदबिक्री भएका थिए ।

नेप्से बढ्दा यससाता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शून्य दशमलव ३ अंकले घटेर २६४.०१ अंकमा आईपुगेको छ । नेप्से घट्दा यससता लगानीकर्ताले कूल ६१ लाख ७८ करोड रुपैयाँ गुमाएका छन् । अघिल्लो साताको अन्तिम दिन १४ खर्ब ८१ अर्ब २२ करोड १४ लाख रुपैयाँ रहेको कूल बजार पुँजीकरण १४ खर्ब ८० अर्ब ६० करोड ३५ लाख रुपैयाँमा कायम भएको छ ।

यससाता कारोबार रकम र सेयर संख्याको आधारमा प्रभु बैंक अग्रस्थानमा रह्यो । बैंकको साताभर ६ लाख ७३ हजार कित्ता सेयर १६ करोड ८० लाख रुपैयाँमा किनबेच भए । कारोबार संख्याको आधारमा २ हजार १७ वटा कारोबारसहित कालिका पावर कम्पनी शीर्षस्थानमा रह्यो ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस     साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

 

 

Shares

Be the first to comment on "सेयरमा दसैं प्रभाव–कारोबार न्यून, लगानीकर्ताको ६२ करोड गुम्यो"

Leave a comment

Your email address will not be published.


*