सुरेल समुदाय प्रति समर्पित कृति ‘चौसट्ठी वर्ग मिटर’

इश्वर बिश्वकर्मा
चरिकोट, साउन २५
पत्रकार तथा कवि जीवन लामा ‘यात्रा’को चौसट्ठी वर्ग मिटर कविता संग्रह सोमबार विमोचन भएको छ । चरिकोट स्थित होटल एम्ब्रोसियामा एक समारोह आयोजना गरी कृति विमोचन गरिएको हो । यसअघि ‘निदोर्षी मान्छे’ कविता संग्रह पाठक माझ ल्याइसक्नु भएका कवि लामाको यो दोस्रो कृति हो । यस कृतिमा चौसट्ठी वर्ग मिटर सहित ३५ वटा कविता संग्रहित छ ।
दोलखाको सुरी गाउँ र तामाकोशी किनारमा बसोबास रहेको अल्पसंख्यक सुरेल जाति आफ्नो आर्थिक स्थितिमा सुधार चाहन्छन् तर ६४ वर्ग मिटर जग्गामा फलेका अन्नबाट जिविकोपार्जन गर्न विवश छन् । कविले सुरेल जातिको स्वामित्व र अस्तित्व खोजि गरी सो जाति ६४ वर्ग मिटर जग्गामा सीमित हुनाको विवशता समेटी पुस्तकको नामकरण गर्नु भएको हो । सुरेल जातिका एक व्यक्तिले आफ्नो पहिचान लोपन्मुख भएको भन्दै कवि सामु चिन्ता व्यक्त गरेपछि सुरेल जातिको उत्थानकाे प्रयास स्वरुप लामाले कविता प्रकाशन गर्नु भएको छ ।
सुरेल जातिको कला, संस्कृति र जीवन संघर्षको विषय उठान गरी कवितामार्फत सो जातिको उत्थानको निम्ति राज्यको ध्यानाकर्षण गराउने उहाँको अभीष्ट हो । उहाँले कृतिमा विकृति विसङ्गति अन्त्य गर्दै समाजलाई शान्तसमृद्ध र सुशासनयुक्त बनाउन सन्देश दिनु भएको छ ।

सुरेल जातिका एक व्यक्तिले आफ्नो पहिचान लोपन्मुख भएको भन्दै कवि सामु चिन्ता व्यक्त गरेपछि

सुरेल जातिको उत्थानकाे प्रयास स्वरुप लामाले कविता प्रकाशन गर्नु भएको छ ।

विमोचन समारोहमा भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले सामाजिक यर्थाथपरक विषयवस्तु, मौलिक परिवेश र पात्रहरुको समिश्रणमा साहित्य लेख्न कवि लामाको कृतिले प्ररित गरेको बताउनु भयो । उहाँले नगरले भीमेश्वर संस्कृति प्रतिष्ठान स्थापना गरी कला, संस्कृतिको जर्गेना गर्ने सुकार्य थालनी गरेको बताउनु हुदैँ साहित्यकार र कलाकार जन्माउन प्रतिष्ठानको योगदान भरपुर रहने बताउनु भयो ।
समारोहमा कवि विष्णु सुवेदीले सुरेल जातिलाई केन्द्रमा राखि सिर्जना गरिएको कृति तारे होटलमा विमोचन नगरी सुरेल बस्तीमा गई विमोचन गरिएको भए ठूलो उपलब्धि र अर्थपूर्ण हुने बताउनु भयो । जातजाति र धर्मको विषयमा कलम चलाउनु निकै चुनौतीपूर्ण कुरो भएको बताउनुहुदैँ चौसट्ठी वर्गमिटर चुनौती बीच जीवन्त रहेको बताउनु भयो । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र नेपाल आदिवासी जनजाति महासंघ दोलखाको आयोजनामा भएको समारोहमा साहित्यकार, सञ्चारकर्मी तथा सुरेल समुदायबाट प्रतिनित्व गर्ने व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "सुरेल समुदाय प्रति समर्पित कृति ‘चौसट्ठी वर्ग मिटर’"

Leave a comment

Your email address will not be published.


*